
काठमाडौं । पाँच वर्षअगाडिको एक दिन प्रेम श्रेष्ठ मिलन (चाम्स)को घरमा टुप्लुक्क आइपुगे । महिना र दिन त मिलनको दिमागबाट विस्मृतिको पानामा गइसके । तर, प्रेम किन उनको घरमा पुगेका थिए, त्यो मिलनको सम्झनाको तरेलीमा ताजै छ ।
प्रेमको प्रस्ताव थियो, चलचित्र बनाउने । चलचित्रको विषय पनि उनी सँगै थियो ।
के ?
व्यक्ति संघर्ष । अर्थात्, बायोपिक ।
कसको ?
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको ।
मिलनले सिधै भनिदिए, म बनाउँदिनँ ।
प्रेम : किन ?
मिलन : अलि बेला भएको छैन । मिलनको तर्क थियो– संघर्ष त उनले गरिन् होला, तर सफलता जति प्राप्त गर्नुपर्ने हो त्यति चलचित्रका लागि पर्याप्त छैन ।
प्रेमले मिलनलाई बारम्बार एन्जिलाको संघर्षमा चलचित्र बनाऊँ भनिरहे । मिलनले त्यसलाई टारिरहे ।
एक दिन एन्जिलासँग मिलनको भेट भयो । एन्जिलाले सम्झनाको पोयो फुकाइन् । एन्जिलाको सफलताभन्दा पनि संघर्षको कथाले छोयो । मिलन भावुक भए ।
गाउँबाट कठोर संघर्ष गरेर आएको भुइँमान्छेले राष्ट्रिय टिमको कम्तानी सम्हाल्नु आफैँमा ठूलो सफलता थियो । मिलनलाई त्योभन्दा पनि संघर्षले छोयो । मिलनले ‘मुड चेन्ज’ गरे । चलचित्र बनाउने भए ।
भेटहरू बाक्लिए । चलचित्रमा समेट्ने विषयहरू थपिँदै गए ।
तर, फेरि एक दिन !
के भयो ?
प्रेमका लागि मिलनले नराम्रो निर्णय सुनाए । भने, ‘म यो सिनेमा बनाउँदिनँ ।’
कारण पनि सुनाइदिए, ‘बायोपिक एक त बनाउन सहज छैन, दोस्रो रिस्क फ्याक्टर बढी छ ।’
मिलनले नेपालमा बायोपिक त्यति धेरै नचलेको उदाहरण दिए । उनी आफैँ पनि यसको भुक्तभोगी थिए । ‘ब्लाइन्ड रक्स’बाट राम्रो प्रतिक्रिया पाए पनि सिनेमा चलेको थिएन ।
“एक त नेपालमा बायोपिक त्यति धेरै चलेको इतिहास छैन । दोस्रो, फुटबलप्रति चासो राख्ने दर्शकका लागि मात्रै हुने भएपछि दायरा झन् साँघुरो भएजस्तो लाग्यो,” मिलन भन्छन्, “राम्रो सिनेमा बनाउने जिम्मा मेरो भए पनि चलेन भने त्यसको हिस्सेदार त नचाहेरै पनि हुनुपर्छ । त्यसैले मैले यो चलचित्र बनाउँदिनँ भनेँ ।”
मिलनको निर्णयले प्रेम मर्माहत भएछन् । भोलिपल्ट बिहानै उनी मिलनको घर पुगे । ‘मैले धेरै कुरा अगाडि बढाइसकेँ, प्लिज हुन्न नभन्दिनुहोला,’ प्रेमले आग्रह गरे ।
प्रेमको आग्रहले फेरि मिलनलाई सोच्न बाध्य बनायो । फेरि एन्जिलालाई भेटे । पुनः प्रक्रिया अगाडि बढ्यो ।
अन्ततः याम थापाले स्क्रिप्ट लेख्न थाले । उनले लेखेको स्क्रिप्टमा थप सुधारको खाँचो देखेपछि मिलन पुगे, पटकथा लेखक प्रदीप भारध्वजकोमा । उनले पनि थपघट गरे । तर, स्क्रिप्ट हेर्दा फ्लोरमा गइहाल्ने आँट मिलनले गर्न सकेनन् ।
स्क्रिप्ट राम्रो बनेन । मिलनले सिनेमा होल्ड गरिदिए । यसको फाइदा पनि भयो ।
कसरी ?
