
काठमाडौं । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले पोर्चुगलका राष्ट्रपति मार्सेलो नुनो डुआर्टे रेबेलो डिसुसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । लिस्बनस्थित बेलेम प्यालेसमा सोमबार आयोजित एक विशेष समारोहमा राजदूत पौडेलले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत पौडेलेले पोर्चुगलका राष्ट्रपति सुसासँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा पोर्चुगलका राष्ट्रपतिले पौडेललाई पोर्चुगलका लागि नेपालको पहिलो राजदूतको रूपमा नियुक्त भएकोमा बधाई दिएका थिए । उनले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन सफलताको कामना समेत गरे ।
भेटमा राजदूत पौडेलले राष्ट्रपतिलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट बधाई र शुभकामना व्यक्त गरेका थिए ।नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धको अवस्थाप्रति खुसी व्यक्त गर्दै राजदूत पौडेलले आगामी दिनमा जनता–जनताबीचको सम्पर्क लगायत नेपाल र पोर्चुगलबीचको समग्र सहयोगलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिए ।
पोर्चुगलका राष्ट्रपतिले पोर्चुगलमा रहेका नेपालीहरूको मेहनती र मैत्रीपूर्ण स्वभावको प्रशंसा गरेका थिए ।