
तुलसीपुर (दाङ) । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईं र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।
अन्य दुईजनाको पहिचान हुन बाँकी छ । अन्य दुईजना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताए । गाडीमा नौजना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँचजना घाइते छन् । उनीहरूको भारतमै उपचार भइरहेको जनाइएको छ । रासस