
काठमाडौं । सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि पछिल्लो साता औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेको समाचार सञ्चारमाध्यममा छाए । उद्योगीहरूले औद्योगिक क्षेत्रमा लोडसेडिङ कमी भएको भन्दै प्राधिकरणको कदमकाे स्वागत गरे ।
नेपाल धागो उत्पादक संघले लोडसेडिङ घटेकाले निर्यातमूलक उद्योग उत्साहित भएको जनायो । उद्योगीका अनुसार एक साताअघिसम्म औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भइरहेको थियो । बाह्रखरीले पूर्वी र मध्य तराई क्षेत्रमा सञ्चालनमा रहेकामध्ये केही उद्योगीसँग सोध्यो– “तपाईंहरूको उद्योगमा लोडसेडिङ हटेको हो ?”
पूर्वी क्षेत्रका उद्योगहरूले पहिलेको तुलनामा रातिको समयमा बिजुली केही नियमित भएको बताए । यसअघि १२/१४ घण्टा भइरहेको लोडसेडिङ पछिल्लो एक साता ४/५ घण्टाको हाराहारीमा झरेको उद्योगी बताउँछन् । विद्युत् प्राधिकरणले लोडसेडिङ अझै दुई घण्टा कम गर्ने जानकारी दिएको एक उद्योगीले बाह्रखरीलाई बताए ।
एक हप्ताअघिसम्म ८ घण्टा रहेको लोडसेडिङ अहिले ४ घण्टाको हाराहारीमा झरेको उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक सातामा विद्युत् केही नियमित भएको छ,” उनले भने, “८ घण्टा रहेको लोडसेडिङ ४ घण्टाको हाराहारीमा झरेको छ । विद्युत् आपूर्ति दीर्घकालीन र भरपर्दो हुनुपर्छ ।”
उद्योगीहरूका अनुसार दिउँसोको ट्रिपिङमा पनि कमी आएको छ, राति पनि ३/४ घण्टा बढी बिजुली पाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष भीमबहादुर पौडेल एक सातायता विद्युत् आपूर्तिमा सुधार आएको बताउँछन् । “एक साताअघिसम्म दिउँसोसमेत ट्रिपिङको समस्या थियो, अहिले नियमित छ,” उनले भने ।
रातको समयमा चल्ने उद्योगहरूले पनि ४ घण्टा नियमित रूपमा बिजुली पाइरहेको कोसी क्षेत्रका उद्योगीको भनाइ छ । धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म पुगेको लोडसेडिङमा कमी आएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी नवीन रिजाल पूर्वी क्षेत्रमा लोडसेडिङको समस्यामा कमी आएको बताउँछन् । “एक साता भयो दिनमा ३/४ पटक ट्रिपिङ भएबाहेक अन्य बेला सामान्य छ,” उनले भने, “रातको समयमा ३/४ घण्टा समस्या छ ।”
उता लुम्बिनी प्रदेशमा भने समस्या उस्तै रहेको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । “उद्योगमा लोडसेडिङ घटेको भन्ने समाचार सुनेँ, लुम्बिनीतिर त्यस्तो देखिएको छैन,” उनले भने, “यसअघि पनि दैनिक ४/५ घण्टा कटौती भइरहेको थियो, अहिले पनि त्यो अवस्था कायमै छ ।”
लोड अभावका कारण औद्योगिक क्षेत्रमा अझै ४/५ घण्टा लोडसेडिङ रहेको विद्युत् प्राधिकरणले नै स्वीकार गरेको छ । प्राधिकरणका अनुसार रातको समयमा अझै उद्योगहरूमा पर्याप्त विद्युत् उपलब्ध गराउन सकिएको छैन । “अहिले औद्योगिक क्षेत्रमा ४ घण्टाको हाराहारीमा विद्युत् कटौती भइरहेको छ,” प्रवक्ता राजभाइ शिल्पकारले भने, “यसलाई हटाउन हामी प्रयासरत छौँ ।”
