
काठमाडौं । चीनले आफ्ना एयरलाइन्स कम्पनीहरूलाई अमेरिकी विमान कम्पनी बोइङका थप विमानहरू खरिद नगर्न भनेको ब्लूमवर्ग अनलाइनले बताएको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशतसम्म आयात कर लगाउने निर्णयपछि आएको टाइम्स आफ इन्डियाले जनाएको हो ।
ब्लूमवर्गले विभिन्न समाचार स्रोतहरूलाई उद्धृत गर्दै तयार गरेको समाचारअनुसार चीनले आफ्ना एयरलाइन्सहरूलाई अमेरिकी कम्पनीहरूबाट विमानसम्बन्धी उपकरण र पाटपुर्जा खरिद नगर्न पनि भनेको छ ।
चीनले गत हप्ता अमेरिकी सामानमा १२५ प्रतिशत प्रतिशोधात्मक आयात कर लगाएपछि यो आदेश आएको हो । यी नयाँ आयात करले अमेरिकामा निर्मित विमान र पुर्जाको लागत दोब्बर पार्नेछ । जसले गर्दा चिनियाँ एयरलाइन्सले बोइङ विमानहरू खरिद गर्न गाह्रो हुनेछ ।
ब्लूमवर्गका अनुसार चीनले बोइङ जेट भाडामा लिएका तर आयात करका कारण समस्यामा परेका आफ्ना एयरलाइन्सहरूलाई सहयोग गर्ने विभिन्न उपायहरू पनि खोजिरहेको बताएको छ ।
अमेरिका र चीनबीचको व्यापार युद्वले बोइङलाई कठिन स्थितिमा पुर्याएको छ । यो अवस्था अझै अनिश्चित छ तर परिवर्तन पनि हुन सक्छ । राष्ट्रपति ट्रम्पले विगतमा चीनबाट आयात गरिएका एपल इन्कोर्पोरेटेडको आइफोनमा लगाएको आयात करलगायत केही करहरू फिर्ता लिएका थिए ।