
काठमाडौं । नागढुंगा सुरूङ मार्गमा स्थानीयले फेरि अवरोध गरेका छन् । निर्माणको अन्तिम चरणमा आइपुग्दा आयोजनासँग निःशुल्क खानेपानी उपलब्ध हुनुपर्ने माग राखेर सुरूङ मार्गको काम अवरोध गरेका हुन् ।
चन्द्रागिरी नगरपालिका–२ का पूर्ववडाध्यक्ष नै अवरोधमा लागेका छन् । पूर्ववडाध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा चार दिनदेखि सुरूङ मार्गको काम ठप्प परिएको हो ।
आयोजनाको करिब ८७ प्रतिशत काम सकिइसकेको छ । आयोजनाले वार्ताका लागि आवह्वान गर्दा समेत अवरोधकर्ता नआएको आयोजनाले जनाएको छ ।
आफूहरूले खानेपानीको सञ्चालन, चर्किएका घरको क्षतिपूर्तिलगायतका समस्या समाधान गर्न अवरोध गरेको सुर्खेतीको दाबी छ । “आयोजना सकिन लाग्यो । काम सकिएपछि उहाँहरू त हस्तान्तरण गरेर हिँड्नु हुन्छ,” उनले भने, “त्यसकारण काम सकिनुअघि नै हाम्रो माग सम्बोधन गर्न भनेका हौं ।”
सुरूङ मार्ग आयोजना हस्तान्तरणपछि पनि निःशुल्क खानेपानीको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । “खानेपानीको जिम्मा महानगर लिन्छु भनेको छ । तर, मौखिक रूपमा लिन्छु भनेर हुन्न, त्यसको लिखित प्रतिवद्धता पनि चाहिन्छ,” सुर्खेतीले भने, “घर चर्किएका सबैले क्षतिपूर्ति पनि पाएका छैनन् ।”
वार्ताका लागि बोलाउँदा किन नगएको भन्ने बाह्रखरीको प्रश्नमा उनले भने “वार्तामा तल जानुपर्छ । त्यहाँ गएर पनि कुर्नुपर्छ त्यसकारण हामीले माथिको अफिसमै वार्ता गरौं भनेका हौं ।”
आयोजनाका सिनियर डिभिजन इन्जिनियर सञ्जय पन्थीका अनुसार, आइतबारदेखि काम ठप्प छ । एकदिन काम ठप्प हुँदा ५० लाखको हाराहारीमा क्षति हुने आयोजनाको भनाइ छ ।
सुरूङ ४२ महिनामा निर्माण सकिनुपर्ने थियो । तर, स्थानीयले स–साना कुरामा पनि अवरोध पुर्याउँदा निर्माण अवधि लम्बिइरहेको छ । आयोजनाको काम असोजसम्म सक्ने गरी तयारी थियो । तर, पटक–पटक अवरोध हुँदा समयमै सकिन गाह्रोपर्ने पन्थी बताउँछन् ।
आयोजनाको ८७ प्रतिशत काम सकिएको र असोजसम्म पूर्ण गर्ने योजना छ । त्यसको तीन महिना परीक्षण गरी पूर्ण सञ्चालन योजना छ ।
हाल सुरूङ मार्गको मुख्य ढलान सकिएको छ । आपतकालीन उद्दारतर्फतिर ढलानको काम आधा सकिएको छ ।
आयोजना असोजदेखि सवारी सञ्चालन गरी परीक्षणमा जाने र त्यसको तीन महिनापछि मात्रै नियमित रूपमा सवारी सञ्चालन हुने तयारी छ । “सुरूङ मार्गको काम ८७ प्रतिशत सकिएको छ,” उनले भने, “अवरोध समयमै हट्यो र काम सुरू भयो भने अबको एक वर्षमा सञ्चालनमा आउँछ ।”
आयोजना यसअघि पाँचपटक अवरोध भइसकेको छ । आइतबारदेखि धादिङ र काठमाडौं दुवैतर्फको काम ठप्प छ ।
