
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको लागि आफू तयार रहेको बताएका छन् । तर उनले यसका लागि केही कडा सर्तहरू अघि सारेका छन् ।
राष्ट्रपति पुटिनले विवादको एउटा क्षेत्र कुर्स्क रहेको बताएका छन् । जहाँ युक्रेनले गत वर्ष सैन्य घुसपैठ गरेको थियो । त्यस समयमा युक्रेनले केही भाग कब्जा गरेको थियो ।
“रुसले कुर्स्कलाई पूर्णरूपमा नियन्त्रणमा लिएको छ । युक्रेनी सेनालाई अलग्गै राखेको छ,” पुटिनले भने, “कुर्स्कमा युक्रेनसँग दुई विकल्प छन् । या त आत्मसमर्पण गर अथवा मर ।”
युक्रेनले अमेरिकासँगको वार्ताका क्रममा ३० दिने युद्धविराम योजनामा सहमति जनाएको थियो । राष्ट्रपति पुटिनले युक्रेनको प्रतिक्रियाको सन्दर्भमा युद्धविराम सम्झौतासँग सम्बन्धित केही पक्षअगाडि सारेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति पुटिनको योजनालाई ‘षड्यन्त्रपूर्ण’ भनेका छन् । युक्रेनी राष्ट्रपतिले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरे ।
यसैबीच, अमेरिकाले तेल, ग्यास र बैंकिङ क्षेत्रको सम्बन्धमा रुसमाथि थप प्रतिबन्ध लगाएको छ ।
बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले युद्धविराम घोषणाको बारेमा भने, “युद्धविराम गर्ने विचार सही छ । हामी यसलाई समर्थन गर्छौं । तर, केही प्रश्नहरू छन् जुन हामीले छलफल गर्न आवश्यक छ ।”
पुटिनले यो युद्धविरामले शान्ति स्थापना गर्नुपर्ने बताएका छन् । संकटका मूल कारणहरू सम्बोधन गर्नुपर्ने उनले बताएका छन् ।
उनले अमेरिकी सहयोगीहरूसँग कुरा गर्नुपर्ने भन्दै भने, “सायद म डोनाल्ड ट्रम्पसँग कुरा गर्नेछु ।”
पुटिनले ३० दिनको युद्धविराम युक्रेनको लागि राम्रो हुने पनि बताएका छन् । बीबीसी