
काठमाडौं । काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युुत वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष मंगलबार (चैत ५) डा. वाग्लेले शपथ लिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक समारोहबीच उपकुलपति डा. वाग्लेलाई शपथ गराइयो । सोमबार (चैत ४) बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रतिस्पर्धी तीनमध्ये डा. वाग्लेलाई उक्त पदमा नियुक्त गरिएको हो ।
शपथपछि प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा भएको ढिलाइको सन्दर्भ समेत ध्यानमा राखेर सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम गर्न शुभकामना दिए ।
नवनियुक्त उपकुलपति प्रा. डा. वाग्ले यसअघि रजिस्ट्रार थिए । उपकुलपति रिक्त भएपछि उनले नै कार्यवाहक उपकुलपतिको भूमिका निर्वाह गर्दै आएका थिए ।
शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत अधिकारी सहभागी थिए ।