
बागलुङ । वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुमखण्ड अवरुद्ध भएको हो ।
निसीखोला गाउँपालिका–६, पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । शुक्रबार (फागुन १६) बिहानदेखि वर्षा र हिमपात भइरहेको उनले बताए ।
“बिहानैदेखि वर्षा भएको थियो । अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनुपर्छ । बिहान काठमाडौंदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्,” अध्यक्ष घर्तीमगरले भने ।
नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखिको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिए । रासस