
काठमाडौं । प्राध्यापक डाक्टर लोकराज बरालले भने पनि नभने पनि नेपाल भारतकेन्द्रित रहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर आजादले पुर्याएको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै प्रा.बरालले नेपालको भारतसँग बहुआयामिक सम्बन्ध रहेको भन्दै पछिल्लो समय भने राजनीतिक सम्बन्ध प्रगाढ हुन नसकेको बताए ।
“भने पनि नभने पनि हामी इन्डोसेन्ट्रिक हौँ, राजनीतिक, आर्थिक, सामाजिक, सांकृतिक सबै हिसाबले हामी इन्ड्रोसेन्ट्रिक छौँ,” बरालले भने, “यो अवस्थामा ‘पार्टी टु पार्टी’ सम्बन्ध महत्त्वपूर्ण हुन्छ । पहिले एकदमै उच्च तहमा थियो । अहिले त्यो छैन ।”
उनले भारतका राजनीतिक दलको नयाँ पुस्तासँग संवाद बढाउन बरालले सुझाव दिए । डा. बरालले राजनीतिक पार्टीका नेताहरूमा अध्ययनको अभाव देखिएको भन्दै त्यसले बौद्धिक खडेरी बढाउँदै लगेको बताए । “बौद्धिक वर्गलाई आर्टिकल पढ्ने समेत फुर्सद छैन,” प्रा.डा. बरालले भने ।