site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामाजिक सुरक्षा कोषले दिँदै आएको विशेष सापटीमा आकर्षण

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ता सापटी निर्देशिका, २०७९ लागु गरेको तीन वर्ष पुग्न लाग्यो । २०७९ साउनबाट लागु निर्देशिका गत मंसिरमा पहिलो संशोधन भयो । उक्त संशोधित निर्देशिकाअनुरूप कोषले योगदानकर्ताका लागि घरजग्गा, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी दिँदै आएको छ ।

तीन वर्षको अन्तरालमा यी सापटी योजनाअन्र्तगत ३० हजार ८६४ जनाले ६ अर्ब ३९ करोड ६३ लाख १० हजार रुपैयाँ सापटी लिएका छन् । धितो नराखी पाइने विशेष सापटीमा योगदानकर्ताको आकर्षण देखिएको छ ।

सामाजिक सुरक्षा कोषका अनुसार, हालसम्म २० हजार ८०५ जनाले विशेष सापटी लिएका छन् । उनीहरूले कुल ६ अर्ब २८ करोड ७४ लाख २५ हजार रुपैयाँ सापटी लिएका छन् । 

त्यसमा ५९ जनाले धितो राखी शैक्षिक र घरजग्गा सापटी लिएका छन् । उनीहरूले १० करोड ८८ लाख ८४ हजार सापटी लिएका हुन् । जसमा शैक्षिक सापटीअन्तर्गत ३३ लाख ५८ हजार ८०० चार जनाले लिएका छन् । घरजग्गा सापटीअन्र्तगत ५५ जनाले १० करोड ५५ लाख २६ हजार रुपैयाँ सापटी लिएका छन् । 

विशेष सापटी लिन सहज हुने भएकाले यो सापटी लिनेहरू बढेका हुन् । रिटायरमेन्ट कोषमा १२ हजार ५०० रुपैयाँ पुगेपछि योगदानकर्ता विशेष सापटी लिनयोग्य हुनेछन् । 

कोषको मापदण्डअनुसार योगदानकर्ताले जुनसुकै सापटी लिन कम्तीमा ३६ महिना कोषमा योगदान गर्नुपर्ने हुन्छ । कोषमा ३६ महिना आवद्ध भएपछि योगदानकर्ता कोषबाट प्रवाह हुने सापटीका लागि योग्य हुनेछन् । तर, यसका लागि केही मापदण्ड पनि छन् । कोषमा आवद्ध भएर ३६ महिना योगदान गर्नेहरू सापटी लिनयोग्य भए पनि सबैले सापटी लिन भने सक्दैनन् । कोषले तोकेका मापदण्डहरू योगदानकर्ताले पूरा गर्नुपर्नेछ । 

यस्ता सुविधा पाउन ३६ महिना योगदान गरेको हुनुपर्नेछ । तर, अन्य कोषबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएको भए त्यस्तो अवस्थामा ३६ महिनाको अवधि लागु नहुने योगदानकर्ता सापटी निर्देशिका, २०७९ मा उल्लेख छ । यो निर्देशिकाको दफा २३ मा सापटी प्रवाह गर्ने मापदण्ड उल्लेख छ । यस दफाको उपदफा १ को (ख) मा “कोषको वृद्धवस्था सुरक्षा योजनामा योगदान गर्ने व्यक्तिलाई त्यस्तो सापटी प्रवाह गर्दा कम्तीमा ३६ महिनासम्म लगातार योगदान गरेका योगदानकर्तालाई मात्र सापटी उपलब्ध गराउन सकिने, तर अन्य कोषबाट कर्जा स्वीकार (स्वाप) गरेको अवस्थामा समयको हद लाग्ने छैन,” उल्लेख छ ।  

सापटी लिन बैंक, वित्तीय संस्था वा सहकारीको कर्जा भुक्तान नगरी कालोसूचीमा परेको हुन नहुने यही निर्देशिकाको दाफा २३ को (१) को (क)मा उल्लेख छ । तर, योगदानकर्ता विशेष सापटीको हकमा यो मापदण्ड लागु हुँदैन । 
सबैभन्दा पहिले त धितोका लागि योगदानकर्तासँग राजमार्गले छोएको घरगग्गा हुनुपर्छ । यस्तो घरजग्गाको मूल्यांकन गरेर कोषले घर सापटीअन्तर्गत ७५ लाख रुपैयाँसम्म ऋण प्रवाह हुने कार्यविधिमा उल्लेख छ । घर सापटीको हकमा योगदानकर्ताले निर्माण वा खरिद गर्ने घरजग्गा धितोमा पनि सापटी लिन सक्ने व्यवस्था गरिएको छ । 

