
काठमाडौं । रूस र युक्रेनबीच चलिरहेको युद्ध रोक्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । भेटमा धेरै युरोपेली नेताहरू पनि उपस्थित थिए ।
वार्तापछि अमेरिकी राष्ट्रपतिले वक्तव्यमार्फत महत्वपूर्ण संकेत दिएका छन् । उनले दुई देशहरूबीच चलिरहेको युद्ध चाँडै समाप्त हुने बताए । पुटिन पनि यसलाई जारी राख्न चाहँदैनन् भने जेलेन्स्की पनि यसमा विराम लगाउन चाहन्छन् ।
“पूरै विश्व नै युद्धबाट आजित भइसकेको छ । चाँडै शान्ति स्थापित हुनेछ, युद्ध रोकिनेछ,” ट्रम्पले भने ।
उनले अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको चर्को आलोचना गरे । उनले दुई देशबीचको युद्धका लागि बाइडेन प्रशासनलाई जिम्मेवार ठहर्याए । ट्रम्पले अब त्रिपक्षीय वार्ताको संकेत दिए ।
ट्रम्पले यदि, युरोपेली देशहरूले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन्छन् भने अमेरिकाले यसमा उनीहरूको साथ दिने बताए । यसको मुख्य उद्देश्य रूससँगको युद्ध समाप्त गर्नु हुने उनले प्रष्ट पारे ।
त्रिपक्षीय वार्ताको संकेत
जेलेन्स्की र ट्रम्पले वार्तापछि युरोप, युक्रेन र अमेरिकाका नेताहरूबीच भएको यो वार्ताले पुटिनसँग त्रिपक्षीय वार्ताको बाटो प्रशस्त गर्नसक्ने आशा व्यक्त गरे ।
ट्रम्पले भने, “यदि, आज सबै कुरा ठीक भयो भने हामी त्रिपक्षीय वार्ता गर्नेछौँ । हामी रूस र युक्रेनसँग काम गर्नेछौँ ।”
ट्रम्पले सोमबार अमेरिकाले युद्धविरामबिना पनि युक्रेनी संकटलाई समाप्त गर्न वार्ता गर्ने प्रयास गर्न सकिने र यसबाट युद्ध रोकिने बताए ।
ट्रम्पले रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टी स्वीकार गर्न सहमत हुने पनि घोषणा गरे । उनले भने, “पुटिन साँच्चै केही गर्न चाहन्छन् ।”
यद्यपि, ट्रम्पले यस विषयमा सम्भावित भूमिको आदान–प्रदानमा चर्चा गर्न आवश्यक भएको बताए । जेलेन्स्की यस विषयमा अडिग रहेका छन् र युक्रेनको भूमि रूसलाई सुम्पने कुनै पनि प्रस्तावको विरोधमा छन् ।
युक्रेनलाई सुरक्षाको मुद्दामा सहयोग
“युक्रेनलाई सुरक्षाको मुद्दामा धेरै मद्दत दिइनेछ र हामी युक्रेनको सुरक्षा ग्यारेन्टीमा कुरा गर्न जाँदै छौँ,” ट्रम्पले भने, “युक्रेनमा युद्धको समाधानमा प्रगति भइरहेको छ र पुटिनसँग उनको हालैको भेटघाटबाट केही नतिजा निस्कने सम्भावना छ ।”
जेलेन्स्कीले ट्रम्पलाई दिए धन्यवाद
जेलेन्स्कीले भने, “राष्ट्रपति ट्रम्पलाई उहाँको प्रयासहरूका लागि धन्यवाद दिन्छु ।”
जेलेन्स्कीले उनी युक्रेनमा चुनावका लागि पनि तयार भएको बताए । यदि, रूससँग युद्ध समाप्त भयो भने सुरक्षित परिस्थितिमा चुनाव गराउन सकिने उनको भनाइ छ ।
“हामीलाई सदनमा काम गर्न आवश्यक छ । युद्धको समयमा चुनाव हुन सक्दैन,” उनले थपे । युक्रेनमा हाल मार्शल ल (सैन्य कानुन) लागु छ ।
त्रिपक्षीय कुराकानीका लागि जेलेन्स्की तयार
वार्तामा यसपटक नेताहरूले ह्वाइट हाउस पुगेर जेलेन्स्कीसँग फेब्रुअरीमा ह्वाइट हाउसमा भएको घटना नदोहोरिने सुनिश्चित गरेका थिए ।
गत शुक्रबार पुटिनसँग ट्रम्पको शिखर वार्तामा युरोपेली नेताहरूलाई समावेश गरिएको थिएन । उता, बैठकको क्रममा जेलेन्स्कीले आफू त्रिपक्षीय (ट्रम्प र पुटिनसँग) कुराकानीका लागि पूर्ण रूपमा तयार भएको बताए ।
हतारमा बोलाइएको बैठक
जेलेन्स्की तथा अन्य युरोपेली नेताहरूसँग ट्रम्पको भेटको लागि यो बैठक निकै हतारमा बोलाइएको हो । ट्रम्पले यही शुक्रबार रूसी राष्ट्रपति पुटिनसँग अलास्कामा भेटेका थिए । यद्यपि, यो कुराकानीमा युक्रेन युद्ध रोक्नेबारे कुनै सहमति भएन । तर, ट्रम्पले भविष्यप्रति आशा व्यक्त गरेका थिए ।
उनले पुटिनसँगको यो भेटघाटपछि अब जिम्मेवारी जेलेन्स्कीमा हातमा रहेको बताए । उनले सहमति गरेर युद्ध समाप्त हुनसक्ने बताएका थिए ।
युक्रेनीहितको रक्षाका लागि युरोपेली कूटनीतिक शक्तिको प्रदर्शन
ट्रम्प र जेलेन्स्कीबीचको प्रत्यक्ष बैठकपछि दुवै नेताहरूले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, ब्रिटिश प्रधानमन्त्री किएर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटो महासचिव मार्क रुटसँग भेट गरकेका थिए । यी नेताहरू युक्रेनको हितको रक्षाको स्पष्ट लक्ष्यसहित ह्वाइट हाउस पुगेका थिए । यो युरोपेली कूटनीतिक शक्तिको एक प्रदर्शन थियो ।