
माघ महिना निख्रँदो थियो । यत्रतत्र कुम्भमेलाको चर्चाले मेरा कान पनि ठाडाठाडा भएका थिए । गीताजी (श्रीमती)लाई कुम्भमेला र मेरो कान ठाडा भएका कुरा भन्न मात्र के भ्याएको थिएँ, उनको सक्रियता तुफानी गतिमा दौडिन थाल्यो । जाने नै भए पनि चुस्तदुरुस्त टिम बनाई जाने कि भन्ने मेरो सोचाइलाई गीताजीको तुफानी रफ्तारको सूचनाले पूर्णविराम लगाइदियो ।
एकदुई गर्दागर्दै जम्बो टोली तयार भयो । जम्बो टोली अट्नका लागि यातायातको जम्बो साधन नै आवश्यक आकलन गरेँ । तथापि, यात्राका पथप्रदर्शकजीलाई सम्पर्क गर्दा उनी त बिन्दास कुम्भयात्रामै रहेछन् ! मस्त पनि यति धेरै थिए कि सबै कुरालाई हल्काफुल्का लिइदिए । र, भन्दै थिए– हामीसँग त उनी सुनौलीमा मात्र भेट्ने रे !
सहयात्रीमध्येका एक युवा माधव नेपालको दह्रो साथ र विश्वासले हामी जम्बो टोलीलाई लिई जान सक्छौँ भन्नेमा ढुक्क थियौँ ।
आखिर जाने दिन आइ नै हाल्यो । २०८१ फागुन ४ गते चालक दलका ३ सदस्यसहित ४३ जनाको टोली प्रयागराजका लागि प्रस्थान गर्यौँ । बसमा बसिसकेपछि सहयात्रीको अनुहार नियालेँ, ३०–३५ वर्षे भर्खरका युवादेखि ७०–७५ वर्षका पाकेका वृद्धाहरू पनि थिए ।
‘ए मेरी बाबै ! यसपटक पनि विगतमा जस्तै प्रयागराजमा भागदौड भयो भने यी वृद्धाहरूलाई कहाँ ओत लगाउने होला ?’ मन चसक्क भयो । ठूलो सास फेरेँ । आशा–भरोसा परमात्मालाई नै छोडिदिएँ ।
पहिलो दिनको विश्रामका लागि सुनौली पुगियो । होटेल र खानाको प्रबन्ध हेर्दा किन प्रयागराज पुग्नुपर्यो, कुम्भमेला त यतै पो रहेछ भन्ने बनायो । जसका कारणले प्रयागराज जानका लागि उत्साहित भएका थियौँ, उनै पथप्रदर्शक सुनौलीमा मिलिक्क भए । जे होस्, उनी पनि टोलीमा सहभागी हुने भए ।
जसोतसो भैरहवामा रात काटियो । बिहान सखारै गोरखपुरतिर यात्रा सोझियो । नौतनवाबाट केहीअगाडि मात्र बढिएको थियो, रोड ट्याक्स तिर्नका लागि लामै समय खर्चिनुपर्यो ।
पथप्रदर्शकजी ट्रोल ट्याक्सको क्यूआर बनाउनतिर लागे । अन्त्यमा डेढ घण्टाको छिनाझपटीपछि विनाक्यूआर लुरुक्क रमाना भयौँ । पथप्रदर्शक सानो गाडीमा आगेआगे र हामी ठूलो गाडीमा पिछेपिछे हुँदै एउटा ढावामा गाडी रोक्न लगाए । उनीसहित ४४ जनालाई खाना बनाई खाँदा दिनको ३ नै बज्यो ।
आज भगवान् श्रीरामजीलाई भेट्न अयोध्या जाँदै थियौँ, तर अनावश्यक रूपमा बाटोमा तीन घण्टा खेर गइसकेको थियो । अयोध्या कतिखेर पुग्ने होला ? मनभित्र प्रश्न थियो ।
बुटवलबाट अयोध्या दर्शन गरेर साँझ बुटवल नै फर्कन सक्ने जम्मा १८८ किमिको यात्रालाई भरदिन लगाउँदा पनि झमक्कै साँझ पर्दा मात्रै अयोध्या पुगियो । हतारहतार सानोसानो समूह बनाएर भगवान् श्रीरामको जन्मस्थानतिर लागियो ।
