
काठमाडौं । चामल विश्वको आधाभन्दा बढी जनसंख्याले खाने प्रमुख खाद्य पदार्थ हो । यसलाई गहुँ वा मकैभन्दा पनि बढी मानिसहरूले दैनिक रूपमा उपयोग गर्छन् । तर, एक नयाँ अध्ययनले जलवायु परिवर्तनले चामलमा आर्सेनिकको मात्रा बढाउने गरेको संकेत गरेको छ ।
कार्बन उत्सर्जन बढेर पृथ्वीको तापक्रम बढ्दै जाँदा, चामलमा आर्सेनिकको मात्रा पनि बढ्ने वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले बताएको छ ।
हाम्रो समाजमा चामलमा आर्सेनिक हुनुलाई धेरै अघिदेखि एक समस्याको रूपमा लिइन्छ । लगभग सबै प्रकारका चामलमा आर्सेनिक हुन्छ । यो हानिकारक र प्राकृतिक रूपमा पाइने रसायन धान खेतको माटोमा रहेको हुनसक्छ र उत्पादन हुने चामलका दानामा प्रवेश गर्न सक्छ । तर, चामलमा पाइने आर्सेनिकको मात्रा नियामक निकायले सिफारिस गरेको सीमाभन्दा धेरै कमदेखि त्योभन्दा धेरै गुणा बढीसम्म फरक फरक मात्रा हुनसक्छ ।
खाद्यान्न वा पिउने पानीबाट थोरै मात्रामा आर्सेनिक सेवन गर्दा पनि क्यान्सर, हृदयघात र मधुमेह जस्ता अन्य स्वास्थ्य समस्याहरू हुनसक्छ ।
विश्वभरका अनुसन्धानकर्ताहरूले चामलमा आर्सेनिकको मात्रा कम गर्ने उपायहरू खोजिरहेका छन् । तर, यसैबीच भात पकाउने केही तरिकाहरूले यस हानिकारक तत्वलाई दानाबाट केही मात्रामा हटाउन सकिन्छ ।
तर, जलवायु परिवर्तनले यो समस्या अझ बढाउन आर्सेनिक सञ्चयसम्बन्धी नयाँ अध्ययनले पत्ता लगाएको छ । यो अनुसन्धानका लागि अनुसन्धानकर्ताहरूले चीनको चार फरक फरक स्थानहरूमा १० वर्षको अवधिसम्म २८ प्रकारको धान उत्पादन गरेका थिए ।
उनीहरूले वातावरणमा कार्बन डाइअक्साइडको मात्रा र तापक्रम बढ्दै जाँदा चामलमा आर्सेनिकको मात्रा पनि बढेको पत्ता लगाए । त्यसपछि विज्ञहरूले हालको चामल खपत दरमा यी आर्सेनिक स्तरहरूले मानिसको स्वास्थ्यलाई कसरी प्रभावित गर्न सक्छ भनेर मोडेल बनाए । उनीहरूले चामलमा आर्सेनिकको बढ्दो मात्राले चीनमा मात्र लगभग १९.३ लाख थप मानिसहरूमा क्यान्सर हुन सक्ने अनुमान गरेका थिए ।
न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा पर्यावरण स्वास्थ्य विज्ञानका सहायक प्राध्यापक तथा यो अध्ययनका सह–लेखक लुइस जिस्का भन्छन्, “गैरआर्गेनिक आर्सेनिक क्यान्सरको कारक हो । यसले फोक्सोको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ, हृदय स्वास्थ्यमा असर गर्छ र यसको असरको लामो सूची छ । जलवायु परिवर्तनका दुई मापदण्ड कार्बनडाइअक्साइड र तापक्रमको वृद्धिले आर्सेनिकको मात्रा बढाउँदै लगेको छ ।”
अनुसन्धानकर्ताहरूले यो अनुसन्धान चीनमा गरे पनि यस्तो अवस्था युरोप र अमेरिका जस्ता क्षेत्रहरूमा उत्पादन हुने चामलमा पनि देखिन सक्ने बताएका छन् ।
“हामी न कार्बनडाइअक्साइडलाई हेर्ने पहिलो व्यक्ति हौँ न तापक्रमको अध्ययन गर्ने नै । तर, हामी यसलाई खेतसँग एकसाथ जोड्ने पहिलो हौँ । यही कुराले हामीलाई आश्चर्यचकित पार्यो,” जिस्काले भनिन् ।
निसन्देहः यो अध्ययनको सीमितताहरू छन् । एकातिर सन् २०५० को परिदृश्य छनौट गरिएको छ तर मानिसहरूले २०५० मा पनि २०२१ जत्तिकै चामल खाने कल्पना यसले गरिएको छ । जबकी देशहरू धनी हुँदै जाँदा चामलको खपत घट्ने प्रवृत्ति देखाएको छ ।
अर्कोतर्फ, यसले मानिसहरूले अहिलेजस्तै खैरो चामलभन्दा धेरै सेतो चामल खाने अनुमान पनि गरेको छ । प्रशोधन प्रक्रियाको कारण सेतो चामलमा खैरो चामलभन्दा कम गैरआर्गेनिक आर्सेनिक हुन्छ । त्यसैले यसको विपरीत प्रवृत्ति भएमा अवस्था अझ नराम्रो हुनसक्छ ।
यद्यपि, यो अध्ययन हालसम्मको सबैभन्दा विस्तृत अध्ययनहरूमध्ये एक भएको एन्ड्रयू मेहार्ग, चामल र आर्सेनिकको दीर्घकालीन अनुसन्धानकर्ता तथा क्विन्स युनिभर्सिटी बेलफास्टको जैविक विज्ञान विद्यालयका प्राध्यापक बताउँछन् ।
सयौँ वर्षदेखि आर्सेनिक विषाक्त हुन्छ भन्ने कुरा मानिसहरूलाई जानकारी छ । यसको स्वाद, रंग र गन्ध नहुने भएकाले यसलाई प्राचीन रोम र मध्यकालीन युरोपको दरबारहरूमा आफ्ना सत्रुहरू मार्न विषको रूपमा प्रयोग गरिएको थियो । तर, थोरै मात्रामा सेवन गर्दा यो विषाक्त हुँदैन ।
विगतका केही दशकहरूमा वैज्ञानिकहरूले जीवनभर निरन्तर थोरै मात्रामा आर्सेनिकको सेवन गर्दा पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने पत्ता लगाएका छन् ।
आर्सेनिक दक्षिण अमेरिका र दक्षिण तथा मध्य एसियाका केही भागहरूसहित धेरै क्षेत्रहरूको जमिनभित्रको पानीमा पाइन्छ । तर, अन्य क्षेत्रका मानिसहरू पनि यसबाट प्रभावित हुन सक्छन् । अमेरिकामा सात प्रतिशतभन्दा बढी निजी कुँवा प्रयोग गर्ने लगभग २१ लाख मानिसहरूले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सुरक्षित सीमाभन्दा बढी गैरआर्गेनिक आर्सेनिकयुक्त पानी पिइरहेका छन् । विश्वभर लगभग १४ करोड मानिसहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी आर्सेनिकयुक्त पानी पिइरहेका छन् ।
पिउने पानीबाहेक विश्वभर आर्सेनिकयुक्त आहारको मुख्य स्रोत चामल नै हो । युरोपमा जहाँ भूगर्भ जलमा आर्सेनिकको मात्रा कम छ त्यहाँ चामल नै आर्सेनिकयुक्त आहारसम्बन्धी जोखिमको सबैभन्दा ठूलो स्रोत हो ।
चामलमा आर्सेनिक कम गर्ने तरिकाहरू
यदि तपाईंले चामलबाट आर्सेनिकको एक्सपोजर कम गर्न चाहनुहुन्छ भने, यहाँ केही उपायहरू छन् ।
पहिलो, केही प्रकारका चामलमा अरूभन्दा बढी आर्सेनिक हुन्छ । खैरो चामलमा भन्दा सेतोमा कम आर्सेनिक हुन्छ । तर, यसमा पोषण कम हुन्छ । बास्मती चामलमा अन्य किसिमको चामलभन्दा कम आर्सेनिक हुन्छ । पूर्वी अफ्रिका क्षेत्रहरूको चामलमा अमेरिका, युरोप र दक्षिण–पूर्वी एसियाका केही भागहरूको चामलभन्दा कम आर्सेनिक हुन्छ ।
बेलायतको शेफिल्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हालै भात पकाउने एउटा तरिका पत्ता लगाएका छन्, जसले खैरो चामलमा ५० प्रतिशत र सेतो चामलमा ७४ प्रतिशत आर्सेनिक कम गर्न सक्छ । उनीहरू पहिले उमालेको पानीमा पाँच मिनेटसम्म चामल पकाउन र त्यसपछि पानी निकाल्न सिफारिस गर्छन् । त्यसपछि ताजा पानी थपेर कम आँचमा सबै पानी सोसिने गरी पकाउनु भनेको छ ।
ब्रिटेनको खाद्य एजेन्सीले चामल पकाउनुअघि पखाल्न र एक भाग चामलमा ६ भाग पानी हालेर उमाल्न सिफारिस गरेको छ । त्यसपछि त्यसलाई फालेर फेरि पखाल्न सल्लाह दिएको छ । बीबीसी