site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ कम्पनीले पीडीएमा असहमति जनाएपछि ६४ अर्बमा बन्न लागेको औद्योगिक पार्क अन्योलमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल–चीन औद्योगिक पार्कको आयोजना विकास सम्झौता (पीडीए) मस्यौदामा विकासकर्ता चिनियाँ कम्पनीले असहमति जनाएको छ । 

पीडीएमा उल्लेखखित कतिपय विषयमा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनीले असहमति जनाएको लगानी बोर्डले जनाएको छ । 

चिनियाँ कम्पनीले कर सहुलियत, लिज, औद्योगिक पार्कलाई विशेष आर्थिक क्षेत्र (सेज) घोषणालगायत माग सम्बोधन हुनुपर्ने माग गरेको बोर्डका प्रवक्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले बाह्रखरीलाई बताए ।  

प्रवक्ता उपाध्यायका अनुसार चिनियाँ कम्पनीले औद्योगिक क्षेत्रको लिज ८० वर्षको हुनुपर्ने माग गरेको छ ।  लगानी बोर्ड र चिनियाँ कम्पनीबीच डेढ महिनापछि मात्र पीडीएका विषयमा थप छलफल हुने उनले जानकारी दिए । 

“चिनियाँ कम्पनीहरुले डेढ महिना नभ्याउने जानकारी दिएका छन् । हामी कि चीनको ल्हासा जानु पर्‍यो कि डेढ महिना अझै कुर्नुपर्‍यो,” उनले भने ।  लगानी बोर्ड र चिनियाँ कम्पनीसँग दुईपटक मात्र छलफल भएको छ । पीडीए मस्यौदा बनाउन बोर्डमा १३ पटक आन्तरिक बैठक बसेको छ । 

झापाको कमल गाउँपालिकामा प्रस्तावित चीन–नेपाल औद्योगिक पार्कको पूर्वाधार बनाउन ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

लगानी बोर्डको ५५औं बैठकले विकासकर्तासँग वार्ता गरी पीडीएको अन्तिम मस्यौदा तयार पार्न बोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टको संयोजकत्वमा समिति गठन गरेको थियो । भट्ट समितिले पीडीएको मस्यौदा तयार पारेको छ । 

यसअघि २०७९ चैतमा लगानी बोर्ड र विकासकर्ता चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनीबीच पीडीएका प्रारम्भिक छलफल भएको थियो । 

पीडीए सम्झौता भएपछि पार्क बनाउन कम्पनीले लगानी जुटाउने प्रक्रिया अघि बढाउने छ । लगानीको मोडेललगायत अन्य विषय पीडीएमा समेटिने छ ।

लगानी बोर्डले औद्योगिक पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भई स्वीकृतसमेत गरेको छ । यस्तै बोर्डको ४७औं बैठकले पार्क बनाउन चिनियाँ कम्पनीले गर्न लागेको ६४ अर्ब रुपैयाँ लगानी स्वीकृत पनि गरिसकेको छ । 

लगानी बोर्डले गरेको सम्झौताअनुसार पार्कमा ६४ अर्ब रुपैयाँ लगानी भित्रिने छ ।  उक्त लगानी ६ चरणमा नेपाल भित्रिने बताइएको छ ।  औद्योगिक पार्क झापा कमल गाउँपालिकामा बनाउन प्रस्ताव गरिएको छ ।  पार्कले दमक नगरपालिका र गौरादह नगरपालिकाका क्षेत्र पनि ओगट्छ । यो औद्योगिक पार्क नेपालकै सबैभन्दा ठूलो र नमुना बन्ने बोर्डले जानकारी दिएको छ ।

झापा दमकस्थित रतुवा र मावा नदीबीचको २२ सय बिघा जमिनमा उक्त पार्क निर्माणको प्रस्ताव गरिएको छ । पार्क निर्माण थालेको मितिले दुई वर्षभित्र पूरा हुने अनुमान छ । औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्टले पाएको छ । 

लगानी, आकार र सञ्चालनका हिसाबले यो पार्क नेपालकै सबैभन्दा ठूलो र नमुना हुने बताइएको छ ।  औद्योगिक पार्कमा मुख्यतः पाँच प्रकारका उद्योग रहने र ती उद्योगलाई सहयोग गर्ने लजिस्टिक र सूचना प्रविधि तथा तालिमका लागि छुट्टै दुई पार्क पनि रहनेछ । 

औद्योगिक पार्कभित्र होमअप्लायन्सका सामान उत्पादन गर्ने ह्वाइट गुड्स उद्योग, ढुवानी सामग्री उत्पादन गर्ने उद्योग, टेक्सटायल तथा गार्मेन्ट उत्पादन उद्योग, खाद्यान्न प्रशोधन र विद्युतीय सूचना प्रविधि सामग्री उत्पादन गर्ने उद्योग हुने छ ।

पार्कमा विद्युतीय सवारीसाधनदेखि मोबाइलसम्म उत्पादन हुने जनाइएको छ ।  पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वास्थ्य संस्था पनि रहने कम्पनीले जनाएको छ । भारत, भुटान र बंगलादेशसँग नजिकको नेपाली भूभागमा रहने पार्कमा विश्व बजारका प्रख्यात कम्पनी भित्रिने निश्चित भएको पार्क व्यवस्थापनले जनाएको छ । 

पहिलो चरणमा कृषि र खाद्यजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडीदेखि मोबाइल फोनसमेत औद्योगिक पार्कमा उत्पादन हुने कम्पनीले जनाएको छ ।  चार चरणमा निर्माण हुने औद्योगिक पार्क सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलको पहिलो गैरजलविद्युत आयोजना हो ।

औद्योगिक पार्क बनाउन पहिलोपटक विदेशी लगानी आउन लागेको हो ।  पार्कमा सञ्चालन हुने उद्योगसँग स्थानीय तहले कम्तिमा १० वर्षसम्म कर नलिने घोषणा गरेका छन् ।    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro