
काठमाडौं । रमा–कृष्ण सृजना प्रतिष्ठानले साहित्य, संगीत र विज्ञान क्षेत्रका साधकहरूलाई सम्मानित र पुरस्कृत गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले २०८० र २०८१ सालका लागि ‘भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान’ साहित्यकार तथा समालोचक प्रा.डा. चुडामणि बन्धु र प्रा.डा. अभि सुवेदीलाई प्रदान गरे । सम्मानका साथ जनही १५ हजार रुपैयाँ समेत प्रदान गरियो ।
कार्यक्रममा ‘वीर झागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार’ संगीतसाधक बुलु मुकारुङ र राजकुमार श्रेष्ठलाई प्रदान गरियो । त्यस्तै, ‘डा. हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञान/प्रविधि पुरस्कार’ अन्वेषक डा. मनीषराज पाण्डे र डा. इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरियो ।
यी पुरस्कारका साथ जनही १० हजार रुपैयाँ समेत प्रदान गरियो ।
उक्त अवसरमा प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले रमा–कृष्ण सृजना प्रतिष्ठानले बितेको १५ वर्षदेखि साहित्य, कला र विज्ञान क्षेत्रका साधक र अन्वेषकहरूलाई सम्मानित एवम् पुरस्कृत गर्नु प्रशंसनीय भएको बताए ।
कार्यक्रममा प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. अभि सुवेदी, बुलु मुकारुङ, डा. गीता त्रिपाठी, डा. इशान गौतम र डा. अञ्जना सिंह, इ. महेन्द्रबहादुर गुरुङ लगायतले बोले ।
कार्यक्रममा लक्ष्मी उप्रेतीको कविता संग्र्रह ‘तरंगित धुन’ को अंग्रेजी अनुवाद ‘रिपल्स अफ इमोसन्स’ सार्वजनिक गरियो । सार्वजनिक कृतिमाथि डा. बलराम अधिकारीले समीक्षात्मक मन्तव्य राखे ।