योगदनकर्ताको नाममा धितो दिने घरजग्गा नभएमा योगदानकर्ताको एकाघरका सदस्यको नाममा भएका घरजग्गाका आधारमा पनि सापटी पाइने छ । एकाघरका सदस्य भन्नले सगोलको बुबा, आमा, पति, पत्नी, छोरा, अविवाहित छोरी र विवाहित महिलाका हकमा सगोलको सासु र ससुरालाई बुझाउँछ ।

कोषबाट प्रदान गरिने सापटीको न्युनतम सीमा दश हजार रुपैयाँ छ । शैक्षिक, घर निर्माण तथा खरिद र जग्गा खरिद सापटीका लागि अधिकतम एक करोड रुपैयाँसम्म कोषले सापटी दिनेछ । 

घरकर्जा लिने योगदानकर्ताको १५ वर्षको तलब हिसाब गरेर पनि कोषले सापटी दिन सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबलाई हिसाब गरेर पनि सापटी दिने व्यवस्था छ । विशेष सापटीबाहेक शैक्षिक तथा घर निर्माण तथा खरिद र जग्गा खरिद सापटीका लागि धितो अनिवार्य गरिएको छ । 

पहिलो पटक धितो मूल्यांकन गराउँदा योगदानकर्ताले तीन हजार रुपैयाँ र त्यसपछि प्रत्येक पटक मूल्याङ्कनका लागि थप एक हजार रुपैयाँ लाग्नेछ । 

विशेष सापटीबाहेक अरू लिँदा कोषको कार्यालय रहेको जिल्ला तथा काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा मूल्यांकन गर्न जाँदा थप एक हजार रुपैयाँ लाग्नेछ । विशेष सापटीबाहेक अन्य सापटी दिँदा योगदानकर्ताले सापटी व्यवस्थापन सेवा शुल्कबापत एक हजार कोषमा बुझाउनुपर्नेछ । 

काठमाडौं उपत्यकाबाहिर वा शाखा कार्यालय रहेको जिल्लाभन्दा बाहिरको जिल्लामा धितो मूल्यांकन गर्न जानुपर्ने अवस्था आएमा मूल्यांकनकर्ताको यातायात खर्च सम्बन्धित योगदानकर्ताले व्यहोर्नुपर्नेछ । 

शैक्षिक सापटी ३५ लाख रुपैयाँसम्म पाइने छ । यो सापटीको अवधि १५ वर्षको हुनेछ । यसको भुक्तानी एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्नुपर्नेछ । शैक्षिक सापटीका लागि जग्गामात्र धितो रहने सम्पत्तिको हकमा कम्तीमा चार मिटरको बाटो कायम हुनुपर्नेछ । 

ब्याजदर 

सापटीको ब्याजदर कोषको सञ्चालक समितिले समय अनुसार निर्धारण गर्ने व्यवस्था छ । समितिले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा ७ प्रतिशत ब्याजदर तोकेको छ । विशेष सापटीमा भने ६.१० प्रतिशत ब्याजदर तोकेको छ । 

सामाजिक सुरक्षा कोषले योगदानकर्ता वृद्धवस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा ५ प्रतिशत ब्याज दिन्छ । यो ब्याजदर चैत १ गतेदेखि लागु छ । वार्षिक रूपमा पाकेको ब्याज प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र पनि चुक्ता नगरेमा त्यस्तो ब्याज रकम सापटीको साँवामा समावेश गरी पुँजीकृत गरिने व्यवस्था छ । 

सापट आवश्यक कागजपत्र 

योगदानकर्ता सापटी निर्देशिका, २०७९ को दफा १९ मा सापटी लिन आवश्यक पर्ने कागजातसम्बन्धी व्यवस्था गरिएको छ । कोषबाट सापटी लिन चाहने योगदानकर्ताले सापटी माग फारामको विवरण भरी आफू कार्यरत कार्यालयको सिफारिस साथ कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्नेछ । योसँगै ११ प्रकारका कागजात बुझाउनु पर्नेछ । निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचयपत्रको प्रतिलिपि, धितो राखिने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने छ ।

घर जग्गा प्राप्तिको स्वामित्वसम्बन्धी लिखत राजीनामा, अंशवण्डा, बकसपत्र, छोडपत्र, दर्ताफारीको प्रतिलिपि पनि बुझाउनु पर्नेछ । तर नामसारीको हकमा जग्गाधनी पूर्जामा नामसारी भएको व्यहोरा जनाएको हुनु पर्नेछ । 

धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति, धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि, चालू आर्थिक वर्षको मालपोतमा बुझाएको रसिदको प्रतिलिपि, धितो राखिने जग्गाको जग्गा धनी र निवेदक फरक व्यक्ति भएमा उनीहरू बिचको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ । 

त्यसअतिरिक्त घर खरिद गर्दा खरिदकर्ता र बिक्रिकर्ताबीच हुने सम्झौता, सम्बन्धित स्थानीय तहबाट प्रमाणित चारकिल्ला खुलेको सक्कल पत्र, सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र, घर र जग्गा दुवै धितो राख्नुपरेमा घर निर्माण सम्पन्न प्रमाणपत्र पनि बुझाउनुपर्नेछ । जग्गाको मूल्याङ्कनले मात्रै सापटी रकमलाई खाम्ने भएमा जग्गाको मूल्याङ्कनबाट मात्र पनि सापटी गर्न सकिने व्यवस्था छ ।
धितो राखिने घरको सम्पत्ति बिमा गरिएको हुनुपर्नेछ । यसरी बिमा गरिएका कागजातहरु पनि कोषमा बुझाउनुपर्नेछ । कोषले आवश्यक ठानेका अन्य थप कागजातहरू पनि माग्न सक्नेछ ।

विशेष सापटीका लागि सापटी माग फाराम पेश गर्दा निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचयपत्रको प्रतिलिपि बुझाए पुग्नेछ । यदि कोषको मोबाइल एप डाउनलोड गरेर लगइन गरेको भए सोही एपबाट पनि विशेष सापटीका लागि निवेदन दिन सक्नेछ ।  

शैक्षिक सापटी लिने योगदानकर्ताले माथि उल्लिखित कागजातका अतिरिक्त अध्ययन गर्ने विद्यार्थीको एस. एल. सी., एस.ई.ई. र सो भन्दा माथिको चारित्रिक प्रमाणपत्रका साथै लब्धाङ्कपत्रको प्रतिलिपि, विद्यार्थीको नागरिकताको प्रतिलिपि, सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको तथा अध्ययन अवधि र खर्चको विवरण खुलेको आधिकारिक पत्र, निवेदक, अध्ययन गर्ने विद्यार्थी र धितो जमानी दिनेबीचको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने छ । 
भिसा अनिवार्य नभएका देशहरूमा बाहेक अन्य विदेशी मुलुकमा अध्ययन गर्ने भएमा विद्यार्थीको पासपोर्ट र भिसा लागेको कागजातको प्रतिलिपि पनि बुझाउनुपर्ने छ । 

लिएको ऋणको किस्ता कसरी बुझाउने ? 

विशेष सापटीको किस्ता भुक्तानी सामाजिक सुरक्षा कोषको मोबाइल एपबाट नै तिर्न सकिन्छ । कनेक्ट आइपीएसमार्फत यस्तो सापटीको किस्ता भुक्तानी गर्न सकिने सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारी बताउँछन् । “सामाजिक सुरक्षा कोषबाट लिएको विशेष सापटीको विवरण मोबाइल एपमा नै देखाउँछ । यस्तो सापटीका लागि जति सजिलोसँग आवेदन दिन सकिन्छ, तिर्न पनि एपमार्फत नै सहजै सकिन्छ,” अधिकारीले भने, “कति अवधिका लागि विशेष सापटी लिएको हो, त्यही अनुसार अवधि पुगेपछि मासिक कति तिर्नपर्ने हो ? एपमा नै भुक्तानीका लागि सन्देश आउँछ ।” 

कोषसम्बन्धी श्रम ऐनमा के छ ?  

श्रम ऐन, २०७४ को दफा ५२ को उपदफा (१) मा रोजगारदाताले प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट दश प्रतिशत रकम कट्टी गरी सो रकममा शतप्रतिशत रकम थप गरेर सञ्चय कोष बापतको रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । यही दफाको उपदफा (२) मा सामाजिक सुरक्षा कोषमा दफा (१) मा तोकिएको रकम श्रमिकले काम प्रारम्भ भएको दिनदेखि नै रोजगारदाताले लागू गर्नुपर्ने व्यवस्था छ ।  
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro