
काठमाडौं । चार विपक्षी दल आबद्ध समाजवादी मोर्चा, नेपालले शुक्रबार काठमाडौंमा प्रदर्शनसहित सभा गर्यो ।
सभाबाटै नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्किन्छु भन्ने दिवास्वप्न नदेख्न चेतावनी दिए भने सरकारलाई पनि सच्चिन खबरदारी गरे ।
कुपण्डोल, माइतीघर, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीलगायतका स्थानबाट निकालिएको जुलुस शान्तिपूर्ण रुपमा सभामा परिणत भएको थियो ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टीले आयोजना गरेको सभाको मूल नारा थियो– “यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ । गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधिनताको संरक्षण गरौं ।”
कार्यक्रममा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजालाई राजनीतिमा आउने चाहना भए दल खोल्न सुझाव दिइन् ।
“राजनीतिको रहर छ भने आफैँले दल खोल वा कुनै राजावादी दलको अध्यक्ष बनेर राजनीतिमा आउ,” उनले भनिन् । उनले चुनाव जितेर दुई तिहाई ल्याएर प्रधानमन्त्री वा राष्ट्रपति बन्न समेत सुझाइन् ।
ज्ञानेन्द्रलाई चेतावनी : काष्टिङ मात्रै हो, होसियार !
मोर्चाका नेताहरूले पूर्वराजा शाहलाई चेतावनी फेरि गल्ती नगर्न चेतावनी दिएका छन् । विगतको गल्तीको सजाय भोगिरहेको भन्दै अब गल्ती गर्दा केही बाँकी नरहने चेतावनी दिएका हुन् ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजतन्त्र फर्काउने कुरा गर्नु नेपाली राजनीतिको प्रहसन मात्रै भएको टिप्पणी गरे ।
जनता घोडा चढ्ने सामन्तीहरूको दास बन्न तयार नरहेको उनको भनाइ थियो ।
“ध्वस्त भएका सामन्तीका भूतले अर्को बोझ थप्न खोजेपछि हामी स्वीकार्छौं ?,” उनले भने, “गाडी चढ्ने दलालहरूको हैकम थेग्न नसकेका नेपालीहरू घोडा चढ्ने आए भने के होला ? तपाईं हामीले भोगेका छौं,” उनले भने ।
नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजको सभा ‘कास्टिङ’ मात्रै भएको बताए । “यो त कास्टिङ मात्रै हो । अब यो मुलुक शाही वंशतिर फर्कन सक्दैन । वंश, परिवारको शासनतर्फ फर्कन सक्दैनन्,” उनले चेतावनी दिँदै भने ।
नेपालले जनताले विगतमा नै राजतन्त्र ब्यहोरेको भन्दै फेरि कुचेष्टा गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र दलको उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।
“नेपाली जनताको र नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्,” प्रचण्डको चेतावनी छ, “अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन् । खबरदार !”
राजतन्त्र पक्षधरले तीनकुनेमा सभा र जुलुसको आयोजना गरेको थियो । दुर्गाप्रसाईं नेतृत्वमा भएको आन्दोलनमा ढुंगामुढा भएपछि त्यहाँको सभा तितर–बितर भयो ।
भृकुटीमण्डपमा सभा चालिरहँदा विभिन्न व्यक्तिको घर, पार्टी कार्यालय र विभिन्न स्थानमा आगजनी भएको खबर आएको थियो ।
प्रचण्डले पञ्चायतकालीन ‘मण्डले’ चरित्र प्रस्तुुत भएको टिप्पणी गरे । राजावादीहरूको चरित्र कस्तो हो भन्ने कुरा तीनकुनेको घटनाले देखाएको भनाइ उनको थियो ।
“बाह्र वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बांगाको बांगै भनेजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी निरंकुशतावादीको प्रतिकजस्तो बनेको छ ।”
उनले राजावादीहरूले केही व्यक्ति मरुन् र देशमा आतंक फैलियोस् भन्ने सोचाइ राखेको आरोप समेत लगाए । उनले इँटको जवाफ पत्थरले दिने भन्दै चेतावनी पनि दिए ।
“उनीहरूले १० हजार निकाले हामी एक लाख, उनीहरूले एक लाख (जनता) निकाले हामी १० लाख निकाल्छौँ,” थप चेतावनी दिँदै उनले भने, “तिमीले १० लाख ल्याउँछौँ भने एक करोड निकालेर देखाउँछौँ ।”
गणतन्त्रवादीलाई चेतावनी
समाजवादी मोर्चाले गणतन्त्रवादीलाई पनि चेतावनी दिएको छ । कार्यक्रममा नेताहरूले नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारलाई पनि खबरदारी गरेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तामा बस्नेहरूले अग्रगामी विचार नराखेको जिकिर गरे । अब नेपाली विशेषताको समाजवाद चाहिएको उनको भनाइ छ ।
“दुभाग्र्य के छ भने सत्तामा बस्नेहरूले अग्रगामी विचार राखेनन्, यथास्थितिमा रुमल्लिए । उनीहरू परिवर्तनको पक्षमा देखिएनन् । आज हामीले त्यसैको परिणाम भोगिरहेका छौं,” नेपालको टिप्पणी छ ।
देशमा निराशा छाएको, युवाहरू विदेश पलायन भइरहेको, मिटरब्याज, लघुवित्त, सुकुम्बासी अनेकौ वेदना पिल्सिनुपरेको उनको भनाइ । तर, सरकार तमासे भएको आरोप उनको छ ।
“...सरकार तमासे भएर बसेको छ । सरकारलाई जनताको कुनै समस्यासँग मतलब छैन । सरकारलाई त खालि गीत गाउन मात्रै मतलब छ, म त ढले ढलेँ, म त ढले ढलेँ...,” उनले भने ।
नेपालले आफूहरूले सरकारलाई मति सपार्न आग्रह गरिरहेको बताए । “हामीले ढालेकै छैनौं , किन ढलेँ, ढलेँ भनेको ? हामीले ढालिरहेका छैनौं । हामीले भनेका छौं,– मति सप्रियोस्, बुद्धि फेरियोस्, देश र जनतालाई केन्द्रमा राखियोस्,” नेपालले भने ।
देश निर्माणमा सरकारको हुटहुटी नभएको आरोप नेपालको छ । नेपालले प्रतिगामी शक्ति र यथास्थितिमा थन्किने सोचको विरोध आफूहरूको रहेको सुनाए । “जुनसुकै प्रतिगामी शक्ति होस् । व्यवस्थालाई समाप्त पार्ने षड्यन्त्र होस् या यथास्थितिमा थन्किने सोच होस्,” उनले भने, “हामी यथास्थितिवादको पनि विरोध गर्छौं । प्रतिगमन र प्रतिगामी शक्तिको विरोध गर्छौं ।”
नेपालले सरकारको कारण प्रतिगामी शक्ति सल्बलाएको भन्दै सरकारको खबरदारीसमेत गरे ।
त्यस्तै, माओवादीका अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘‘कांग्रेस र एमालेका नेताहरूलाई तपाईंहरू गणतन्त्रवादी हुनुहुन्छ हैन ? गणतन्त्र, शान्ति–सम्झौतमा सँगै हिँडेका दलहरूलाई एकचोटी छातिमा हात राखेर आफ्ना गल्ती कमजोरीको समीक्षा गर्न चाहन्छु । तपाईंंहरू गणतन्त्रवादी हुनुहुन्छ त अब ?,”
प्रचण्डको अर्काे प्रश्न रह्यो, “तपाईंहरू त गणतन्त्रको मूल्य–मान्यताविपरीत दलाल र विचौलियाको हितमा काम गर्ने चुत्थो दलालका दलाल बन्नुभएको छ । विचार गर्नुभएको छ ?”
उनले जनताको आक्रोशप्रति समीक्षा गर्न र आफूलाई जनतातर्फ फर्काउन आग्रह गरे । संविधानसभा र गणतन्त्रका सहयात्री भएकाले खबरदारी मात्रै भनेको प्रचण्डको भनाइ थियो ।
“यदि तपाईंहरूले यसैगरी उल्टो दिशा हिँड्दै गर्ने हो भने सामन्ती निरंकुशता र दलालविरुद्धको नयाँ क्रान्तिले बडारेर लान्छ हेक्का गर्नुहोला,” प्रचण्डको चेतावनी छ ।
प्रचण्डले विचौलियाका दुई चार अर्बका पछि मात्र दौडिए नेताहरूको हालत पनि तानाशाहको जस्तै हुने चेतावनीसमेत दिए ।
“हाम्रो चाहना छ, तपाईंहरूविरुद्ध तीर सोझ्याउनुनपरोस्,” उनले भने ।
प्रचण्डले आत्मालोचनासहित मोर्चामा सहभागी हुन आह्वान गरे ।
उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनमा जवाफ नदिएको आपत्ति जनाए ।
ओली नै राजावादीसँग मिलेको आशंका समेत गरे । ‘‘प्रधानमन्त्रीजीले उल्टो–उल्टो काम गर्नुको अर्थ राजावादीहरूसँग मिल्या त होइन भन्ने गम्भीर प्रश्न उठेको छ । भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो,” प्रचण्डको आरोप छ ।
उल्टो–उल्टो काम गरेर राजावादीलाई सहयोग गरेको भन्दै प्रधानमन्त्रीले आफूलाई गणतन्त्रवादी भएको पुष्टि गर्नुपर्ने समेत बताए ।