‘हे भगवान्, यहाँ देखिएका मानिस नै हुन् त !’ जस्तो लाग्यो । कति हो कति मानिसको भीड । मानिसका टाउका मात्रै देखिए ।
हामी पनि समूहका साथ त्यही भीडमा हेलियौँ । हिँड्नलाई कुनै शक्ति लगाउनु पर्दैन, त्यही भीडले ठेलेको ठेलै छ । धेरै भन्ज्याङ पार गरेपछि एउटा विशिष्ठ चित्रकलाको सौन्दर्यले भरिपूर्ण भव्य महलभित्र छिर्यौं ।
यो नवीनतम अयोध्या मन्दिरको कसरी वर्णन गरौँ र ! बाटोमा राखिएको डिजिटल भगवान् श्रीरामजीको मूर्तिको आकर्षणले जिउ जिरिङ्ङ फुलेको झैँ लाग्दै छ । यति आनन्दित बनाएको छ कि शरीरको कणकणमा नशा पसेजस्तो ।
अन्त्यमा भगवान् श्रीरामजीको विशाल मूर्तिका सामुन्ने पुगियो । भगवान्को शक्तिले हो वा म आफैँ लजाएर हो, मूर्तिसँग आँखा जुधाएर धेरै बेर टिक्नै सकिनँ ।
सुरक्षाकर्मीले धपाउँदा धपाउँदै अनायास मेरो मुखबाट प्रेमिल शब्द निस्कियो, ‘कति सुन्दर र तेजस्वी हाम्रा भिनाजु, दिदी सीता कता हुनुहोला कुन्नि !’
‘हाम्रा भिनाजु’ शब्दैसँगै ढक्क र गर्विलो भएको छाती बोकेर पूर्ण सन्तुष्टिका साथ बाहिर निस्कियौँ । मनलाई सन्तुष्ट बनाए पनि आँखालाई तृप्ति मिलेको रहेनछ । घरीघरी पछाडि फर्कंदै आँखा फर्काइफर्काइ उनै श्रीरामजीको भव्य महललाई हेर्दै रहेँ ।
अघि हनुमान मन्दिरको प्रांगणमा जुत्ताको रास देखिएको थियो । किन होलाझँै लागे पनि श्रीरामजीसँग साक्षात्कार गर्ने हतारोले धेरै चासो राखिनँ । अहिले जिउ लखतरान भएपछि बल्ल सम्झिएँ– अरूलाई पनि यस्तै भएर त होला, फर्केर चप्पलजुत्ता उन्ने जाँगर नभएको ।
तर, हामीले चाहिँ जति गले पनि चप्पल उनेरै फर्कियौँ । थाकेको शरीर र गलेको खुट्टा बोकेर दिदीभिनाजुको पटांगिनीमा रहेको होटेलमा खाना खाईवरी घडी हेर्दा अनुभव भयो, ६ घण्टा लागेछ भगवान् श्रीरामजीसँग साक्षात्कार गर्नका लागि ।
अयोध्याको सरयू नदीमा रहेको गुप्तारघाट । भनिन्छ, यही घाटबाट भगवान् श्रीरामजीले जल समाधि लिएर वैकुण्ठ जानुभएको थियो रे ! उक्त घाटमा स्नान गरेर मात्र श्रीरामजीको दर्शन गर्ने चलन रहे पनि हामीले भने समयलाई पछ्याउँदा त्यसो गर्न सकिएन । बस्, भगवान् श्रीरामजीको दर्शन गरियो ।
आज २०८१ साल फागुन महिनाको ६ गते मंगलबार । आज अयोध्याबाट प्रयागराज पुगेर स्नान गर्ने तालिका छ । जम्मा १६४ किमि दूरी र ४–५ घण्टाको यात्रा ।
त्यहाँ स्नान गरी भोजन गर्ने सल्लाहबमोजिम बिहान ७ बजे निस्कियौँ । जिउमा काउकुती लागेजस्तो भएको छ, गंगा, जमुना र सरस्वतीको संगममा स्नान गरेको मिठो कल्पनाले शरीर चंगाजस्तो भएको छ । तर के गर्नु, बाटोभरि गाडीको लाइनले क्षणभरमा नै मनको कल्पनारूपी सागर भताभुंग बनाइदियो ।
