site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मूल दोषी पूर्वराजा ज्ञानेन्द्र हुन् : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कार्यले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन् ।

आइतबार (चैत १७) नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले गणतन्त्रका विरुद्ध ढुंगा हान्नेसँग कुम जोडेर सदन चल्न नदिने विषयले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा उल्लेख गरे ।

Argakhachi Cement Island Ad

संसद् बैठकमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउन साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले जिकिर गरे । सदन अवरुद्ध गरेर प्रतिस्थान विधेयक पारित नगर्ने दाउपेजमा माओवादी रहेको उनले तर्क गरे ।

“माओवादी केन्द्र प्रतिनिधिसभाले पारित गरेको पाँचवटा महत्त्वपूर्ण प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट कुनै पनि हालतमा पारित नहोस् भन्ने त्यो दाउपेचमा छ,” उनले भने, “६० दिनभित्र पारित गर्नुपर्ने यो प्रतिस्थापन विधेयक अप्ठ्यारोमा पारेर संसद्लाई गतिहीन बनाउने, प्रतिनिधिसभालाई फेल गराउने, हाउसलाई कमजोर बनाउने, राष्ट्रिय महत्त्वका जीवन्त विषयहरू संसद्मा बहस र छलफल गर्न नदिने योभन्दा ठूलो संविधानविरोधी कुरा के हुनसक्छ ?”

उनले शुक्रबार (चैत १५)को घटनाको मुख्य दोषी पूर्वराजा शाह नै भएको बताए । शाहलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा उनले जोड दिए । पूर्वराजालाई दिइएको सबै सेवा सुविधा फिर्ता लिनुपर्ने उनको भनाइ थियो ।

“मूल अभियुक्त भनेको, मूल दोषी भनेको पूर्वराजा ज्ञानेन्द्र शाह हुन्,” सांसद बर्तौलाले भने, “उनलाई कानुनबमोजिम कारबाही गरिनुपर्छ ।” हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्