site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस–एमाले गठबन्धन संयन्त्रले 'आगोको पर्खाल' बन्दैछ : डा. रिजाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस–एमाले सरकार र सरकार सञ्चालन संयन्त्रले आगोको पर्खाल बनाएको टिप्पणी गरेका छन् । मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा दुई पार्टीको सरकार सञ्चालन संयन्त्र तलसम्म पुर्‍याउँदा त्यसले बाँकीलाई निषेध गरी उनीहरूबीच नै तालमेलको वातावरण निर्माण गरिरहेको टिप्पणी गरे ।

“हामीले आगोको पर्खाल बनाएका छौँ । ७५३ पालिका, सात प्रदेश र संघमा कांग्रेस एमाले मिलेर उभिएपछि बाँकीले कहाँ जाने ?,” डा. रिजालले भने, “हामीले यसबारे सोच्न आवश्यक छ । हामी निर्वाचनमा एक्ला एक्लै लड्ने वातावरण निर्माणमा जुट्नुपर्ने कांग्रेस एमालेको संयन्त्र विस्तारले यसमा अवरोध गर्दैछ ।”

Argakhachi Cement Island Ad

उनले कांग्रेस–एमाले एक ठाउँ उभिँदा बाँकीलाई अर्कोतर्फ गोलबद्ध हुन बाध्य पार्ने भन्दै त्यसले निर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने अभ्यासलाई असफल पारिदिने बताए । उनले त्यस्तो परिस्थितिले कांग्रेस र एमालेलाई सँगै राखे पनि लोकतन्त्रलाई भने कमजोर बनाउने टिप्पणी गरे । “यसले दुई पार्टीलाई सँगै राख्दा लोकतन्त्रलाई जिवन्त राख्न सक्दैन,” रिजालले भने, “हामीले यति लामो राजनीति गरेर बनेको बाटो, बीपी कोइरालाले बनाएको बाटो धरापमा पर्दैछ ।”

उनले अरुलाई गाली गरेर अवस्थामा सुधार नआउने भन्दै पार्टीका जिम्मेवार व्यक्तिहरूले सुधारका लागि काम गर्नुपर्ने बताए । डा. रिजालले कांग्रेस र एमालेको सरकारका काम कारबाही पनि जिम्मेवार र नागरिकको विश्वास आर्जन गर्ने प्रकृतिका हुनु दुःखद भएको बताए ।

“सामाजिक सञ्जाल विधेयक गोपनीयताको हकमा केन्द्रित हुनुपर्ने सरकारको बचाउमा केन्द्रित भयो,” डा. रिजालले भने, “मानिसका विचार अन्त आए केही नहुने, सामाजिक सञ्जालमा आए अपराध हुने यो ठिक भएन ।”

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्