अब एकोहोरो गाडीको कर्कश घ्यारघ्यारे आवाज सुन्नुभन्दा अरू विकल्प थिएन । र पनि समयलाई सदुपयोग गर्दै स्थानीय बजारमा पाइने खानेकुरा खाँदै जाम खुल्ने प्रतीक्षा गरिबस्यौँ ।
सडक जाम हुने र खुल्ने गर्दै उज्यालै भन्नुपर्यो, दिनको ५ बजे १५ किमि वरै १ नम्बर बेला कठार भन्ने ठाउँको पार्किङमा गएर बस रोकियो । बाटोमा नै स्नान गर्न भनेर आवश्यक सामग्री भएको झोला बनाएका थियौँ । दिनकै उज्यालोमा संगम पुगिन्छ कि भनेर अटो लिएर हिँड्यौँ ।
अटोले बीचबाटोमै उतारिदियो । अब संगम पुग्न अझै ४ किमि बाँकी छ । मनमा अझै लाग्दै छ– मिर्मिरे उज्यालोमा भए पनि स्नान गर्न पाइने भयो । तर किन हुन्थो र ! जति हिँडे पनि आइपुग्दैन त संगम । हिँड्दा हिँड्दा लखतरान ! मान्छेमान्छेको भीडमा हराइने हो कि भन्ने डर पनि ।
दिदीबहिनीहरू खुट्टा उचालेर होइन, घिसारेर अगाडि बढ्दै छन् । जसोतसो राति ९ बजे संगममा पुगियो । पानी कस्तो छ नियालेर हेरेनौँ । पालैपालो झुम्लुङ्ङ संगममा डुबुल्की मार्दा सारा थकाइलाई यही गंगा, जमुना र सरस्वतीको काखमा छोडिदिएको जस्तो अनुपम आनन्द भयो । वास्तवमै आनन्द भयो ।
उप्रान्त शरीर चंगा भएको छ । दिदीबहिनीहरूले मनग्गै फोटो खिच्दै हामी फर्किंदा भयौँ । बाटो जाँदाजस्तो अत्यास लाग्दो भने भएन । बाटोभरि राखिएको अदरकबाली चायको चुस्की लगाउँदै बस राखिएको पार्कमा आइपुग्दा मध्यरात कटेर १ बजिसकेको थियो । यद्यपि, थकानको महसुस थिएन ।
कथाअनुसार, समुद्र मन्थनका क्रममा अमृतको कलश निस्कियो । कलश कसले लिने भन्ने विषयमा देवता र असुरबीच घमासान युद्ध भयो । युद्धमा अमृतको थोपा चारैतर्फ पोखिएको थियो । जहाँजहाँ अमृतको थोपा पोखियो, सोही स्थानमा नै कुम्भमेला लाग्ने गरेको हो भन्ने भनाइ छ ।
अर्थात्, समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए । सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्तले अकस्मात् अमृतको कलश लिएर भागे । दानवहरू कलश लिन जयन्तका पछि लागे ।
जयन्त भाग्दै जाँदा कलशबाट अमृतका केही थोपा चार ठाउँमा खसे । त्यसरी अमृत खसेका स्थानहरूमा नै महाकुम्भ हुने गरेको लोकोक्ति छ । ती स्थानहरू भारतको उत्तर प्रदेश राज्यको इलाहाबादमा रहेको प्रयागराज, मध्य प्रदेशमा रहेको उज्जैन, महाराष्ट्रमा रहेको नासिक र उत्तराखण्डमा रहेको हरिद्वार भएको मान्यता छ ।
नेपालको बराहक्षेत्र, चतराधाम, सुनसरीमा पनि २०५९ सालदेखि कुम्भमेला लाग्ने गरेको छ । केही ग्रन्थहरूका अनुसार, सत्ययुगमा पहिलो महाकुम्भ मेला भएको मानिन्छ । उक्त महाकुम्भमा शंकराचार्य पनि गएका थिए भन्ने विश्वास गरिन्छ ।
कुम्भमेला खगोलीय गणनाको आधारमा हुने गर्दछ । जब बृहस्पति ग्रह कुम्भ राशिमा प्रवेश गर्छ र सूर्य मकर राशिमा हुन्छ, सोही समयमा कुम्भमेला लाग्ने गर्दछ ।
कुम्भमेलाका सम्बन्धमा भागवत पुराणमा सविस्तार वर्णन गरिएको पाइन्छ । प्रयागराज र हरिद्वारमा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला पनि लाग्ने गर्दछ ।
प्रयागराज मेलामा आउनेहरूका लागि सुरक्षाको राम्रो व्यवस्था मिलाइएको थियो । सडकका ब्यानर, पोस्टर र बत्तीले प्रयागराजलाई नै झिलिमिली बनाएको थियो । संगमस्थलको दायाँबायाँ किनारमा बासका निम्ति अस्थायी टेन्ट बनाइएका थिए ।
मेलाको व्यवस्थापन चुस्तदुरुस्त भए पनि मान्छे नै मान्छेको भीडलाई नियन्त्रण गर्न सम्भव नभएकाले व्यवस्थापकीय वैभवलाई स्नान गर्न जानेहरूले खासै उपभोग गर्न भने पाएनन् होला, सायद । हामीले ती वैभवको उपभोग गर्ने प्रयत्न नै गरेनौँ ।
आज फागुन ७ गते । १२३ किमि परको बनारस यात्राका लागि हामी सखारै निस्कियौँ । बनारस जाँदा भने जाम खेप्नु परेन । समयमै पुग्यौँ । तर, यहाँ पनि मुख्य सहरभन्दा १६ किमि वरै गाडी रोकियो । त्यसैले अटो लिएरै सहरतिर रमाना भयौँ ।
बनारसस्थित भारत आश्रममा पुगेर फ्रेस भएर हामी गंगा स्नानका लागि घाटतिर लाग्यौँ । प्रयागराज र अयोध्यामा भेटिएका मानिसहरू यतै गुजुल्टिएका रहेछन् ! गंगाघाट पुग्नै समय लाग्यो ।
बनारस पुगेपछि गर्न मन लागेका कुरामा गंगा स्नान गरी विश्वनाथ बाबाको दर्शन गर्ने, केही घाटहरूको प्रत्यक्ष अवलोकन गर्ने, हिन्दु विश्वविद्यालयको विचरण गर्ने, नेपालका युगपुरुषहरू बीपी कोइराला, किसुनजी, गणेशमानजी, मनमोहनजीजस्ता हस्तीहरूले प्रतिबन्धित अवस्था बिताएका गल्लीहरूको विचरण गर्ने रहर थियो ।
बनारसको लड्डु खाएर पनि पछुताउने, नखाएर पनि पछुताउने भनेको के हो ? लड्डु चाख्ने, बनारसको पान खाने र स्थानीय लस्सी खाने इच्छा त निकैअघिदेखि पलाएको हो ।
तर, आधा दिनको बनारस बसाइ, त्यसैमाथि असंख्य मानिसको भीडमा कसरी हो व्यवस्थापन गर्ने ? ठूलो समस्या थियो ।
बनारस पुगिसकेपछि हरिश्चन्द्रघाट, दशाश्वमेदघाट, मणिकर्णिकाघाट कम्तीमा पनि जानुपर्छ है भनेर अग्रजहरूले भनेको सुनेको थिएँ । किनकि, यी घाटहरूको आ–आफ्नै विशेषता रहेको कुरा सुनिएको थियो ।
जस्तो कि कथाअनुसार, हरिश्चन्द्रघाट महाराजा हरिश्चन्द्रले महर्षि विश्वामित्रलाई आफ्ना जायजेथा दान दिएर देहत्याग गरेका घाट हो भनिन्छ । त्यस्तै, दशाश्वमेदघाटमा राजा दिवोदासले अश्वमेघ यज्ञ गरेका थिए रे !
