
तनहुँ । तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गतको भानु नगरपालिका–१०, कालीमाटीमा आइतबार (वैशाख ७) माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।
डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अशोक थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।
माइक्रो सवार पुरुषको उपचारका क्रममा लमजुङस्थित अस्पतालमा मृत्यु भएको हो । स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको डीएसपी थापाले बताए ।
उनका अनुसार, गम्भीर घाइते भएका स्कुटरका चालकलाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबसका चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस