
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सहकार्यमा काठमाडौंमा आयोजित दुईदिने अन्तर्क्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
"वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकारात्मक धारणा पनि पैदा हुने गरेको छ," गभर्नर अधिकारीले भने, "तसर्थ, सञ्चार माध्यमले पनि सत्य र तथ्यमा आधारित भइ समाचार सम्प्रेषण गर्नुपर्छ ।"
सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गभर्नर पदमा रहँदा सहज तथा असहज दुवै परिस्थितिमा सञ्चारमाध्यमले सहयोग गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे ।
"अर्थतन्त्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुन्छ । पत्रकारले आर्थिक तथा वित्तीय सूचनाहरू सम्प्रेषण गरेअनुसार नागरिकले धारणा बनाउँछन् । पत्रकारले बुझेको कुरा सही भएमा सूचना पनि सही जान्छ," गभर्नर अधिकारीले भने ।
उनले सही सूचना प्रवाह गरेको खण्डमा नागरिकले आवश्यकताअनुसार सही निर्णय लिने तथा योजना बनाउन सहयोग गर्ने बताए । हाल सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो छोटो सामग्रीले पनि बजारमा धेरै प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको बताए ।
अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए ।