
सिमसारा
(उपन्यास : बसन्त बस्नेत)
पत्रकार तथा उपन्यासकार बसन्त बस्नेतले तेस्रो कृति ‘सिमसारा’ केही समयअघि पाठकसामु पस्किएका छन् । यो उनको दोस्रो आख्यान र तेस्रो पुस्तक हो । उनका यसअघि उपन्यास ‘महाभारा’ र गैरआख्यान ‘७२ को विस्मय’ प्रकाशित छ ।
यो उपन्यासको ब्लर्बमा लेखिएको छ, “यो कथा हो, मूल खाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ । यो कथा हो, बुबा धनरूपको जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन ।...।”
फाइनप्रिन्टद्वारा प्रकाशित २८० पृष्ठको यो उपन्यासको मूल्य ६५०/– रुपैयाँ राखिएको छ ।
०००
नेपाल आमा
(कवितासंग्रह : पं. अग्निधर पौड्याल)
विराटनगर क्षेत्रका पुराना कवि पण्डित अग्निधर पौड्यालको कविताकृति ‘नेपाल आमा’को दोस्रो संस्करण ५२ वर्षपछि उनका नातिहरूले प्रकाशन गरेका छन् ।
पुस्तकमा कवि पौड्यालले लेखेका छन्, “श्रीमत् परमात्माको प्रेरणाबाट विभिन्न शीर्षकहरूमा कुनै प्रकृतिप्रेमी, कुनै धार्मिक पारमार्थिक एवं कुनै कर्तव्यपूर्ण कविताहरूको नेपाली भाषा आफ्नू परिश्रमद्वारा संकलन गरी तपाईंहरूको समक्ष सानु पुस्तिका रूपमा टक्र्याउन पाउँदा ईश्वरीय कृपा सम्झी प्रार्थना गर्दछु ।...।”
मन्तव्यमा मातृकाप्रसाद कोइरालाले लेखेका छन्, “पं. अग्निधर पौड्यालद्वारा रचित स्फुट कविताहरू हेर्ने सुन्ने अवसर पाएँ, उहाँका भावना सधर्मानुकूल छन् । वर्तमान युवा पुस्ताले रुचिकर नठहराए पनि आफ्ना संस्कार र संस्कृतिप्रति आस्था राख्नेलाई भने रुचिकर लाग्ला, जो कवितासंग्रह प्रकाश भएमा नेपाली साहित्यको फूलबारीमा एक फूलको थुँगो थपिने नै छ ।...।”
‘नेपाल आमा’ कृतिमा पं. पौड्यालद्वारा रचित १९ कविता पढ्न सकिन्छ । यो कविताकृति कुल ६४ पृष्ठको छ ।
०००
क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण
(कृतित्व : स्वयम्भू शाक्य)
युगकवि सिद्धिचरण श्रेष्ठको लेखन तथा जीवनका विभिन्न आयाममाथि लेखिएका आलेखहरूको सँगालो हो, ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ । स्वयम्भू शाक्यले लेखेको यो पुस्तक केही समयअघि बजारमा ल्याइएको छ ।
मनका कुरामा शाक्यले लेखेका छन्, “नेपालमा प्रजातन्त्र ल्याउनका निम्ति क्रान्तिका अग्रदूत तथा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको पनि ठूलो योगदान छ । देशमा जिब्रोछाप शासन चलिरहेको बेला तानाशाहीविरुद्ध क्रान्तिको बिगुल फुक्दै हडतालको आह्वान गर्ने युग प्रवर्तक युगकवि सिद्धिचरणका काव्यहरू अनन्तकालसम्म सदैव अमर र अजर रहनेछन् ।”
‘युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरू अध्ययन गरिएको सुन्दरतम् कृति’मा डा. फणीन्द्रराज निरौलाले लेखेका छन्, “लेखक शाक्यले युगकविका कृतिहरूको अध्ययन गर्ने क्रममा यसमा विभिन्न कालखण्डका प्रतिनिधि रचनाको अनुशीलन गरेका छन् ।...।”
यो पुस्तकमा दुई खण्डमा गरेर ६९ लेख प्रस्तुत छ ।
सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित ५५२ पृष्ठको यो पुस्तकको मूल्य १०००/– रुपैयाँ राखिएको छ ।
