
काठमाडौं । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)ले सन् २०३० को विश्वकपमा ६४ टोली सहभागी गराउने प्रस्ताव राखेको छ । कन्मेबोलले २०३० मा विश्वकपको १००औँ वर्ष मनाउन धेरै राष्ट्रलाई अवसर हुने भन्दै ६४ टोली पुर्याउन प्रस्ताव गरिएको जनाएको छ ।
सन् २०३० को विश्वकप कुल ६ राष्ट्रमा सञ्चालन हुँदै छ । प्रतियोगिताको आयोजना अधिकार स्पेन, मोरोक्को र पोर्चुगलले पाएको भए पनि सुरुआती तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पराग्वेमा हुने तय भएको छ । फिफाले विश्वकपको सुरुआत १९३० मा दक्षिण अमेरिकाबाटै भएकाले सुरुआती तीन खेल त्यहाँ सञ्चालन गर्ने भएको हो ।
“एक शतकको खुसीयाली निकै फरक हुनेमा हामी विश्वस्त छौँ । किनभने १०० वर्षको खुसीयाली एकपटकमात्रै मनाइन्छ । त्यसैकारण हामीले ६४ टोलीका निम्ति प्रस्ताव गरेका हौँ,” कन्मेबोलका अध्यक्ष एलेजान्ड्रो डोमिनगेजले भने ।
विश्वकपको आगामी संस्करण (२०२६) मा भने कुल ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पहिलोपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्न लागेको यस संस्करणमा मेक्सिको, अमेरिका र क्यानडा गरी कुल तीन देशले आयोजना गर्नेछन् ।