चलचित्र खिच्न जति ढिलाइ हुँदै थियो, एन्जिलाको सफलता त्यति नै थपिँदै थियो । त्यो चलचित्रका लागि सबल पक्ष थियो । जति धेरै भेट निर्देशक र लेखकको एन्जिलासँग हुन्थ्यो, त्यति उनी खुल्दै थिइन् । त्यसबाट चलचित्रमा आवश्यक कथा थपिँदै थिए ।
एन्जिलाले लुकाएका कुरा खुल्दै गए । सफलताका कथा थपिँदै गए । ती कुरा स्क्रिप्टमा थपिँदै गएपछि मिलनलाई फ्लोरमा जाने आत्मविश्वास बढ्यो । अन्ततः उनी छायांकनमा निस्कने भए ।
एन्जिला आफैँ
हाल खेलाडीवृत्तमा एउटा चर्चा छ– एन्जिलालाई अभिनय गर्ने रहर रहेछ !
“तर, होइन । एन्जिलालाई अभिनयमा कुनै सोख छैन । यो नै उसको पहिलो र अन्तिम चलचित्र हो,” मिलन भन्छन्, “प्रेम सर नभएको भए उनले कुनै पनि हालतमा अभिनय गर्ने थिइनन् । प्रेम सरले नै अवसर दिएकाले उहाँको आग्रह नकार्न नसकेर अभिनय गर्न तयार भएकी हुन् ।”
सुरुमा उनी डराएकी थिइन् । मिलनले उनलाई सजिलो बनाइदिए ।
कसरी ?
“मैले उसलाई तिमी जसरी बोल्छौँ, हिँड्छौँ त्यस्तै गर, म अभिनय गर्दै छु भनेर सोच्दै नसोच, यदि त्यस्तो सोच्यो भने बिग्रिन्छ भनेँ,” एन्जिलालाई अभिनय गराउँदाको सेट सम्झिन्छन् मिलन, “संघर्षको कथामा म विगत सम्झ त भन्थेँ, सायद त्यहाँको माहोलले सहज भएर पनि होला, रुने सिनेमा एकपटक पनि गिलसिरिन प्रयोग गर्नु परेन ।”
फेन्टा किन्दिन नसक्दा...
जति क्लोज हुँदै गइन्, त्यति नै एन्जिलाले आफ्ना कथा सुनाइन् । तर, ती सबै कुरा मिलनले चलचित्रमा देखाएनन् । किनकि, परिवार भत्काउन होइन उनी जोड्न चाहन्थे । परिवारमा भर्खर बल्न थालेको दियो निभाउन होइन त्यसमा थप बर्तन थप्न चाहन्थे मिलन ।
अभावको भुंग्रोबाट पिल्सिएर इस्पात भएर निस्किएकी फुटबलर हुन्, एन्जिला । अभावसँग पौँठेजोरी खेल्दा उनले थुप्रै वर्ष काँडामा टेकेर हिँडेकी छन् ।
खेल्नलाई शक्ति चाहिन्थ्यो । शक्तिका लागि डाइट चाहिन्थ्यो । तर, उनीसँग इनर्जी फुड किनेर खान पैसा हुँदैन थियो । खाने कि गाडी चढ्ने ? उनका सामु दुई विकल्प थिए, एक रोज्नुपर्थ्यो ।
इनर्जीका निम्ति उनीसँग अन्डा र चना खाने पैसा पनि हुँदैन थियो । अन्डाचना खाएर हिँडेर सशस्त्र प्रहरी (एपीएफ)को मैदान पुग्नुपर्थ्यो । उनी कैयौँ दिन बागडोलबाट हिँडेरै एपीएफको मैदान स्वयम्भू पुगेकी छन् । पाउरोटी र चिया खाएर उनी मैदान पुग्थिन् । त्यो दृश्य सिनेमामा पनि छ ।
‘अञ्जिला’ आमा र छोरीको इमोसनसँग खेलेको चलचित्र हो । आमा र छोरीले एन्जिलाको सपना पूरा गर्न गरेको संघर्ष र त्याग चलचित्रमा छ ।
चलचित्रमा नसमेटिएको एउटा घटना मिलनले यसरी सुनाए, “एन्जिलालाई फेन्टा खान मन लाग्छ । तर, आमाले मन भएर पनि पैसा नहुँदा किन्दिन सक्दिनन् । छोरीलाई एउटा फेन्टा पनि किन्दिन सकिनँ भनेर आमालाई वर्षौंसम्म पोलिरहन्थ्यो रे !”
उनले सुन बेचेर छोरीलाई काठमाडौं पठाएकी थिइन्, यो भने मिलनले चलचित्रमा देखाएका छैनन् । “आमाले सुन मासेर काठमाडौं पठाएकाले होला, अहिले एन्जिलालाई आमालाई धेरै सुन किनेर लगाइदिने रहर छ रे !,” मिलनले सुनाए ।
पाँच हजारले धानेको जीवन
जब एपीएफले एन्जिलामा सम्भावना देख्यो, उनलाई कन्ट्रयाकमा अनुबन्ध गर्यो । खेल्ने व्यवस्था त मिल्यो, तर काठमाडौंमा बस्नेखाने चाँजोपाँजो मिलाउन उनलाई सकस थियो । एपीएफले जम्मा पाँच हजार रुपैयाँ दिन्थ्यो । त्यसमै बस्ने, खाने, पढ्ने, लुगाकपडा सबैको जोहो गर्नुपर्थ्यो । त्यसैले उनी टिनको छानो भएको झुप्रोमा बस्थिन् । त्यो पनि उनीसँगै खेल्ने अर्को साथीसँग रुम सेयर गर्थिन् । कारण, खर्च कम गर्नु नै थियो ।
प्रेम श्रेष्ठ – जसले ‘अञ्जिला’ बनाए, उनले एन्जिलालाई तिमी मेरै घरमा बस भन्दा उनले भनेकी थिइन्, ‘म यहाँ आएँ भने मेरो बानी बिग्रिन्छ । म फेरि त्यही ठाउँमा फर्किनुपर्यो भने मलाई साह्रो पर्छ । मैले मेरो धरातल बिर्सनु हुँदैन ।’
आफ्नो धरातल र हैसियत बिर्सिनु हुँदैन भनेर झुप्रोमै फर्किएकी उनलाई मेरै घरमा बस भन्ने प्रेम एपीएफका एसपी हुन् । त्यो समय उनी डीएसपी थिए, जसले एन्जिलालाई फुटबलर बनाए । एन्जिलाको सपना पूरा गर्ने सारथि बने । त्यसैले उनी प्रेमलाई ‘गडफादर’ मान्छिन् ।
चलचित्रमा मिलनले एन्जिलाका दुई बुवा देखाएका छन् । यो उनले सिनेम्याटिक लिबर्टी लिएर देखाएका होइनन्, रियल लाइफ देखाएका हुन् ।
एक घण्टा रोहिरहे
साढे तीन वर्ष हुँदा एन्जिलाकी आमाले उनको पहिलो घर छोडिन् । बुवासँगको धेरै सम्झना उनलाई याद छैन । तर, रगतको नाताले होला, उनलाई एउटा घर बनाइदिने एन्जिलाको चाहना छ ।
चलचित्रको क्लाइमेक्सतिर एउटा दृश्य छ, एन्जिला र उनको रियल बुवाको – जसमा उनीहरू एकार्कालाई हेरेर रोइरहन्छन्, तर बोल्दैनन् ।
“एन्जिला साढे तीन वर्षको हुँदा उनकी आमाले घर छोडिन् । एन्जिलालाई पनि आमाले आफूसँगै लिएर आइन् । त्यसपछि उनको बुवासँग कहिल्यै भेट भएन । एपीएफमा जागिरे भइसकेपछि उनी बुवालाई भेट्न जान्छिन्,” मिलन भन्छन्, “त्यहाँ उहाँहरूबीच एक घण्टा भेट हुन्छ । एकले अर्कोलाई हेरेर रोइरहन्छन् । एक शब्द पनि बोल्दैनन् । १० हजार रुपैयाँ निकालेर हातमा हाल्दिएर एन्जिला निस्किन्छिन् । एक घण्टाको दृश्यलाई मैले दुई मिनेटमा देखाएको छु । त्यसपछि अहिलेसम्म बुवासँग एन्जिलाको भेट भएको छैन ।”
एन्जिला हाल सशस्त्र प्रहरीको जागिरे छिन् । बाबुआमालाई हेर्ने उनै हुन् । कान्छा बुवापट्टिको छोरीलाई पनि उनले काठमाडौंमा राखेर पढाइरहेकी छन् । उनी आफैँ पनि स्नातकोत्तर पढिरहेकी छन् ।
घर कि एकेडेमी ?
प्रेमले एन्जिलाको घर बनाइदिन्छु भनेका छन् । कसरी ? यही प्रश्न मिलनले पनि सोधेका रहेछन् ।
चलचित्र चले त त्यसबाट पैसा आइहाल्छ, सहजै भइगयो । सिनेमा घाटामा गए पनि बनाइदिने उनले बचन दिएका छन् । “मैले बचन दिएको कुरा हो, म जसरी पनि पूरा गर्छु । सिनेमा चलेन भने पनि बनाइदिन्छु,” मिलन प्रेमलाई उद्धृत गर्दै भन्छन्, “आए सहयोग लिन्छु, नभए आफ्नै सम्पत्ति बेचेर भए पनि बोलेको बचन पूरा गर्छु ।”
त्यसपछि मिलन पनि यो अभियानमा जोडिए ।
तर, मिलनसँग एन्जिलाले अर्को कुरा गरेकी छन्– स्पोर्ट्स एकेडेमी खोल्ने । किनकि, आफूले सपना पूरा गर्न उनले जुन दुःख भोगिन्, त्यस्तो दुःख अबका बालिकाले भोग्नु नपरोस् भन्ने उनको चाहना छ ।
“अब त मलाई आत्मविश्वास पनि आयो, आफैँ केही गरेर बाँच्न सक्छु भन्ने आँट पनि छ । घर भए पनि नभए पनि हुन्छ, तर फुटबल एकेडेमी भयो भने मैलेजस्तो दुःख अब आउने बहिनीहरूले पाउने थिएनन् भनिन्,” मिलन सुनाउँछन्, “मलाई उनको यो प्रस्ताव साँच्चै मन पर्यो । यो सोच्नु नै वास्तवमा महानता हो । उनले आफ्नो सीप अर्को पुस्तामा हस्तान्तरण गर्ने कुरा पनि हो ।” त्यसैले यसमा प्रेमसँग सल्लाह गर्ने सोचमा छन्, मिलन ।
फेरि सुटिङ सेटतिर
‘अञ्जिला’मा एन्जिलाले नखेलेको भए के हुन्थ्यो ? प्रोफेसनल कलाकारलाई लिँदा के हुन्थ्यो ? सम्झन पनि सक्दैनन् मिलन ।
“कति दिन तालिम गराएर एन्जिलाको फुटबल कौशल देखाउँथे होला । एन्जिलाले पोस्टमा गरेको डाइभ हेर्नोस् त,” मिलन अगाडि थप्छन्, “अलिकति ब्यालेन्स मिलेन भने डाइभ हान्दा करङ भाँचिन्छ । अञ्जिलाभन्दा राम्रो पात्र यसमा जस्तोसुकै भेट्रान कलाकार लिँदा पनि सम्भव थिएन ।”
म्याचको टेक लिँदा भने मिलनलाई समस्या भयो । छायांकन भइरहेको छ भनेपछि सतर्क भइदिँदा कठिनाइ भएको थियो ।
“म्याच हुँदा आफ्नो हिसाबले खेल्ने कुरा भयो । तर, छायांकन हुँदै छ भनेपछि अटोमेटिक कन्सियस हुँदा हामीलाई फाइनल टेक लिन कठिन भएको थियो,” मिलन भन्छन्, “यो पोइन्टबाट यसरी हान्नु ल भन्ने हाम्रो आग्रह हुन्थ्यो । तर, खेल्दै, छक्याउँदै जाँदा हामीले भनेजस्तो सट हान्न त कठिन हुनेरहेछ ।”
डेडिकेटेड एन्जिला
४२ दिन छायांकन भयो । एन्जिलाले करिब ३५ दिन समय दिइन् । समस्या पब्लिसिटीमा भयो, उनले समय दिन सकिनन् । जहिले बोलाए पनि भ्याउँदिनँ भन्थिन् । कहिले अभ्यास छ भन्थिन्, कहिले म्याच ।
गेम र अभ्यास भएको समयमा एन्जिला फोन स्वीच अफ गरेर बस्थिन् । अक्सर प्रिमियरमा एन्जिला सहभागी भइनन् । मिलनले सम्झिए यूकेको प्रिमियर । “प्रिमियरमा अन्तिम समयसम्म पनि एन्जिला आउँछिन् भन्ने थियो । त्यही भनेर प्रचार भइरहेको थियो । तर, अन्ततः उनी आउन सकिनन्,” मिलन भन्छन्, “उनलाई प्रत्यक्ष भेट्न र हेर्न भनेर आएका फुटबलप्रेमी कम्ता निराश भएर फर्किएनन् ।”
पछि मिलनले एन्जिलालाई सोधे– दुई/चार दिनको समय हो, किन एन्जिला समय निकाल्न सकिँदैन ?
एन्जिलाले जवाफ दिइन्– चलचित्र न मेरो सपना थियो न हुने नै छ । फुटबल नै मेरो सपना थियो र छ । त्यसैले मैले चलचित्र होइन फुटबललाई प्राथमिकता दिनुपर्छ । यो नै मेरो धर्म हो ।
मिलनलाई लाग्यो हो त ! ‘मेरो सपना चलचित्र हो, म चलचित्रका पछाडि दौडिरहेको छु । उनको सपना र जीवन फुटबल हो, त्यसकै पछाडि दौडिरहेकी छन् । उनको यो आफ्नो पेसाप्रतिको इमानदार र बफादारी हो ।’