
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएलगत्तै अस्ट्रेलियाका म्याट रोसले भने, "साफ च्याम्पियनसिप जिताउने लक्ष्य छ ।"
हुन पनि नेपाली टिमले हालसम्म दक्षिण एसियाको विश्वकप मानिने दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को उपाधि जित्न सकेको छैन । सन् १९९३ मा सार्क गोल्डकपबाट सुरु भएको प्रतियोगितामा नेपाली टिमले हालसम्म एकपटक मात्र फाइनलमा प्रतिस्पर्धा गरेको छ ।
अस्ट्रेलियाका ४७ वर्षीय रोसको प्रशिक्षण करियर २० वर्ष लामो छ । सन् २००७ देखि प्रशिक्षण करियरमा होमिएका रोसले त्यसयता अस्ट्रेलिया, युरोप र एसियाका विभिन्न टिमसँग सहकार्य गरिसकेका छन् ।
जर्मनीको टोली एइन्ट्राच्ट फ्रांकफर्टको युवा र महिला टिमको प्रशिक्षण सम्हालेका उनले सोही क्लब सिनियर टिममा भिडियो एनालिस्टको रुपमा पनि काम गरेका छन् । चीनको यू–१५ टोलीको नेतृत्व सम्हालेका उनी नेपाल आउनुअघि युनाइटेड अरब इमिरेट्स (यूएई)को शीर्ष डिभिजन क्लब युनाइटेड एफसीको सहायक प्रशिक्षकको भूमिकामा थिए ।
नेपाली फुटबल माहोलबाट प्रभावित रोस
आइतबार नेपाली टिमको जिम्मेवारी पाएका रोसले एएफसी एसियन कप छनोटका निम्ति ३० सदस्यीय प्रारम्भिक टोलीसमेत डाकिसकेका छन् । आइतबार एन्फाबाट आधिकारिक रूपमा सार्वजनिक भए पनि उनी पछिल्लो एक महिनायता नेपालमै छन् ।
घरेलु मैदानमा भएको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाली महिला टिमको खेल नजिकबाट नियालेका उनी नेपाली फुटबलको माहोलबाट प्रभावित देखिए ।
“नेपालमा फुटबलप्रतिको लगाव अविश्वसनीय छ । नेपाली महिला टिम र म्यानमारबीचको फाइनलमा दर्शकको उपस्थिति रोचक थियो,” उनले भने, “नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको कार्यभार सम्हाल्ने अवसर पाएकोमा निकै हर्षित र सम्मानित महसुस भएको छ । मलाई अहिले म सही ठाउँमा आइपुगेको महसुस भएको छ ।”
रोस यसअघिका इटालियन प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको स्थानमा नेपाली टिमको जिम्मेवारीमा आएका हुन् । एनेससँगको सम्झौता नवीकरण नगर्ने निर्णयमा एन्फा पुगेपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो ।
एनेस सन् २०७९ को फागुनमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनी यसै वर्षको सुरुआतमा नेपाली टिमको जिम्मेवारीबाट मुक्त भएका थिए ।
पहिलो चुनौती एएफसी एसियन कप छनोट
रोसको प्रशिक्षणमा नेपाली टिमले यसै महिना सिंगापुरविरुद्ध मैत्रीपूर्ण र त्यसपछि एएफसी एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाविरुद्ध खेल्नेछ । नेपालले मार्च २१ मा सिंगापुरविरुद्ध उसैको मैदानमा एक मैत्रीपूर्ण खेल खेल्ने छ । लगत्तै नेपालले मार्च २५ मा मलेसियाविरुद्ध छनोटको खेल खेल्ने छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिकाअनुसार भए नेपाली टिमले रोसकै प्रशिक्षणमा जुन १५ देखि जुलाई २५ सम्म साफ च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछ ।