
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले यतिखेर धुलिखेल अस्पतालका चार चिकित्सकमाथि अनुसन्धान गरिरहेको छ । धुलिखेल अस्पतालको मनोचिकित्सा विभागमा कार्यरत एक आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेको विषयमा उनीहरूमाथि अनुसन्धान जारी छ ।
घटनाका विषयमा उजुरी परेका चिकित्सकको बयान भइरहेको र चाँडै प्रतिवेदन तयार गरिने काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले बताए । “आज (फागुन १८) पनि उहाँहरू बयानका लागि उपस्थित हुनुभएको छ, हामी चाँडोभन्दा चाँडो प्रतिवेदन निकाल्ने तयारीमा छौँ,” उनले बाह्रखरीसित भने ।
उनीहरूलाई अस्पताल प्रशासनले सात दिनका निम्ति निलम्बन गरेको छ । अनुसन्धानमा तानिएका चिकित्सकलाई सात दिनसम्म कामकाजमा रोक लगाइएको अस्पतालले जनाएको छ ।
निलम्बित चिकित्सकमा अस्पतालको मनोचिकित्सा विभाग प्रमुख डा. अजय रिसाल, सोही विभागमा कार्यरत डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रीका रिजाल छन् ।
के थियो घटना ?
यही फागुन ४ गते काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सअन्तर्गतको मनोचिकित्सा विभागमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत एक आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेकी थिइन् । सहकर्मीका अनुसार, कार्यरत विभागभित्रको कार्यबोझ र सिनियरहरूको दुर्व्यवहारका कारण उनी तनावमा थिइन् ।
धुलिखेल अस्पतालकै आईसीयूमा तीन दिन उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो । घटनापछि उनीमाथि ‘बुलिङ’ र पटक–पटक थप मानसिक दबाबका व्यवहार विभागका अरू चिकित्सकबाट भएको पीडित पक्षको आरोप छ ।
सोही घटनामा अनुसन्धान र दोषीमाथि कारबाही नभएको भन्दै अस्पतालका आवासीय चिकित्सकले घटनाको सातौँ दिनमा विभागको सेवा बन्द गराएका थिए ।
गएको बिहीबार (फागुन १५) चिकित्सा शिक्षा आयोगले केयूलाई घटनाबारे छानबिन गर्न निर्देशन दिएको थियो । आयोगले केयूका उपकुलपतिलाई पत्र लेख्दै समस्या समाधान गर्न निर्देशन दिएको थियो ।
घटनाका विषयमा उजुरी परेपछि काउन्सिलले अनुसन्धान अघि बढाएको थियो । काउन्सिलको अनुसन्धान टोलीले स्थलगत अध्ययन गरेपछि नै निलम्बनको निर्णय गरिएको रजिस्ट्रार डा. देवले जननकारी दिए ।
के भन्छ अस्पताल ?
धुलिखेल अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन भइरहेको जनाएको छ । अस्पतालले सूचनामार्फत घटनाबारे माफी मागिसकेको छ ।
काउन्सिलको निर्णयानुसार विभागका चार चिकित्सकलाई सात दिनसम्म अस्पतालको चिकित्सकीय काम–कारबाहीमा संलग्न नहुन निर्देशन दिइएको प्रशासनले जनाएको छ ।
काउन्सिलको प्रतिवेदनानुसार दोषीमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता अस्पतालका निर्देशक डा. बलराम मल्लले जनाएका छन् । भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा व्यवस्थापकीय गृहकार्य समेत गरिरहेको उनी बताउँछन् ।