
काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको पछिल्लो १३ सिजनमा ११औँ उपाधिनजिक पुगेको छ । शनिबार राति एटिएनमाथि ६–१ को सानदार जित निकाल्दै पीएसजी उपाधिनजिक पुगेको हो ।
पीएसजीलाई उपाधि निश्चित गर्न शनिबार मार्सेले रिम्ससँग पराजित हुनुपर्ने र मोनाकोले निससँग बराबरी खेल्नुपर्ने समीकरण थियो । मार्सेविरुद्ध रिम्सले ३–१ को जित निकाल्यो पनि । तर, मोनाकाले निसलाई २–१ ले हराउँदा पीएसजीले उपाधि निश्चित गर्न अर्को खेल कुर्नुपर्ने भएको हो ।
तालिकाको शीर्ष स्थानमा आसीन पीएसजीले २७ खेलबाट ७१ अंक जोडेको छ । त्यो दोस्रो स्थानको मोनाकोको भन्दा २१ अंक धेरै हो । रेलिगेसन क्षेत्रको एटिएनको भने २६ खेलबाट २० अंक मात्र छ ।
खेलको नवौँ मिनेटमै एटिएनका लुकास स्टासिनले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४३औँ मिनेटमा गोन्कालो रामोसले पेनाल्टीमार्फत बराबरी गोल गर्दै पीएसजीलाई खेलमा फर्काए ।
५०औँ मिनेटमा खभिचा काभारात्स्खेलियाले उत्कृष्ट गोल गरे । त्यसपछि डेसिरे डोउले ५३औँ मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए ।
६२औँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै पीएसजीको अग्रता ४–१ को स्थितिमा पुर्याए । ६६औँ मिनेटमा नेभेसले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५–१ को अग्रता दिलाएका थिए । ९०औँ मिनेटमा इब्राहिम एम्बायले गोल गर्दै पीएसजीलाई ६–१ को सानदार जित दिलाए ।