स्थानीयको माग सबै सम्बोधन भइसकेको आयोजनाले जनाएको छ । काम सकिनै लाग्दा स्थानीयले माग सम्बोधन नहुने जस्ता कुरा राखेर अवरोध पुर्याइरहेको आयोजनाले जनाएको छ । “काम सकिन लाग्यो, अब आयोजनाले हामीले भनेको काम गर्दैन भनेर उहाँहरू अवरोध गर्न लाग्नु भएको छ,” पन्थीले भने, “आयोजना सञ्चालनमा आउनै एक वर्ष लाग्छ ।”
आपत्कालीन अवस्थाबाहेक अन्यका लागि सुरूङमार्ग सञ्चालन निम्ति अझै एक वर्षको समय लाग्ने उनले जानकारी दिए । “समस्या नै पर्यो भने त एम्बुलेन्सहरू छिराउन सकिएला । तर, त्यो पनि गाइडलाइनमा छैन,” उनले भने ।
असोजमा आयोजनाको काम सकिएपछि सफ्ट ओपनिङ हुने र उक्त समयमा सीमित गाडीहरू मात्रै सञ्चालन हुनेछ ।
सफ्ट ओपनिङमा टोल शुल्क लिने वा नलिनेबारे हालसम्म कुनै निर्णय नभएको उनको भनाइ छ । यस्तै बलम्बुतर्फको फ्लाई ओभरको काम पनि अन्तिम चरणमा पुगेको छ । “फ्लाइ ओभरतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । केही रेलिङ हाल्न बाँकी छ,” उनले भने,“फ्लाई ओभरतर्फ ९७ प्रतिशतको हाराहारीमा काम सकिएको छ ।”
आयोजनामा स्थानीय तथा कोरोनाले गर्दा पटक–पटक म्याद थप गरिरहेको छ । आयोजनामा गत साता एउटा घरमा क्षति भएको भन्दै अवरोध पुर्याएका थिए ।
सुरूङ मार्ग ०७६ कात्तिक ४ बाट निर्माण सुरू भएको थियो । ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोभिड तथा स्थानीयको अवरोधले म्याद थप भएको थियो ।
सोहीअनुसार सरकारले पटक–पटक म्याद सम्झौता गरेको छ । पहिलो सम्झौताअनुसार सुरूङमार्गको कार्य सम्पन्न नभएपछि पहिलो पटक ०८० असार मसान्तसम्म समय थपिएको थियो । त्यसपछि ०८१ वैशाख १३ सम्म म्याद थपे पनि काम सकिएन । आयोजनासँग अब ०८२ असोजसम्म म्याद छ ।
आयोजना सुरू गर्दा ४२ महिनामा सक्ने लक्ष्य थियो । तर, आयोजना सुरू भएको ६४ महिनासम्म पनि पुरा भएको छैन । अवरोध हटेर काम सुरू भएपनि आयोजनामा सवारी गुडाउन अझै एक वर्ष लाग्नेछ । सुरूङमार्ग निर्माणपछि सिस्ने खोलाबाट बलम्बु करिब ७ मिनेटमा यात्रा गर्न सकिने आयोजनाको भनाइ छ । सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न औसत ३३ मिनेट बढी लाग्ने गरेको छ ।
सुरूङ मार्ग बनेपछि यसले ७ मिनेटमा आवत–जावत गर्न सकिने आयोजनाले जनाएको छ । सरूङको दुरी दुई हजार ६८८ मिटर छ । मुख्य सुरूङसँगै आपत्कालीन सुरूङ समेत निर्माण भइरहेको छ । आपत्कालीन सुरूङको दूरी दुई हजार ५५७ मिटर रहेको आयोजनाले जानकारी दिएको छ ।
सुरूङ मार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो । जसको कुल ठेक्का रकम २२ अर्ब रूपैयाँ छ । सुरूङमार्ग निर्माण गर्न जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र सरकारको ६ अर्ब लगानी छ ।