काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यो वर्ष ६ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरेको विदेश मन्त्रालयले बताएको छ । ट्रम्प प्रशासनले केही अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कानुन उल्लंघन गरेको भन्दै कडाइ गरिरहेको छ ।
भिसाको म्याद सकिएपछि पनि बसेको वा कानुन उल्लंघन गरेको पाइएकाले भिसा खारेज गरिएको सीएनएनले जनाएको छ । उनले भने, “धेरैजसो कानुन उल्लंघनका घटनाहरू आक्रमण, मादक पदार्थ सेवन गरी सवारी चलाएको, चोरी र आतंकवादलाई समर्थन गरेको जस्ता मामिलाहरूसँग सम्बन्धित छन् ।”
अधिकारीका अनुसार, ६ हजारमध्ये करिब चार हजार भिसा कानुन उल्लंघनका कारण खारेज गरिएको हो । तीमध्ये २०० देखि ३०० भिसा आप्रवासन र राष्ट्रियता ऐनको प्रावधान अनुसार आतंकवादसम्बन्धी गतिविधिहरूका कारण खारेज गरिएको थियो । यसले विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न अयोग्य ठहराउन सक्छ ।
प्रशासनका अधिकारीहरूले विशेषगरी गाजा युद्धविरुद्ध प्रदर्शनमा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थीलाई निशाना बनाएका छन् । ती विद्यार्थीलाई यहुदीविरोधी र आतंकवादलाई समर्थन गरेको आरोप लगाएका छन् ।
विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनको विद्यार्थी भिसा खारेज नीतिहरूको जोडदार बचाउ गरेका छन् ।
“विद्यार्थी भिसा कुनै संवैधानिक अधिकार होइन । विद्यार्थी भिसा हामीले तपाईंलाई दिने निर्णय गर्छौं,” उनले अगस्टको सुरुमा ईडब्ल्यूटीएनसँगको अन्तर्वार्तामा भने ।
“हरेक दिन विश्वभर विभिन्न प्रकारका भिसाहरू अस्वीकृत हुन्छन् । म तपाईंसँग कुरा गरिरहँदा पनि, कसैको अमेरिकी भिसा आवेदन अस्वीकृत भइरहेको छ,” रुबियोले भने, “त्यसैले, “यदि, मैले तपाईंलाई भिसा दिने निर्णय गरेको भए र पछि तपाईंको बारेमा यो कुरा थाहा पाएँ भनेँ म किन तपाईंको भिसा खारेज गर्न सक्दिनँ ?”
विदेश मन्त्रालयका अनुसार, सन् २०२४ को आर्थिक वर्षमा करिब चार लाख विद्यार्थी भिसा (एफ–१ भिसा) जारी गरिएको थियो ।
नयाँ नियुक्तिहरू अस्थायी रूपमा निलम्बित भएपछि र नयाँ जाँच आवश्यकताहरू लागु भएपछि यो क्यालेन्डर वर्षमा धेरै कम भिसा जारी हुने अपेक्षा गरिएको सीएनएनले जनाएको छ ।
एसोसिएसन अफ इन्टरनेशनल एजुकेटर्स र जेबी इन्टरनेशनलको विश्लेषणले नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा ३०–४० प्रतिशत कमी आउने अनुमान गरेको छ, जसले यस शरद ऋतुमा समग्र भर्नामा १५ प्रतिशत कमी ल्याउने बताइएको छ ।
“यस्तो परिणामले स्थानीय अर्थतन्त्रलाई ७ अर्ब डलरको खर्च र ६० हजारभन्दा बढी रोजगारीबाट वञ्चित गर्नेछ,” एसोसिएसन अफ इन्टरनेशनल एजुकेटर्स (नाफ्सा)ले जुलाईको अन्त्यमा भनेको थियो ।
“जुलाई र अगस्टमा भिसा जारीमा उल्लेखनीय सुधार नभएमा, यो शरद ऋतुमा एक लाख ५० हजारभन्दा कम विद्यार्थी आउन सक्छन्,” एसोसिएसन अफ इन्टरनेशनल एजुकेटर्सले भन्यो । सीएनएन