site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजासँग नेताहरू किन डराइरहेका छन् ? : डा. शेखर कोइराला  

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलका नेताहरू किन डराइरहेका छन् भन्ने आफूले बुझ्न नसकेको बताएका छन् । जनताको बलमा आएको लोकतन्त्र त्यति कमजोर नरहेको भन्दै कसैको प्रदर्शनबाट तर्सनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 

मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा डा. कोइरालाले नेताहरूमा गणतन्त्रलाई सफल पार्ने चिन्ता देखिनुपर्ने बताए ।
 
“आर्थिक र सामाजिक अवस्था बिग्रिएको छ । तर, राजनीतिक अवस्था प्रचार गरिएजस्तो भयावह छैन,” डा. शेखरले भने, “लोकतान्त्रिक गणतन्त्र त्यति कमजोर छैन । हामीहरू किन डराइरहेका छौँ, मैले बुझ्न सकिरहेको छैन ।”
 
उनले लोकतन्त्रमा निषेधको राजनीति नचल्ने भन्दै सत्तारुढ वा प्रतिपक्षी दलले गरिरहेका गतिविधि र प्रतिक्रिया स्वभाविक नभएको बताए । राजावादीहरूको ‘काउन्टर’मा घोषणा भएका कार्यक्रमले कम्युनिष्ट पार्टीहरू लोकतान्त्रिक हुन नसकेको देखाएको उनले टिप्पणी गरे ।
 
“लोकतन्त्रमा निषेधको राजनीति चल्दैन । निषेधको राजनीतिले लोकतन्त्रलाई र हामीलाई नै कमजोर बनाउँछ,” कोइरालाको प्रश्न छ, “सत्तामा बसेका दलले त झन जनतामा डेलिभरी दिने हो । जागरण अभियान भनेर घोषणा गर्ने र अभियान चलाउने कुरा शोभनीय हुन्छ ?”

उनले ०६२/६३ को जनआन्दोलन सुशासनकै नारा दिएर सफल भएको भन्दै सरकार चलाउने पार्टीले त्यसमा ध्यान नपुर्‍याउँदा जनतामा आक्रोस देखिएको बताए । चाँडो विर्सने र व्यक्तिगत स्वार्थमा लाग्ने प्रवृत्तिले नेताहरूको छवि जोगिन नसकेको उनको टिप्पणी छ । 

“नागरिक समाजसँग गिरिजाबाबुसहित सात दलका नेताहरूले बोलेको सम्झन्छु । उहाँहरूले सुशासन र लोकतन्त्रलाई अघि बढाउछौँ भन्नुभएको थियो । त्यसपछि मात्र नागरिक समाज आन्दोलनमा उत्रिएर सफलता प्राप्त भएको थियो । हामीले कति चाँडो विर्सिएको ?,” उनले भने, “आज पनि हामी डराउनु पर्ने अवस्था छैन । तर, हिजो सुशासन दिन्छु भनेकाहरू कांग्रेस र एमाले नै सरकारमा हुँदा किन दिन सकिएन यसले हामी माथि प्रश्न उठाएको छ ।” 

हिजो गर्छु भनेको काम गरे । गठबन्धन बनाउँदाको सात बुँदेमा गर्छु भनेको काम गरे नागरिकमा रहेको असन्तुष्टि हट्ने उनको धारणा बताए ।
 
“हामी सरकारमा बस्दा नागरिकका असन्तुष्टि अन्त्यको इमान्दार प्रयास भयो त ? अनि सरकको नेतृत्व गर्ने पार्टीले जागरणसभा गर्ने समय हो यो ?,” कोइरालाले प्रश्न गरे । 

उनले नागरिक विश्वासमा उभिएको पार्टी नेपाली कांग्रेस राजनीतिको मियो भएको भन्दै पछिल्लो समय उसले पहिचान गुमाएको बताए । त्यसो हुनुमा नेतृत्वले पार्टीलाई नागरिक विश्वासमा हिडाउँन नसक्नु कारण रहेको डा. कोइरालाको भनाइ छ । 

“कांग्रेस ००७ साल यता राजनीतिको मियो हो । नेपाली कांग्रेस नागरिकको पार्टी हो,” डा. कोइरालले भने, “तर, अहिले आएर कहिले एमालेको, कहिले माओवादीको पछि हिँडेको छ । यो कांग्रेसको परिचय होइन । यस्तो कांग्रेसलाई नागरिकले भरोसा गर्दैन ।”
 
उनले सरकार चलाउने संयन्त्रले तल्लो तहसम्म जरा फैलाउन लागेको भन्दै चिन्ता जाहेर गरे । त्यसले लोकतन्त्रलाई कमजोर बनाउँदै पार्टीलाई पहिचानविहीन बनाउने तर्क गरे । 

“अहिले सरकार छ, त्यसलाई चलाउन पार्टीको संयन्त्र बनाइएको छ । यस्तो त कम्युनिष्ट मुलुकमा मात्र हुन्छ,” डा. कोइरालाले भने, “केन्द्रमा त संयन्त्र थियो नै विराटनगर गएको त्यहाँ पनि संयन्त्र बनाउनु पर्ने भन्दैछन् । पालिकामा पनि संयन्त्र बनाउने प्रेसर आयो रे !” 

उनले आफूले बनाउनु हुँदैन भनेर रोकेको भन्दै संयन्त्रले सरकार चलाउने अभ्यास लोकतन्त्रमा उपयुक्त नहुने जिकिर गरे । 

“मैले बनाउन हुँदैन भनेको छु । साथीहरू बनाउनै पर्ने प्रेसर आयो भन्दै हुनुहुन्छ । दबाब खेप्नुस् तर नबनाउनुस् भनेको छु,” उनले भने, “सरकारका संयन्त्रमा कांग्रेस भेटिन छोडेको छ । मेरिट्रोक्रेसी काम गर्न नसकेको देखिँदैछ । अब राष्ट्र बैंकको गभर्नर कस्तो व्यक्ति बन्छ त्यसले नै देशको भविश्यलाई कता लान खोजेको छ भन्ने थाहा हुन्छ ।” 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro