site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाल सुधारगृह तनावग्रस्त, आपसमा झगडा, गरे आगजनी

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा दुई समूहबीच कुटाकुट भएको छ । त्यहाँ रहेका बालबन्दीबीच झगडा भएको हो । त्यसक्रममा केही बालबन्दी घाइते भएका जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बालबन्दीबीच शुक्रबार (चैत १) राति नै कुटाकुट भएको थियो । त्यसक्रममा ६ जना घाइते भएका थिए । शनिबार अरू केही बालबन्दी घाइते भए । नेपालगन्जस्थित भेरी अस्पतालमा हाल ४९ बालबन्दीको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मराज जोशीले जानकारी दिए ।

“राति उनीहरूले आपसमा झगडा गरेछन् । आपसमा झगडा गर्ने, भित्र कसैलाई जाने नदिने, पूरै सुधारगृह नै उनीहरूले कब्जा गरेका रहेछन्,” उनले बाह्रखरीसित भने ।

उक्त सुधारगृहमा कुल २५५ बालबन्दी राखिएको थियो । त्यहाँ सादा पोसाकमा १२ प्रहरी खटिएका थिए । सुरक्षार्थ खटिएका प्रहरीलाई पनि बालबन्दीले लखेटेको उनको भनाइ छ ।

शनिबार बिहान सुधारगृहबाहिर थप प्रहरी परिचालन गरिएको थियो । त्यसपछि केही बेर स्थिति तनावग्रस्त बनेको उनले बताए ।

सीडीओ जोशीका अनुसार, बाहिर प्रहरी पुगेपछि बालबन्दीले सुधारगृहमा आगजनी गरेका थिए । उनीहरूले त्यहाँ तोडफोड, कुर्सी–टेबुल फाल्ने कार्य गरे । “आगजनी गरेर आफू छतमा बसे, ढुंगामुढा गरे,” उनले भने, “त्यहाँ जेजे छ, कुर्सी–टेबलले हिर्काए (प्रहरीलाई) । भित्र जान दिएनन् । केही बेर तनावग्रस्त भयो ।”

बालबन्दीले सुरक्षाकर्मीको एउटा स्कुटर पनि चलाइदिए । त्यसक्रममा तीन प्रहरी र तीन सञ्चारकर्मी पनि घाइते भएका उनले जानकारी दिए । घाइते प्रहरी भेरी अस्पतालमै उपचाररत छन् । सामान्य चोट लागेका सञ्चारकर्मीले आफूहरू अस्पतालमा उपचार गराउनुपर्ने अवस्थामा नरहेको बताएका छन् ।

शनिबार करिब तीन घण्टा त्यहाँ स्थिति असामान्य थियो । बाल सुधारगृहभित्र प्रहरी प्रवेश गर्न पाउँदैन । तर, स्थिति असामान्य बनेपछि प्रहरी प्रवेश गरेको उनले बताए । “उनीहरू बाहिर नआउने, भित्र बसिरहने, आगजनी हुने र जलेर मर्ने स्थिति भएपछि भित्र गएर उद्धार गर्नुपर्ने अवस्था आयो,” उनले भने, “आगलागी (आगजनी)बाट एउटा तलामा क्षति पुगेको छ ।”

शनिबार बिहान करिब ११ बजे सुधारगृहमा बालबन्दीले आगजनी गरेका थिए । आफू सवा ११ बजेतिर त्यहाँ पुग्दा आगजनी भइसकेको सीडीओ जोशीले बताए । पछि दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

सुधारगृहका तीनमध्ये आगजनी गरिएको एउटा तलामा तत्काल बस्ने अवस्था छैन । त्यहाँका अरू बालबन्दीलाई सुधारगृहकै चौरमा प्रहरी घेरामा राखिएको छ ।

अस्पतालमा उपचार गराइरहेका बालबन्दीमध्ये धेरैलाई सामान्य चोट लागेको छ । एकजनाको अवस्था गम्भीर रहेको उनले बताए । अवस्था जटिल नभएका बालबन्दी शनिबारै ‘डिस्चार्ज’ हुने उनको भनाइ छ ।

अस्पतालबाट डिस्चार्ज हुने र प्रहरीको सुरक्षा घेरामा रहेका केही बालबन्दीलाई बाँकेकै अर्को सुधारगृहमा स्थानान्तरण गरिने उनले बताए । “१८ वर्ष पूरा भएका र एक/दुईजना १८ वर्षमुनिका पनि छन्, आजै ७०/८० जनालाई बाँकेकै नौबस्ता सुधारगृहमा लैजान्छौँ,” उनले भने, “त्यहाँ (जयन्दु बाल सुधारगृह) लगिए फेरि लफडा हुनसक्छ । त्यहाँ एउटा तलामा बस्ने अवस्था पनि छैन ।”

कुटपिटका क्रममा केही बालबन्दी सुधारगृहबाट बाहिर निस्किएका थिए । तर, पछि उनीहरू सुधारगृहभित्र गएका र कोही पनि सम्पर्कभन्दा बाहिर नरहेको सीडीओ जोशीले बताए ।

सुधारगृहमा रहेका केही बालबन्दीले लागुपदार्थ सेवन गरेका हुन सक्ने प्रशासनको आशंका छ । अस्पतालमा उपचाररतमध्ये केही यस्ता आशंकित बालबन्दी पनि हुन् ।

बाल सुधारगृहभित्र शंकास्पद लागुऔषधलगायत सामग्री भेटिएको र त्यो पुष्टि हुन बाँकी रहेको उनले जानकारी दिए । हाल सुधारगृहको स्थिति नियन्त्रणमा रहेको उनले बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro