
काठमाडौं । नौ गोल भएको दोस्रो लेगमा लियोनविरुद्ध ५–४ को रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।
बिहीबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
युनाइटेडको जितमा म्यानुअल उगार्टे, डियागो डालोट, ब्रुनो फर्नान्डेस, कोबी माइनो र ह्यारी मग्वायरले गोल गरे । पाहुना टिमका कोरन्टिन टोलिसो, निकोलस ट्याग्लियाफिगो रायान चेर्की, एलेसान्ड्रर लाकाजेट्टीले गोल गरे ।
खेलको पहिलो हाफमा युनाइटेडले २–० को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा लियोनले दुई गोल गर्दै पुनरागमन गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
८९औँ मिनेटमा कोरेन्टिन टोलिसाले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि लियोन १० खेलाडीमा समेटिएको थियो ।
युनाइटेडले समग्रमा ७–६ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यी दुईबीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।
प्रतियोगिताको फाइनलमा पुग्न अब युनाइटेडले स्पेनिस क्लब एथ्लेटिक विल्बाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।