काशीमै गएर थाहा भयो, मणिकर्णिकाघाट एउटा मुक्तिक्षेत्र नै रहेछ । जसको यस घाटमा दाहसंस्कार हुन्छ, उसले सिधै स्वर्गमा बास पाउँछ भन्ने जनविश्वास पनि रहेको भेटियो ।
हामीबाट कुरा बुझ्ने काम मात्रै भयो । समय दौडिरहेकोले केवल गंगाजीमा स्थान गरी त्यहीँबाट देखिएको विश्वनाथजीको गजुरलाई प्रणाम गर्दै बनारस बजार पस्यौँ ।
आधा घण्टा यताउता भौँतारिएपछि मात्रै खाने साइत मिल्यो । खाना खाएर निस्कनेबित्तिकै बनारसी पान खायौँ । आहा ! बनारसी पान त्यसै भनेका होइन रहेछ । पान त मुखमा राखेको पलभरमै बिलायो, सरर्र ।
दिदीबहिनीहरूलाई बनारसी साडीको गद्दीमा लगेर छोडिदियौँ र हामी भने उनीहरू हराउँछन् कि भनेर बाहिर पाले बस्यौँ । पाले बस्नु पनि कम्ता सास्तीको काम होइन । ती निस्कँदै निस्कँदैनन् त !
घुम्नुपर्ने ठाउँको चाङ थियो, तर साडीको गद्दीमै समय बिताइदिए । बल्लतल्ल साडीको गद्दस्बाट उठेर बनारसी लस्सी खाने ठाउँमा पुग्यौँ । खुवावाला लस्सीको स्वाद सानदार लाग्यो । अब खाने पालो बनारसी लड्डुको थियो ।
अझै काशी हिन्दु विश्वविद्यालय, नेपालका युगपुरुषहरू बसेका गल्लीहरू घुम्न बाँकी नै थियो । तर, समयले डाँडा कटाएपछि चाहेर मात्र के गर्नु !
आजलाई दिन यसै गयो, मनको धोको मनमै रहिगयो भन्दै अटोमा सरर्र बस राखिएको पार्किङमा जाँदा भयौँ । सायद परमात्माको इच्छा नै यस्तै थियो होला ! नमरी बाँचे कालले साँचे फेरि पनि आउन पाइएला नि भन्दै चित्त बुझायौँ ।
अबको यात्रा नेपाल फर्किने थियो । प्रयागराज संगम स्नान, श्रीरामजीको दर्शन र बनारसको विचरण गरी फर्किंदै गरेको भए पनि तृप्तिभित्रको अतृप्तिजस्तो मनमा चुलबुल भइरह्यो ।
उद्देश्यअनुरूप जानैपर्ने ठाउँहरू गएकै हो । सायद समय अलि कम भएकोले होला, मनमा असन्तोष थियो नै । आफ्नै मन त हो, विस्तारै थुमथुम्याएँ ।