
काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को विभिन्न व्यक्तित्वहरूमाथि लेखिएको निबन्धकृति ‘अभिवन्द्य’को तेस्रो संस्करण एक समारोहबीच सार्वजनिक गरिएको छ ।
सोमबार काठमाडौंमा कृतिमाथि बोल्दै साहित्यकार तथा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सबैभन्दा गाह्रो काम मान्छे पढ्नु भएको भन्दै निबन्धकार ‘रोदन’ले मान्छे पढेर यो व्यक्तिनिबन्ध सिर्जना गरेको बताए । उनले निबन्धकारले प्रयोग गरेको नयाँ शैलीको प्रशंसा गरे ।
साहित्यकार प्रमोद प्रधानले लेखकले छोटाछोटा शब्दमा धेरै कुरा उल्लेख गरेको बताउँदै कृतिको महत्त्व र लेखकीय चिन्तनको चर्चा गरे ।
निबन्धकार ‘रोदन’ले अभिवन्द्यको रचनागर्भबारे बोल्दै आफू निबन्ध लेखनमा निबन्धकारहरू राममणि रिसाल र तेजेश्वरबाबु ग्वंगबाट प्रभावित भएर यस पुस्तकको सिर्जना गरेको बताए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष छविरमण सिलवालले प्रतिष्ठानको गतिविधिबारे जानकारी गराए । उक्त अवसरमा प्रदीप सापकोटा, तारा केसी र पूर्णबहादुर श्रेष्ठले पनि बोलेका थिए ।
५९ जना विभिन्न व्यक्तिहरूमाथि लेखिएको यो निबन्धकृति सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको हो ।