
काठमाडौं । नारायण सुवेदीले झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा जीवन बिताएको ३३ वर्ष भयो । सन् १९८० को दशकको अन्त्यमा भुटानले ‘एक देश एक भाषा’ नीति लिएपछि नेपाली भाषी सुवेदीको परिवार भुटान छाडेर नेपाल हानिए ।
५४ वर्षीय सुवेदी विसं. २०४८ मा नेपाल आउँदा उनीसितै दुई वर्षका छोरा आशीष सुवेदी र श्रीमती पनि साथमै थिइन् । भारतको बाटो हुँदै नेपाल निर्वासनमा आएका सुवेदीको परिवारलाई नेपाल सरकारले बेलडाँगी शिविरमै राख्यो ।
सुवेदीजस्तै त्यो बेला लाखभन्दा बढी नेपाली भाषी भुटानबाट लखेटिएका थिए । उनीहरू सबैलाई नेपाल सरकारले शरणार्थी शिविरमा राख्यो । शिविरमै बस्दा नाराणय सुवेदीको परिवार बढ्दै गयो । दुई वर्षका छोरा आशीषसहित शरणार्थी बनेका सुवेदीको शिवरमै थप दुई छोरी जन्मिए ।
उनीहरू लामो समयसम्म शरणार्थीको रुपमा बेलडाँगीमा बसे । नेपाल सरकार र भुटानबीच चरणबद्ध वार्ता हुँदा पनि कुनै निष्कर्ष निस्केन । बरु भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत युरोपेली देशहरूमा पठाउन थालियो ।
त्यही पुनर्वास कार्यक्रमअन्तर्गत नारायण सुवेदीका छोरा आशीष, श्रीमती र दुई छोरी १० वर्ष पहिला अमेरिकाको पेन्सिलभेनिया पुगे । नारायणलाई अमेरिकाले लैजान मानेन् । उनले परिवारसँगै अमेरिका जाने निरन्तर प्रयास गरे । तर, सम्भव भएन ।
उनी भन्छन्, ‘‘झापामा म एक्लो हो । परिवार सबै अमेरिका पुगे । दुई छोरी र एक छोरा श्रीमती सबै अमेरिका पुगेका हुन् । म १० वर्ष देखि झापामा एक्लै छु ।’’
परिवारसँगै अमेरिका जाने निरन्तरको प्रयास असफल हुँदा दुःखी बने । परिवार अमेरिका पुगेपछि भने जीवन चलाउन सहज होला भन्ने आशा थियो, नारायण सुवेदीमा । तर, नारायणको जीवनमा खुसीको रंग भने आउन पाएन । अमेरिका पुगेको केही समयमै श्रीमतीले अर्को विहे गरेको खबर उनले सुन्नुपर्यो ।
करिब एक लाख भुटानी शरणार्थीहरू तेस्रो देश पुनःस्थापना भए । अझै पाँच हजारभन्दा बढी झापामा छन् ।
सुवेदी भन्छन्, ‘‘सबैभन्दा ठूलो कुरा देश भन्नु रहेछ । हाम्रो कुनै देश छैन । हामी देशविहीन मानिस भयौँ । नेपाल सरकारले दिएको शरणार्थी कार्ड साथमा बोकेर बाँचेका छौँ । तर, परिवार अमेरिका पुगेपछि भने जीवनमा उज्यालो होला भन्ने थियो । त्यो पनि भएन ।’’
अमेरिका पुगेको केही समयमै श्रीमतीले अर्काे विहे गरेको खबर सुनेपछि सुवेदी तनावमा पुगे । अनि, गत चैत १६ गते झापा प्रहरीले नियन्त्रणमा लिएका चारमध्ये एक उनकै छोरा आशीष सुवेदी हुन् । आशीषसहित १० जना भुटानी शरणार्थीलाई अमेरिकाको पेन्सिलभेनिया राज्य सरकारले मार्च २८ मा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल उतारेर छाडेको थियो ।
आशीषलाई सामान्य अपराध गरेको कसूरमा पक्राउ गरी भुटान फर्काएको पत्ता लागेको बुबा नारायण सुवेदीको भनाइ छ ।
‘‘अमेरिकामा सामान्य अपराध रहेछ । तर, उनको जिम्मा लिने कुनै मानिस नहुँदा भुटान फिर्ता गरेछ । बुबा भएको ठाउँ आउन खोज्दा कानुनी समस्यामा पर्यो,’’ नारायण भन्छन् ।
आशीषसँगै रोशन तामाङ, सन्तोष दर्जी र आशीष गुरुङ पनि हाल झापा अध्यागमन विभाग कार्यालयको नियन्त्रणमा छन् । देशविहीन उनीहरूलाई के गर्ने ? यतिखेर अध्यागमन कार्यालय पनि कानुनी समस्यामा छ ।
३० हजार भारु दिएर नेपाल पठाइयो
ती चार जनालाई भुटान अध्यागमनले जनही ३० हजार भारतीय रुपैयाँसहित भारतको सीमा जोडिएको झापाको पानी ट्याङ्कीसम्म पठाएको थियो । अमेरिकाले भुटानको विमानस्थल उतारेलगत्तै भुटानले भारतीय नम्बर प्लेटका गाडीमै राख्दै उनीहरूलाई पानीट्याङ्की छाडिएको खुलेको हो ।
अमेरिकाले डिपोर्ट गरेका १० जना नेपाल छिरेको दाबी गृह मन्त्रालयले गरेको छ । तर, प्रहरीको सम्पर्कमा चार जना मात्रै आएका हुन् । अध्यागमनको नियन्त्रणमा रहेकाहरूले १० जनालाई नै भुटानले तीनवटा गाडीमा राख्दै पानी ट्याङ्की पठाएको बयान दिएका छन् ।
प्रहरीले गत चैत १६ मा तीनजना र एक जनालाई १७ गतेमात्रै नियन्त्रणमा लिएको हो । उनीहरू ३५ वर्षदेखि ४० वर्षसम्मका छन् । अध्यागमन विभाग झापाका प्रमुख अधिकारी तुलसी भट्टराईले उनीहरूमाथि अझै अध्ययन जारी रहेको जानकारी दिए ।
उनी भन्छन, ‘‘हामीले उनीहरूमाथि छानबिन गरिराखेका छाँै । केही पनि कागजात भेटिएको छैन ।’’
हाल अध्यागमनको नियन्त्रणमा रहेका चारजनाले नै अमेरिकामा स्थायी अनुमतिपत्र अर्थात् ‘ग्रीन कार्ड’ लिएर बसेको दाबी गरेका छन् । तर, उनीहरूको साथबाट कुनै कागजात भने फेला नपर्दा कानुनी समस्या परेको हो ।
नेपालको अध्यागमन कानुन अनुसार, विना भिसा, विना कागजात प्रवेश गर्दा कारबाही हुन्छ ।
त्यसमा जरिबानादेखि जुन देशका नागरिक हुन् त्यही देश फिर्ता पठाउने व्यवस्था छ । नारायण सुवेदी भने आफ्ना छोरा आशीष अब आफैँसित बस्न पाउनुपर्ने माग राख्दै दैनिक झापा अध्यागमन कार्यालय धाउन थालेका छन् ।
उनी भन्छन्, ‘‘उसले अपराध गरेको भए पनि अमेरिकामा गर्यो । नेपालमा गरेको त होइन । अब उ मसँगै बस्ने वातावरण बनाई दिनुपर्छ ।’’ अध्यागमन विभागले कानुनी समस्या देखाउँदै आशीषलाई जिम्मा लगाउन मानेको छैन ।