site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिवि क्रिकेट मैदान ३०० दिनभित्रै बनाउने लक्ष्य, तीन हप्तामा पाँच प्रतिशत प्रगति (तस्बिरहरू)

काठमाडौं । गएको असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट गरिएको पहिलो निर्णय थियो, कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने ।

उक्त निर्णयपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखे, “पहिलो निर्णय– क्रिकेट रंगशाला !! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।”

त्यसको सात महिनापछि हाल त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको काम थालिएको छ । सहरी विकास मन्त्रालयबाट मैदान स्तरोन्नति कार्य भइरहेको छ । 

tu1-1742285191.jpg
प्यारापिटका निम्ति फागुन १९ गते ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम थालियो । मन्त्रालयका अनुसार, प्यारापिट निर्माणको जिम्मा तीन कम्पनीले संयुक्त रूपमा पाएका हुन् । ती तीन कम्पनीमा बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्स छन् ।

यस्तै, फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको छ । फ्लडलाइट निर्माणका निम्ति फागुन २२ गते मन्त्रालयले विसान ईश्वरीसँग सम्झौता गरेको थियो । फागुन २३ देखि काम थालिएको थियो ।

“अहिलेसम्म कीर्तिपुरमा निर्माण कार्यको भौतिक प्रगति ५ प्रतिशत भइसकेको छ । वित्तीय प्रगति भने शून्य नै छ,” साइट इन्चार्ज गणेश पाण्डेले बाह्रखरीसँग भने ।

रंगशाला निर्माणको पहिलो चरणमा प्यारापिटतर्फ चेन्जिङ रुम, भीआईपी बक्सलगायत संरचना समावेश नभएको इन्चार्ज पाण्डेले बताए ।

tu2-1742285210.jpg
सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता नवराज शर्माले प्यारापिट र फ्लडलाइट निर्माण कार्य अघि बढाइएको बताए । “त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइटको काम सुरु भइसकेको छ । मन्त्रालयबाट यी दुवै निर्माण कार्यका निम्ति फरक–फरक कम्पनीले ठेक्का समेत पाइसकेका छन्,” उनले भने, “मैदानको प्यारापिटका निम्ति ४३ करोड ७७ लाख र फ्लडलाइटका निम्ति ४२ करोड १९ लाखमा ठेक्का लागेको छ ।”

प्यारापिट र फ्लडलाइट दुवै निर्माण कार्य आउँदो वैशाख २४ गतेसम्म सकाउनुपर्ने समयासीमा छ । तोकिएको अवधिमा काम भए प्रधानमन्त्री ओलीले घोषणा गरेझैँ यो ३०० दिनभित्रै सम्पन्न हुनेछ । असार ३१ गतेको घोषणादेखि सम्पन्न हुनुपर्ने मितिसम्म कुल २९५ दिन हुनेछ ।

tu3-1742285249.jpg
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले रंगशाला निर्माणको सम्पूर्ण जिम्मेवारी मन्त्रालयको भएकाले आफूलाई यसबारे खास जानकारी नभएको बताए । “प्यारापिट र फ्लडलाइट निर्माणको सबै जिम्मेवारी नेपाल सरकारअन्तर्गत सहरी विकास मन्त्रालयले पाएको छ । निर्माण सन्दर्भमा क्यानको खास भूमिका छैन,” लामाले भने ।

फ्लडलाइटलाई बोलपत्र आह्वान तीनपटक असफल
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट राख्न यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट पटक–पटक बोलपत्र आह्वान भए पनि ठेक्का प्रक्रियामा जान सकेको थिएन । ०७९ चैत ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ फ्लडलाइट र डिजिटल स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए । 

त्यति बेला आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको खेल हेर्न कीर्तिपुर पुगेका उनले फ्लडलाइट र स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि राखेपले पहिलोपटक ०८० वैशाख ४ गते फ्लडलाइटका लागि टेन्डर आह्वान गरेको थियो ।

tu4-1742285267.jpg
त्यसयता राखेपले फ्लडलाइटका निम्ति मात्र तीनपटक बोलपत्र आह्वान गरिसकेको छ । तर, विविध कारणले ती सबै बोलपत्र रद्द भएका थिए । त्यसपछि राखेप यो कार्यमा संलग्न छन् ।

“यसअघि राखेपले तीनपटक बोलपत्र आह्वान गरे पनि विविध कारणले ती सबै रद्द भएका थिए,” राखेपका सूचना अधिकारी खुशराज दाहालले भने, “अहिले रंगशाला निर्माण र फ्लडलाइटको जिम्मेवारी सबै मन्त्रालयले नै हेरिरहेको छ ।”

tu70-1742285296.jpg

tu15-1742285296.jpg

tu5-1742285295.jpg

tu6-1742285295.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro