site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रिन फाइनान्सअन्तर्गत बाँसजन्य उद्योगमा बैंकहरूले लगानी बढाउन सक्छन् : गभर्नर अधिकारी 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’अन्तर्गत बैंक वित्तीय संस्थाले बाँसजन्य उद्योगमा लगानी बढाउन सक्ने बताएका छन् । 

बिहीबारदेखि खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित ‘प्रथम बाँस सम्मेलन २०८१’को उद्घाटन सत्रमा गभर्नर अधिकारीले राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ग्रिन फाइनान्सिङमा जान प्रेरित गरेको भन्दै यसअन्तर्गत बाँसजन्य उद्योग उपयुक्त विकल्प हुन सक्ने बताए ।

तर, बैंकहरूले व्यवसायको आकार तथा तिर्न सक्ने क्षमता हेर्ने भएकाले त्यसअनुसार तयार भएर व्यवसायीले फाइदा लिन सक्ने अधिकारीको भनाइ छ । धेरै जोखिम भएका र वातावरणलाई असर गर्ने क्षेत्रमा बैंकहरूले लगानी गर्दा बैंकहरूलाई नै महँगो पर्ने अधिकारीले बताए । बैंकहरूले बढी जोखिम भएका क्षेत्रमा लगानी गर्दा क्यापिटल चार्ज बढी राख्नुपर्छ ।

राष्ट्र बैंकले बैंकहरूलाई अनिवार्य ग्रिन फाइनान्सिङमा जान भनेको उनले बताए । हामीले भर्खरै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी, २०२४’ पनि जारी गरेका छौँ,” अधिकारीले भने, “ग्रिन फाइनान्सअन्तर्गत बाँस प्लान्टेसन (वृक्षरोपण) तथा बाँसको काम गर्ने क्षेत्रमा बैंक वित्तीय संस्थाको लगानी प्राथमिकतामा पर्न सक्छ ।”

बाँसको प्रयोग कहाँ–कहाँ हुन्छ, यसको गहन अनुसन्धान गर्न अनुसन्धान केन्द्र आवश्यक रहेको उनले बताए ।

कृषिसँग सम्बन्धित उद्योग र उत्पादनमा सरकारले अनुदान दिएको अवस्था छ । तर, यस्ता अनुदान सधैँ नहुने अधिकारीले बताए । एउटा तहमा पुर्‍याउनका लागि यस्ता अनुदान सुविधा दिइएको उल्लेख गर्दै उनले यस्तो सुविधा सधैँ खोज्यो भने व्यावसायिक रूपमा टिकाउ नहुने बताए । 

अधिकारीले भने, ‘‘बाँसको सन्दर्भमा यो कमर्सियल्ली भाइबल हुने प्रडक्टको रूपमा म देखिरहेको छु । एउटा कम्प्लिट इकोसिस्टम बाँसका आइटमभित्र डेभलप गर्न सक्नुपर्छ ।”

बाँसका उत्पादनहरूलाई स्टार्टअपको रूपमा लान पनि सकिने अधिकारीले बताए । बाँसबाट निर्माण भएका सामग्री बिक्रीबाट आयआर्जन गर्न सक्ने तथा यही काम गर्न बैंकबाट लिएको ऋण तिर्न सक्छु भनेर व्यवसायीमा योजना र आत्मबल हुनुपर्ने उनले बताए ।  

अहिले खरिद नै गर्न नसकिने महँगा–महँगा हाउजिङहरू आइरहेको भन्दै बाँसबाट के–कस्ता संरचना बनाउन सकिन्छ, इन्जिनियरहरूले कन्सेप्ट ल्याएर सस्तोमा बेच्न सक्ने सम्भावना रहेको पनि उनले बताए । 

अहिले घर महँगा महँगा भएर बिक्री नभएको उनले बताए । पैसा थोरै भएकाहरूलाई बाँसद्वारा बनाइएका सुहाउँदा घर डिजाइन गरेर बिक्री गर्न सकिने उनले बताए । बाँसबाट बन्ने घरहरू हलुका र भूकम्प प्रतिरोधात्मक हुने भएकाले यो ‘बायोफ्रेन्ड्ली’ पनि हुने अधिकारीको भनाइ छ ।

राष्ट्र बैंकले कृषिजन्य उद्योगमा बैंक तथा वित्तीय संस्थालाई आधारदरमा दुई प्रतिशत विन्दुभन्दा माथि ब्याज लिन नपाइने व्यवस्था गरेको छ । यो नीतिले पनि बाँसजन्य सामग्रीको उत्पादनमा केन्द्रित व्यवसाय गर्नेलाई सहज हुने अधिकारी बताउँछन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सहयोगमा यो सम्मेलन आयोजना गरेको हो । १५ गतेदेखि सुरु भएको यो सम्मेलन १७ गतेसम्म चल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro