site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऋणको बेसरेट कायम हुँदा लघुवित्तका ग्राहकलाई सहज हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी जेठदेखि कायम हुनेगरी लघुवित्त संस्थाहरूलाई कर्जाको ब्याजदर आधारदर (बेसरेट)सँग आवद्ध गर्ने नीति लिएको छ । तरलता सहज हुँदै जाँदा पनि लघुवित्तका ऋणीहरूले महँगो ब्याज तिरिरहनुपर्ने अवस्था सृजना भएपछि राष्ट्र बैंकले यो नीति लिएको हो ।

तर, यो नीति तत्कालै लागु हुँदैन । हाल राष्ट्र बैंकले लघुवित्तलाई बेसरेटसम्बन्धी व्यवस्था लागु गर्न आन्तरिक गृहकार्य गरिरहेको छ । "लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ," २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

राष्ट्र बैंकले दिएको उक्त नीति ग्राहक र लघुवित्त संस्थाका लागि नै फाइदा हुने विज्ञहरूको बुझाइ छ । राष्ट्र बैंकले जेठदेखि कायम गर्न लागेको लघुवित्तको बेसरेटसम्बन्धी व्यवस्था वैज्ञानिक विधिमै रहेको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका उपप्रध्यापक डा. भरतसिंह थापा बताउँछन् । बजारको माग र आपूर्तिअनुसार ब्याजको निर्धारण हुने हुँदा हालको १५ प्रतिशतको क्याप सधैँका लागि उपयुक्त नहुने उनको भनाइ छ ।

“बेसरेट कायम गर्ने विधि पनि एक किसिमको क्याप नै हो । तर, धेरै वैज्ञानिक छ,” थापाले बाह्रखरीसित भने, “ब्याजदर ७/८ प्रतिशतमा आएको बेला पनि लघुवित्तका ऋणीहरूले १५ प्रतिशत नै तिरिरहेका छन् । यतिबेला लघुवित्तले १० प्रतिशतमा पनि ऋण दिन सक्छन् ।”

बेसरेटसम्बन्धी व्यवस्थाले लघुवित्तको दीगोपनालाई मद्दत गर्ने र ग्राहकहरूलाई पनि सहजता दिने डा. थापाको बुझाइ छ ।

राष्ट्र बैंकले आधारदरभन्दा सटेन प्रतिशत प्रिमियम थप हुने व्यवस्था गर्न गृहकार्य गरिरहेको छ । लघुवित्तले अहिले १०/११ प्रतिशतमा नै ऋण दिन सक्ने क्षमता हुँदा पनि १५ प्रतिशत तिर्नुपर्दा उनीहरूलाई अन्याय भएको थापा बताउँछन् । “यसअघि तरलता अभाव भएका बेला लघुवित्त संस्थाहरूले १५ मा कर्जा सापटी गरेर १५ प्रतिशतमै पनि ऋण दिए । यसरी दिँदा लघुवित्त संस्थाहरू घटामा गए र संस्थाको दिगोपनमा पनि प्रश्न आयो,” थापाले भने ।

लघुवित्तहरूले पनि मार्केटमा खुल्ला ब्याजदर कायम गर्न माग गर्दै आएका थिए । सो मागलाई राष्ट्र बैंकले सम्बोधन गरेकाले आगामी दिनमा लघुवित्त संस्था र ग्राहकलाई नै सहज हुने नेपाल लुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव बताउँछन् । “बेसरेटमा लघुवित्तलाई जाउ भनेको छ । यो भनेको मार्केटमा ब्याजदर सस्तो हुन्छ, कस्टअफ फन्ड सस्तो हुन्छ, जतिखेर तरलता सहज हुन्छ, त्यो बेला ब्याजदर कम हुन्छ,” यादवले भने, “अहिले बैंकहरूले अभ्यास गरेको व्यवस्था हो । यो निर्णय ग्राहक र संस्थाका लागि दीर्घकालीन हित छ ।”

हाल लघुवित्तको ब्याजदरमा १५ प्रतिशतको क्याप छ । जेठदेखि लघुवित्तमा पनि बैंकहरूमा जस्तै ब्याजदर बजारले निर्धारण गर्नेछ । प्रिमियम कतिसम्म जाने भनेर अहिले राष्ट्र बैंकले गृहकार्य गरिरहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro