
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
वाग्मती प्रदेशका अन्य पहाडी जिल्ला वर्षा भए पनि काठमाडौंमा भने आज वर्षाको सम्भावना छैन । “काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छैन,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने, “काठमाडौंमा आज बदली हुनेछ तर, वर्षा हुने सम्भावना रहेको छैन ।”
विभागले राति कोसी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी प्रदेशको थोरै स्थानमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ ।