
कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा शनिबार (चैत १६) भारतीय नम्बरप्लेटको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन् । तीमध्ये तीनजनालाई बढी चोट लागेको उनले बताए ।
प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिकास्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री सवार ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको नम्बर खुल्न सकेको छैन ।
बेहडाबाबालाई सीमापारिका भारतीय नागरिकले कुलदेवताका रूपमा पुज्ने गर्छन् ।
घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरी उपचारका निम्ति धनगढीस्थित सेती प्रादेशिक र अरू अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस