-1742209172-1742215034.jpg)
काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ले खेल र अर्थतन्त्रलाई जोड्दा नीति निर्माणमा सहयोग पुग्ने प्रमुख साझेदारहरूले बताएका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फको बारेमा जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसका साझेदारहरूले यो कार्यक्रम निजी क्षेत्रलाई सहभागी गराएर नीति निर्माण गर्ने थलो बन्ने बताएका हुन् ।
खेललाई पर्यटनसँग जोड्न आवश्यक रहेको भन्दै सझेदारहरूले आर्थिक गतिविधि बढाउन पनि गल्फ खेललाई विकास गर्नुपर्ने बताए । प्रतियोगिताको आठौँ संस्करण चैत २३ (अप्रिल ५) गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना हुने तालिका छ । उक्त दिन गल्फ प्रतियोगितासँगै आर्थिक परिसंवाद पनि हुनेछ ।
जसमा आर्थिक परिसंवादमा नेपालको आर्थिक अवस्था, व्यापारिक क्षेत्रमा भइरहेका अवरोध, नेपालमा प्रविधि क्षेत्रको अवसर र चुनौती, दोस्रो चरणको आर्थिक सुधारको आवश्यकतालगायत विषयमा महत्त्वपूर्ण छलफल हुनेछ । आर्थिक परिसंवाद कार्यक्रममा नेपालका नीति निर्माण तहमा रहेका उच्च अधिकारी, अर्थमन्त्री, मन्त्रीहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख तथा पदाधिकारीहरू, कर्पोरेट क्षेत्रका व्यक्तित्व, प्राध्यापक, बुद्धिजीवी, अर्थविद्, बैंकर, उद्यमी, संघीय सांसद, प्रदेशसभा सदस्य, ‘कन्टेन्ट क्रियटर’लगायत व्यक्तित्वको उपस्थिति रहनेछ ।
गल्फलाई अर्थतन्त्रसँग जोड्दा साझेदारहरूलाई पनि सहभागिता जनाउन सहज भएको बताइएको छ । बाह्रखरी गल्फको मुख्य प्रायोजक एनसेल फर बिजनेसका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले बाह्रखरीसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे । प्रत्येक वर्ष फरक–फरक थिममा फरक–फरक स्थानमा गल्फसँगै आर्थिक विषय जोडेकाले पनि आफ्नो उद्देश्यसँग बाह्रखरीको थिम मिलेको बताए ।
“आजको कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी छु, यो अवसरका निम्ति बाह्रखरी मिडियालाई धन्यवाद । खेलसँगै इकोनोमिक सिम्पोजियमसँगै लैजानु एनसेलको मुख्य लक्ष्यसँग मेल खान्छ,” चिफ कमर्सियल अफिसर मोहसिनले भने, “खेल मात्र नभई इकोनोमिक सिम्पोजियममार्फत देशको आर्थिक स्थितिबारे बहस चलाउँदै देशको अर्थतन्त्रलाई चलायमान बनाउन बाह्रखरीको यो कार्यक्रम महत्त्वपूर्ण छ । पछिल्लो केही वर्षयता बाह्रखरीसँग भइरहेको सम्झौतालाई फेरि निरन्तरता दिन पाउँदा एनसेल धन्यवाद व्यक्त गर्न चाहन्छ ।”
यस्तै, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले गल्फमार्फत खेल पयर्टनलाई पनि प्रवर्धन गर्ने प्रयास गरेको बताए । उनले यसमा सरकारले पनि गल्फमार्फत पयर्टन प्रवर्धन गर्न आवश्यक कदम चाल्नुपर्ने मत राखे ।
“सुरुआतमा बाह्रखरी गल्फको कुरा आउँदा यो कार्यक्रमले यसरी निरन्तरता पाउँछ भन्ने सोचेको थिइन् । गल्फ र आर्थिक परिसंवादलाई अघि बढाउनु भएको छ । यसलाई निरन्तर कायम राख्नुहोला । विश्वमा गल्फ कोर्सबाट पयर्टन भित्र्याउने देशहरू धेरै छन् । तर, नेपालमा १८ होलको गल्फ कोर्स एउटा मात्रै देखिएको छ,” घिमिरेले भने, “गल्फमा प्रोमेट गर्नुभन्दा सरकारले भएका गल्फ कोर्सलाई पनि विभिन्न कारणले किचलोमा ल्याइरहेको देखिन्छ । सरकारले पयर्टन बढाउने हो भने लामो समय जग्गा लिजमा लिएर गल्फ कोर्सलाई बढावा दिन आवश्यक छ । तपाईंहरूले देखाउनुभएको माया निरन्तरता रहोस् । बाह्रखरी गल्फ र इकोनोमिक सिम्पोजियमको अन्त्याधिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।”
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बाह्रखरीले गल्फ खेल र अर्थतन्त्रलाई जोडेको बताइन् । “बाह्रखरीसँग सहकार्य गर्न पाउँदा साइमेक्स एकदम खुसी छ । बीवाईडी आफैँमा एउटा इनोभेसन हो । नेपाली खेलजगतमा निराशाको भावना बढ्दै जाँदा बाह्रखरीले मिडिया भएर पनि ठूलो खेल कार्यक्रम आयोजना गर्न सक्छ भन्ने सन्देश दिएको छ,” उनले भनिन्, “यो कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । मिडिया भएर पनि खेलमार्फत आर्थिक उन्नतिमा अग्रसर गर्न सकिन्छ भन्ने सन्देश दिँदै यो कार्यक्रम गर्नु ठूलो महाकुम्भ हो जस्तो लाग्छ । यो महाकुम्भमा हामीलाई स्थान दिनुभएकोमा धेरै धन्यवाद । यो इभेन्ट अझै धेरै अघि बढोस् भन्ने शुभकामना दिन चाहन्छु ।”
नेपाल डिस्टिलरिज प्रालिकी मार्केटिङ हेड सुदीक्षा अधिकारीले गल्फ र खुकुरी रम स्वभावले मेल खाने जनाउँदै बाह्रखरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् । “यहाँ उपस्थित हुन पाउँदा गौरवान्वित महसुस भएको छ । हामी बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियमसँग सहकार्य गर्दैछौँ । गल्फ र खुकुरी स्वभाविक रूपमा नै मेल राख्छन् । गल्फका मान्यतालाई खुकुरी रमले पनि आत्मसात गरेको छ,” उनले थपिन्, “हामी स्वदेशी उदोग भएकाले नेपाली अर्थतन्त्रमा केही टेवा पुर्याएका छौँ । इकोनोमिक सिम्पोजियमजस्तो महत्त्वपूर्ण कार्यक्रममा योगदान पुर्याउनु हाम्रो कर्तव्य पनि हो । आगामी दिनमा खेल र अर्थतन्त्रमा दुवैमा यसरी नै सहकार्य जारी राख्नेछौँ । गल्फ र इकोनोमिक सिम्पोजियमका निम्ति बाह्रखरीलाई शुभकामना ।”
गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले नेपालमा थुप्रै प्रतियोगिताहरू हुने भए पनि बाह्रखरी गल्फले खेलाडीहरूमा छुट्टै उत्साह थप्ने बताए ।
“नेपालमा गल्फका धेरै प्रतियोगिताहरू हुन्छन् । तर, पनि बाह्रखरी गल्फ हुँदै गर्दा खेलाडीहरूमा म यो प्रतियोगितामा छुट्छु की भन्ने पर्न जान्छ । खेलाडीहरू यस प्रतियोगितामा सहभागिता हुन उत्सुक रहन्छन्,” आचार्यले भने, “यसले पनि यस प्रतियोगिताको स्तर प्रष्ट हुन्छ । विकसित राष्ट्रहरूले पयर्टन बढाउन गल्फमा विशेष ध्यान दिइरहेको पाइन्छ । देशको आर्थिक विकासका निम्ति गल्फमार्फत पयर्टनमा वृद्धि गर्न सकिने कुरामा सरकारले पनि ध्यान दिन आवश्यक छ । गल्फसँग जोड्नु भएकोमा बाह्रखरी परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।”
यसैगरी बाह्रखरी मिडिया प्रालिका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले गल्फमा अन्तर्राष्ट्रिय खेलाडी आफ्नै खर्चले प्रतियोगितामा सहभागी हुने बताए । उनीहरू प्रतियोगितामा सहभागी भएर फर्कने बताए । “गल्फमा नेपालमै बस्दै आएका विदेशी खेलाडीदेखि स्वदेशी खेलाडी पनि सहभागी हुनुहुन्छ । उहाँहरूलाई हामीले खर्च गरेर ल्याउँदैनौँ, आफैँ आउनुहुन्छ,” प्रधानले भने ।
आर्थिक परिसंवादलाई खेलसँग जोड्नुपर्ने आवाज सम्मेलनमा उठेको थियो । तर, आर्थिक क्षेत्रमा समस्या निम्तिने र यही क्षेत्रका समस्याहरूलाई जनमानससम्म पुर्याउनुपर्ने भएकाले आर्थिक संवादलाई नै जोड दिएको बताए । आगामी दिनमा छुट्टै खेलसँग सम्बन्धित भएर पनि यस्ता संवाद गर्न सकिने प्रधान सम्पादक प्रधानको भनाइ छ ।
एनसेल फर बिजनेसले नेपालको बिजनेस कम्युनिटीलाई उच्तस्तरको विश्वस्तरिय सेवाहरू र कनेक्टिभिटीलगायत डिजिटाइजेसनका लागि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ ।
त्यसैगरी, विद्युतीय गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज् प्रालि कार्यक्रममा ‘इन एसोसिएसन विथ’ अर्थात् प्रमुख सहकार्य कम्पनी रहेका छन् ।
साइमेक्स इंक बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा अघिल्लो वर्ष पनि प्रमुख साझेदार कम्पनी रहेको थियो ।
त्यसैगरी, जोनी वाकर (आधिकारिक बिक्रेता ग्लोबल ट्रेडिङ कन्सर्न), नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स, माटो नेपाल र अजया डाइमन्डले यसपल्टको कार्यक्रम सफल बनाउन सहकार्य गरेका छन् ।
ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स र अजया डाइमन्डले विगतका वर्षमा पनि सहकार्य गर्दै आएका छन् । यस वर्षदेखि खुकुरी रम, जोनी वाकर, नबिल बैंक, माटो नेपालसँग सहकार्य बढाइएको बाह्रखरीले जनाएको छ ।
यस कार्यक्रममा स्वदेशी तथा विदेशी गरी करिब १२० जना कर्पोरेट गल्फरको सहभागिता रहनेछ ।