
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ताबाहिरका हरेक दिन कष्टकर बनेको टिप्पणी गरेका छन् ।
एमाले मुख्यालयमा सोमबार बसेको सचिवालय बैठकपछि सत्ता परिवर्तनबारे प्रचण्डका अभिव्यक्तिमा सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । त्यसको जवाफमा उनले सत्ता परिवर्तनको कुनै बहस र लक्ष्य नभए पनि प्रचण्डका अभिव्यक्तिले उनका सत्ताबाहिरका हरेक दिन कष्टकर भएको बुझ्न सकिने बताए । तर, सत्ता परिवर्तन प्रचण्डको चाहनामा सीमित हुने उनको भनाइ थियो ।
“त्यस्तै भइदिए हुन्थ्यो भन्ने उहाँको चाहना हो । सुरूदेखि नै उहाँ समीकरण नबनोस्, सहयात्रा अगाडि नबढोस् भन्नेमै हुनुहुन्थ्यो,” ज्ञवालीले भने, “सत्ताबाहिर एकदिन पनि उहाँलाई धेरै गाह्रो भएको छ भन्ने प्रकट गरिराख्नुभएको छ ।”
सरकार परिवर्तन हुँदैछ भन्ने प्रचण्डको भनाइलाई उनले कांग्रेस–एमालेभित्र अझै खेल्न सकिन्छ कि भन्ने प्रयासका रूपमा अर्थ्याए । मुलुकमा समस्या रहेको स्वीकार गरेका ज्ञवालीले सत्ता परिवर्तन त्यसको समाधान नभएको बताए । ज्ञवालीले भने, “मुलुकसामु समस्याहरू छन्, त्यहाँ कहीँ पनि सरकार परिवर्तनको विषय चर्चा हुनु – न नेपाली जनताले मन पराउँछन् न त्यो कुनै समाधान हो ।”