site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परीक्षा निरीक्षक नै एसईईका विद्यार्थीलाई ‘चिट चोराउन’ लागेपछि... 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिकास्थित यमुनामाई माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसईईका विद्यार्थीबाट पैसा लिई चिट चोर्न सहयोग गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिहीबार (चैत ७) पहिलो दिन एसईईमा अमर्यादित कार्य गरेको आरोपमा परीक्षा निरीक्षकसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी दिलीप घिमिरेले जानकारी दिए ।

पक्राउ पर्नेमा परीक्षा निरीक्षक ५६ वर्षीय रामविलास यादव र स्थानीय २५ वर्षीय मुकेश शाह छन् । परीक्षार्थीसँग पैसा लिई केन्द्रभित्र मोबाइल छिराएको यादवमाथि आरोप छ । शाहले भने मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनियाँ मावि परीक्षा केन्द्रमा बाहिरबाट चिट पठाउने कार्य गरेको आरोप छ ।

अंग्रेजी विषयको परीक्षामा पैसा लिएर चिट चोराउने उद्देश्यले परीक्षा हलभित्र मोबाइल लुकाइएको पाएको रौतहट प्रहरीका प्रवक्ता एवं डीएसपी दीपककुमार रायले जानकारी दिए । “एउटा परीक्षा केन्द्रमा परीक्षार्थीलाई चिट उपलब्ध गराउने उद्देश्यले परीक्षा केन्द्रभित्र मोबाइल छिराएको पाइयो,” उनले बाह्रखरीसित भने ।

प्रहरीले उक्त क्षेत्रका विभिन्न परीक्षा केन्द्रबाट ४२४ थान मोबाइल फोन बरामद गरेको थियो । परीक्षाको मर्यादा भंग गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको छ । जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताए ।

शुक्रबार (चैत ८) पनि विभिन्न परीक्षा केन्द्रबाट केहीथान मोबाइल बरामद गरिएको उनले जानकारी दिए । “आज पनि विभिन्न परीक्षा केन्द्रहरूबाट केहीथान मोबाइल बरामद गरेका छौँ,” उनले भने, “हिजोको तुलनामा आजको परीक्षा शान्तिपूर्ण नै रह्यो ।”

नक्कली परीक्षार्थी
बिहीबार रुपन्देहीको भैरहवास्थित लीलाराम न्यौपाने माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी आशीष बानियाँलाई प्रहरीले पक्राउ गर्‍यो । सञ्जय चौधरीका नाममा अंग्रेजी विषयको ग्रेडवृद्धिको परीक्षा दिन गएका बानियाँलाई निरीक्षणका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

भैरहवास्थित सुसंस्कृत माध्यमिक विद्यालयका विद्यार्थी चौधरीको नाममा परीक्षा दिन पुगेका बानियाँ ०८० सालमै एसईई उत्तीर्ण भइसकेका हुन् । उनी हाल तिलोत्तमास्थित शान्ति नमुना माविमा कक्षा–११ मा अध्ययनरत छन् ।

केन्द्राध्यक्ष कारबाहीमा
जिल्ला प्रशासन कार्यालय सप्तरीले विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयका केन्द्राध्यक्ष र हनुमाननगर कंकालिनी नगरपालिकास्थित महावीर माध्यमिक विद्यालयका केन्द्राध्यक्षलाई कारबाही गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वमा खटिएको अनुगमन टोलीले उक्त केन्द्रका केन्द्राध्यक्षलाई कारबाही गरेको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण शाहले बताए ।

उनका अनुसार, ती केन्द्राध्यक्षले विद्यार्थीलाई परीक्षा केन्द्रको एउटै कोठामा राखेर परीक्षा दिलाइरहेको पाइएको थियो । “परीक्षा केन्द्रको मिलेमतोमा एउटै कोठाभित्र राखेर परीक्षा दिलाएको पाइयो । त्यसैले सीडीओ साबको नेतृत्वले कारबाही गर्‍यो । दुई विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक कारबाहीमा परे,” उनले भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी दिनेशकुमार आचार्यले समग्रमा देशभर शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको बताए । “छिटपुट कारबाही भइरहेको छ । समग्रमा शान्तिपूर्ण तवरले नै एसईई परीक्षा सञ्चालन भइरहेको छ,” उनले भने ।

एसईईलक्षित देशभर १३ हजार १७९ प्रहरी परिचालन गरिएको छ । शुक्रबारको परीक्षा सामान्य रूपमा सम्पन्न भएको उनले बताए ।

बिहीबारदेखि सुरु एसईईमा देशभरका पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । १५० सम्म परीक्षार्थी भएको केन्द्रमा एक सहायक केन्द्राध्यक्ष र २० विद्यार्थीबराबर एक निरीक्षक खटाइएको छ । ७५ भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको परीक्षा बोर्डले जनाएको छ ।

एसईई परीक्षा यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro