site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले कायममुकायम गभर्नरको जिम्मेवारी पाएकी छन् । राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

गभर्नरको पाँचवर्षे सेवा अवधि पूरा गरेर महाप्रसाद अधिकारीको कार्यकाल आइतबार (चैत २४ गते) सकिएको थियो । बहालवाला गभर्नरको अवधि सकिनुभन्दा एक महिनाअगाडि नयाँ नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि सरकारले कानुनको बेवास्ता गरेको छ ।

Argakhachi Cement Island Ad

“नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ,” राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा उल्लेख छ ।

यही व्यवस्थाअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्त गरी सार्वजनिक सूचना जारी गर्नुपर्ने थियो । तर, गभर्नरको कार्यकाल सकिएर एक दिन बितिसकेको छ ।

यसअघि पनि डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको २० दिनपछि मात्र अधिकारीलाई गभर्नरमा नियुक्त गरिएको थियो । नेपालको कार्यकाल ०७६ चैत ५ गते सकिएको थियो । अधिकारी ०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्