
काठमाडौं । इजरायलले युद्धबाट प्रभावित प्यालिस्टाइनको गाजा पट्टीमा मानवीय सहयोगका सामग्रीहरू प्रवेश गर्न नदिने बताएको छ ।
साथै उसले गत अक्टोबर ७ मा यजरायलमा हमासको आक्रमणपछि हमासले कब्जामा राखेका बाँकी बन्धकहरू छोड्न बाध्य बनाउने प्रतिबद्धता पनि जनाएको छ ।
इजरायलले मार्च २ देखि नै गाजामा खाद्यान्न, इन्धन, पानी र औषधिलगायत सहयोग सामग्रीहरू प्रवेश गर्न रोक लगाएको छ । यो पछिल्लो युद्धविराम भंग हुनुभन्दा दुई हप्ताअगाडिको घटना हो । युद्धविराम भंग भएपछि इजरायलले गाजामा पुनः आकाश र जमिनबाट लगातार आक्रमण सुरु गरेको छ ।
चिकित्सा सहयोगी संस्था मेडिसिन्स सान्स फ्रन्टियर्सले बुधबार गाजाको अवस्थालाई प्यालेस्टिनीहरूको ‘एक सामूहिक चिहान’को संज्ञा दिएको द गार्जियनले जनाएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायलको स्पष्ट नीति गाजामा कुनै मानवीय सहयोग प्रवेश गर्न नदिने भन्ने रहेको बताए । मानवीय सहयोगलाई हमासले जनताको विरुद्ध हतियार प्रयोग गर्नबाट रोक्न दबाबस्वरुप यो निर्णय लिएको पनि उनले बताए ।
उनले थपे, “हाल कुनै पनि संस्था वा व्यक्तिलाई गाजामा सहयोग पठाउने तयारी वा योजना छैन । हमासले बन्धकहरू नछोडे अत्यधिक बल प्रयोग गरेर भए पनि इजरायलले बन्धकहरू छुटाउनेछ ।”
यसैबीच, इजरायली सेनाले गाजाको ३० प्रतिशत भागलाई बफर जोन (सुरक्षा क्षेत्र) बनाएको र सम्पूर्ण गाजा पट्टीका केही प्रमुख क्षेत्र र मार्गहरूमा पूर्णनियन्त्रण गर्न सफल गरेको दाबी गरेको छ ।