०००
सुस्वास्थ्य
(निबन्धसंग्रह : गान्धीराज काफ्ले)
पत्रकार तथा लेखक गान्धीराज काफ्लेले विभिन्न विधामा कलम चलाउँदै आएका छन् । साहित्यमा समेत सक्रिय गान्धीराज काफ्लेको पछिल्लो निबन्धकृति हो, ‘सुस्वास्थ्य’ । उनले यसअघि कविता र निबन्ध गरेर पाँच पुस्तक ल्याइसकेका छन् ।
पुस्तकमा मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)ले लेखेका छन्, “स्वास्थ्यलाई केन्द्रमा राखेर यसरी गरिएको व्यक्ति विश्लेषण सायद नेपाली भाषामा पहिलो हो । कसैको पदचिह्नलाई नपछ्याई स्वयम्को सोच र सिँचनद्वारा यति राम्रो ग्रन्थपुष्प दिनुले लेखकको लेखन कलालाई उचाइ दिएको छ ।”
प्रा. डा. अर्जुनदेव भट्टले लेखेका छन्, “गान्धीराज काफ्लेको यो पुस्तकले थुप्रै पाठकहरूको स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गराएर खुसी र सुखी जीवन बाँच्न धेरैलाई सहयोग पु¥याउनेछ भन्नेमा मेरो विश्वास छ ।”
पुस्तकको ब्लर्बमा प्रा. गोविन्दराज भट्टराईले लेखेका छन्, “...यो प्रत्येक पेसाका नेपालीले एकपल्ट अध्ययन गर्नैपर्ने प्रथम उपहार हामीसामु आयो । अझ आजका भाइबहिनीलाई यो कृति पढ्न प्रेरित गर्नु आवश्यक ठान्दछु, किनभने यो कृति महान् व्यक्तित्वको जीवनी झल्कासँगै उहाँहरूका स्वास्थ्य रक्षाका उपायको प्रामाणिक ज्ञानले सुशोभित छ ।...।”
यसभित्र २३ निबन्ध संगृहीत छ ।
ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित २२६ पृष्ठको यो पुस्तकको मूल्य ४४५/– रुपैयाँ राखिएको छ ।
०००
मानिला मान्छेका धामा
(गैरआख्यान : प्रा. डा. मुकेशकुमार चालिसे)
पशुपक्षी विषयविज्ञ प्रा. डा. मुकेशकुमार चालिसे पछिल्लो समय बुढ्यौली साहित्यमा सक्रिय छन् । उनको अर्को पुस्तक हो, ‘मानिला मान्छेका धामा’ । यसको उपशीर्षक राखिएको छ, ‘पाका नागरिकका लागि स्वस्थ्य प्रयास’ ।
पुस्तकको प्राक्कथनमा साहित्यकार नरनाथ लुइँटेलले लेखेका छन्, “डा. चालिसेको यस कृतिमा समावेश भएका आलेखहरूले पाका मान्छे विषयमा नीति निर्माण गर्ने निकायहरू, अस्पताल, विश्वविद्यालय, सामाजिक सरोकारका अन्यान्य निकायहरूको उल्लेख्य ढंगले ध्यानकर्षण गराएका छन् ।...।”
पुस्तकमा कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले लेखेका छन्, “...आउँदा दिनमा उहाँको यो विद्वता र सूक्ष्म विश्लेषणको क्षमताबाट हाम्रो सिंगो समाज, विभिन्न उमेर समूह साथै शिक्षा क्षेत्रको पठनपाठनलाई सन्दर्भ सामग्री प्रदान गर्दै सर्वसाधारणलाई सचेत बनाउन रचनात्मक भूमिका निर्वाह हुनेछ भन्ने कुरामा म ढुक्क छु ।...।”
लेखक डा. चालिसेले लेखेका छन्, “निरन्तर लेखनको क्रममा अरू देशका ज्येष्ठ नागरिकसम्बन्धी सामग्री, विज्ञानसम्मत रचना अध्ययन र नेपाली परिस्थितिजन्य सान्दर्भिक छलफलमार्फत नयाँनयाँ आलेखहरू सिर्जना गर्न सम्भव भएको हो ।...।”
इन्डिगो इन्कद्वारा प्रकाशित २२८ पृष्ठको यो पुस्तकको मूल्य ३९९/– रुपैयाँ राखिएको छ ।