
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजंग बरालले राजीनामा दिएको विषयमा आफूलाई जानकारी नरहेको बताएकी छन् ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले यस विषयमा आफू अनभिज्ञ रहेको बताइन् ।
"हिजो बिदाको दिन भयो, त्यसकारण आजसम्म थाहा हुन्छ । त्यसपछि हामी समितिलाई जानकारी गराउनेछौँ । जसरी यहाँहरूले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो । किनभने उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो । त्यसकारण आज दिउँसोसम्म थाहा होला । मैले अनौपचारिक जानकारी लिने एउटा पक्ष रह्यो । तर, मैले विश्वविद्यालयमै जानकारी लिने कुरा रहन्छ," उनले भनिन् ।
उपकुलपति बरालले शनिबार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएको विषय बाहिरिएको छ ।