
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिएकी छिन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले महिला अधिकार र समानताको सवालमा नेपालले उल्लेख्य प्रगति गरिरहेको उल्लेख गर्दै संविधानले संघीय संसद् तथा प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको बताइन् । साथै, ग्रामीण तथा सीमान्तकृत महिलाको क्षमता अभिवृद्धि गर्दै किशोरीको भविष्य सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।
महिला सशक्तीकरणका क्षेत्रमा नेपालले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको उल्लेख गर्दै उनले अझै धेरै सुधार आवश्यक रहेको बताइन् । “आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न भइरहेका छन् । त्यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ,” उनले भनिन् । उनले महिलाको हक, अधिकार र सशक्तीकरणका लागि थप योगदान दिने प्रतिबद्धता जनाइन् ।
परराष्ट्रमन्त्री देउवाले महिलाका लागि प्रजनन तथा मानसिक स्वास्थ्यमा सहज पहुँचको व्यवस्था गर्नुपर्ने, आत्मनिर्भर बनाउन ऋण, प्रविधि तथा सीप विकासका कार्यक्रमहरू आवश्यक रहेको र जलवायु परिवर्तनका असरबाट महिलाहरू बढी प्रभावित भएकाले सरकार गम्भीर हुनुपर्ने बताइन् ।
बेइजिङ घोषणा र कार्ययोजनाले महिला अधिकार तथा कानुनी संरक्षणका सवालमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले नेपालका महिलाले प्राप्त अवसरलाई सफलता दिलाउन भूमिका निर्वाह गरिसकेको बताइन् । “नेपाली महिला परिवार, समाज र राष्ट्रकै नेतृत्वकर्ताका रूपमा स्थापित भइसकेका छन्, तर पनि नारी अधिकारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ,” उनले भनिन् ।
मन्त्री देउवाले नारी समानता, न्याय र हिंसा उन्मूलनको अभियानमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह समेत गरेकी छिन् ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ‘महिला अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।