
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकार दृढताका साथ अघि बढेको बताएकी छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् । “शिक्षकका मागमा सरकार लचिलो छ, मागहरूलाई दृढताका साथ सम्बोधन गर्ने गरी अगाडि बढेको छ,” उनले भनिन् ।
बिहीबार उपप्रधानमन्त्री, गृहमन्त्री तथा दलका सचेतकहरूसहितको बैठकले शिक्षा विद्योयकलाई ऐनको रूप दिने प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्षमा पुगेपछि शिक्षकहरूलाई वार्ताका लागि बोलाइएको उनले बताइन् ।
सरकारका तर्फबाट शिक्षक संघ संगठनहरूलाई छलफलमा बस्न औपचारिक पत्राचार गदै शुक्रबार दिउँसो ३ बजेलाई बैठक राखिएको थियो । तर, केही शिक्षकहरू नआएपछि बैठक स्थगित गरिएको र फेरि सम्वाद गर्ने गरी वातावरण बनाइने उनले जानकारी दिइन् ।
शिक्षक संघ संगठनले भने कुनै सहमतिका लागि नभइ अध्यादेश वा संसद्को विशेष अधिवेशनमार्फत् शिक्षा ऐन जारी गर्नेबारे छलफल हुने भए मात्रै वार्तामा बस्ने अडान लिएका छन् । शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राखेर विगत तीन दिनदेखि देशभरका शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् ।