-1731066019.jpg)
काठमाडौं । वैदेशिक रोजगारीमा जान पछिल्लो आठ महिनामा पाँच लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना अर्थात् २०८१ साउनदेखि फागुन मसान्तसम्म उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १४.१७ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा चार लाख ६८ हजार १३५ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ६६ हजार ३३६ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागले जारी गरेको विवरण अनुसार, २०८१ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा चार लाख ७४ हजार १४७ जना पुरुष र ६० हजार ३२४ जना महिला छन् ।
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.२८ प्रतिशत संख्या महिलाको छ । विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ८०८ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।