यही चैत २ (मार्च १६) देखि ‘सोलार आवर’मा मात्रै बिजुली दिने भनेको भारतले नयाँ कार्यकारी निर्देशकमा शाक्य आएसँगै ४ घण्टा आपूर्ति थप गरेको थियो । प्राधिकरणका अनुसार राति १२ देखि ४ बजेसम्म ६ सय मेगावाट बिजुली दिन थालेपछि औद्योगिक क्षेत्रको लोडसेडिङमा कमी आएको हो । प्रवक्ता शिल्पकारका अनुसार मार्च २८/२९ तारिक ५९८ मेगावाट, ३०/३१ मा ५५४ मेगावाट, अप्रिल १ र २ मा ५०० मेगावाट बिजुली रातको समयमा आयात भएको छ ।
“उद्योगहरूमा नियमित बिजुली दिन नयाँ एमडी प्रयासरत हुनुहुन्छ,” उनले भने, “भारतबाट राति पनि ४ घण्टा बिजुली आएपछि उद्योगको लोडसेडिङमा कमी आएको हो ।” भारतबाट दुई प्रकारले विद्युत् आपूर्ति भइरहेको छ । ढल्केबर–मुजफ्फपुर, टनकपुरबाट तथा बिहार र उत्तर प्रदेशसँग जोडिएका १३२ केभी प्रसारण लाइनमार्फत नेपालमा बिजुली आयात हुने गरेको छ ।
नेपालले ढल्केबर–मुजफ्फपुर, बिहार र उत्तर प्रदेशसँग जोडिएका १३२ केभी प्रसारणअन्तर्गत न्यू नौतनुवा–मैनहिया, कटैया–कुशाहा, रामनगर–गण्डक, रक्सौल–परवानीपुरबाट बिहारको पावर एक्सचेन्ज कमिटी (पीईसी) तथा ऊर्जा खरिद बिक्री बजार इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट बिजुली किन्ने गर्छ ।
नेपालमा बिजुली जडित क्षमता ३५ सय मेगावाट माथि पुगिसकेको छ । तर, हिँउदमा नदीहरूमा पानीको वहाव घटेसँगै लोडसेडिङ हुन नदिन भारतीय बिजुलीमा निर्भर रहनु परेको छ ।
कोरोना महामारीपछि औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ सुरु भएको हो । उद्योगमा लोडसेडिङ भएपछि कुलमानले प्राविधिक समस्या देखाएर अस्वीकार गर्दै आएका थिए । शाक्य आएपछि लोडसेडिङ हो भनेर हटाउन पहल भएको छ । भारतले नदिएको भन्दै प्रत्येक वर्षको हिउँदमा औद्योगिक क्षेत्र लोडसेडिङको मारमा पर्ने गरेका छन् । वर्षामा फालाफाल हुने विद्युत् हिउँदमा छिमेकीको भर पर्नुपर्ने अवस्था छ ।
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विद्युत् जडित क्षमता ३५ सय १२ मेगावाट पुगेको छ । बुधबार (चैत्र २०) उच्च माग १९०१ मेगावाट पुगेको प्राधिकरणको तथ्यांक छ । जडित क्षमता झन्डै दोब्बर पुगे पनि नदी प्रवाही आयोजनाबाट एक हजार मेगावाटको हाराहारीमा उत्पादन भइरहेको छ ।
जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माण नभएसम्म हिउँदमा भारतको भर अनिवार्यजस्तै छ । चालु आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय प्रणालीमा ३५५ मेगावाट बिजुली थपिएको छ । तर, सबै नदी प्रवाही आयोजना मात्रै हुँदा योगदान निकै कम छ ।
चालु आर्थिक वर्षमा निजी लगानीमा निर्माणाधीन विभिन्न १४ आयोजना सम्पन्न भई प्रणालीमा ३५५ मेगावाट आएको थियो । साउनयता १० आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् ।
जसको कुल जडित क्षमता ३२८ मेगावाट रहेको छ । यस्तै २६.९६ मेगावाट क्षमताका चार आयोजनाबाट परीक्षण उत्पादनमा भइरहेको प्राधिकरणले जनाएको छ ।
थप भएका आयोजनासमेत गरी प्राधिकरणको प्रणालीमा जडित क्षमता बढेर ३५ सय १२ मेगावाट पुगेको प्राधिकरणका प्रवक्ता शिल्पकारले जानकारी दिए ।
चालु आर्थिक वर्षमा सरकारले ९ सय मेगावाट बिजुली थप गरी जडित क्षमता ४५ सय मेगावाट पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ ।