site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दंगा भड्काउने एक वर्षदेखिको प्रयासमा पूर्वराजा मिसिए : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह एक वर्षदेखि सामाजिक सद्भाव भड्काएर समाज बिथोल्ने प्रयासमा मिसिँदा तीनकुने घटना भएको बताएका छन् ।

सोमबार (चैत १८) प्रधिनिधिसभा बैठकमा उनले पूर्वराजाले आफ्नो महत्त्वाकांक्षाका निम्ति समाज भड्काउने, बैंकको ऋण तिर्दिनँ भन्ने व्यक्तिको साथ लिएको आरोप लगाए । तीनकुने घटना त्यसकै प्रतिफल भएको उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कथित आयोजकले प्रहरीमाथि गाडी गुडाउने प्रयास गर्दै निषेधित क्षेत्र तोडे । अन्तर्राष्ट्रिय विमानस्थल र आयल निगमको डिपोमा आगजनी गर्ने आतंकवादी गतिविधि भए,” प्रधानमन्त्री ओलीले भने, “व्यक्तिको घरमा आगो लगाउने, सपिङ मलमा छिरेर लुटपाट मच्चाउने, जडीबुटी कम्पनीमा आगजनी गर्ने गतिविधि राजनीतिक हुन सक्दैनन् ।”

घटनाबारे उपयुक्त समयमा गृहमन्त्रीले सदनमा विस्तृत जानकारी गराउने उनले बताए । उनले विस्तृत प्रतिवेदन केही समयमा तयार हुने जानकारी दिए ।

हालको घटनाका निम्ति एक वर्षअघिदेखिको विश्लेषण आवश्यक रहेको उनले बताए । “एक वर्षअघिदेखिको विश्लेषण आवश्यक छ । धर्म–संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा उत्तेजना फैलाएर जनआस्था भड्काउने प्रयास गर्दै थियो,” प्रधानमन्त्री ओलीले भने, “पूर्वराजाले त्यही अवाञ्छित व्यक्तिलाई घरमा बोलाएर कथित कमान्डर तोक्ने काम भयो ।”

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्