
काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कको विद्युतीय सवारी (ईभी) कम्पनी टेस्लाको सेयरमूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा मस्क सामेल भएयता लगातार सातौँ हप्ता टेस्लाको सेयरमूल्य घटेको हो ।
गएको शुक्रबार टेस्लाको सेयरमूल्य २७०.४२ अमेरिकी डलरमा बन्द भएको थियो ।
सार्वजनिक कम्पनी भएयता १५ वर्षको इतिहासमा टेस्लाको सेयरमूल्य पहिलोपटक यसरी लगातार घटेको हो ।
यसअघि, गत नोभेम्बर ५ मा अमेरिकी आम निर्वाचनको दिन टेस्लाको सेयरमूल्य २५१.४४ अमेरिकी डलरमा बन्द भएको थियो । त्यसपछि डिसेम्बर १७ मा टेस्लाको सेयरमूल्य हालसम्मकै उच्च ४८० अमेरिकी डलर पुगेको थियो । त्यसयता पछिल्लोपटक लगातार सात हप्तासम्म सेयरमूल्य घटेसँगै कम्पनीले ८०० अर्ब अमेरिकी डलर बजार मूल्य गुमाएको छ ।
टेस्लाको सेयरमूल्य घट्दै गएपछि यसै साता बैंक अफ अमेरिका, बेयर्ड र गोल्डम्यान साक्सलगायतले टेस्लाको मूल्य प्रक्षेपण घटाएका छन् ।
टेस्लाका गाडीको बिक्री घट्नु, मस्कले सस्तो मोडलका गाडी घोषणा नगर्नु र चिनियाँ ब्रान्डको प्रतिस्पर्धा बढ्नुलगायत कारणले टेस्लाको सेयरमूल्य घटेको अनुमान छ ।
मस्कले ट्रम्प प्रशासनमा सरकारी प्रभावकारिता विभागको जिम्मेवारी सम्हाल्दै विभिन्न निर्णय गरिरहेका छन् । यस्ता राजनीतिक गतिविधिका कारण मस्क आलोचित बनेका छन् भने उनका कम्पनीप्रतिको सकारात्मक धारणमा कमी आएको छ ।
सीएनबीसीबाट ।