
खार्तुम । सुडानको उत्तर दारफुर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा ३२ सर्वसाधारणको ज्यान गएको सेनाले जनाएको छ । सेनाको छैटौँ डिभिजनले जनाएअनुसार, शुक्रबार (अप्रिल ११) उक्त समूहले आत्मघाती मानवरहित यन्त्र (ड्रोन)मार्फत आक्रमण गरेको थियो ।
ज्यान गुमाएका मध्ये चार महिला र १० बालबालिका छन् । १७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका निम्ति स्वास्थ्य संस्थामा भर्ना गरिएको छ ।
एल फासरको प्रतिरोध समितिको समन्वय समूहले पनि आक्रमणको पुष्टि गर्दै सहरको उत्तर र पूर्व भागमा मानवरहित यन्त्र र तोप प्रहार गरिएको जनाएको छ । साथै, नागरिकलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ ।
सुडानी चिकित्सक सञ्जालले एल फासरनजिकै रहेको जमजम नामक विस्थापित शिविरमा आरएसएफले दोस्रोपटक आक्रमण गरेको जनाएको छ । हालसम्म उक्त शिविरमा जनधनको क्षतिको पुष्टि नभए पनि यसरी ठूलो क्षमताको हातहतियार प्रयोग गर्नु हिंसात्मक गतिविधिमा वृद्धि भएको भन्दै सञ्जालले निन्दा गरेको छ ।
उत्तर दारफुर राज्यको स्वास्थ्य मन्त्रालयका महानिर्देशक इब्राहिम खातिरले जमजम शिविरमा आक्रमणको पुष्टि गरे । तर। उक्त स्थान सहरबाट टाढा रहेको र सञ्चार सम्पर्कमा समस्या भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।
सन् २०२४ मे १० देखि एल फासरमा सुडानी सेना र आरएसएफबीच तीव्र लडाइँ जारी छ । यो द्वन्द्व २०२३ को अप्रिलदेखि सुडानमा फैलिएको गहिरो संकटको हिस्सा हो ।
संयुक्त राष्ट्रसंघद्वारा उद्धृत गरिएको एउटा अनुसन्धान संस्थाले दिएको जानकारी अनुसार, उक्त द्वन्द्वमा हालसम्म २९ हजार ६०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । एक करोड ५० लाखभन्दा बढी व्यक्ति आफ्नो घरबाट विस्थापित भइसकेका छन् । रासस/सिन्ह्वा