site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले मोरङ अध्यक्षमा‌ आकांक्षीको लर्को, संस्थापन र‌ इतर समूह आमनेसामने
अधिवेशन तयारीबारे जानकारी दिँदै एमाले मोरङ अध्यक्ष बाबुराम कार्की ।

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मोरङ जिल्ला कमिटीको अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वमा पुग्न होडबाजी सुरु भएको छ ‌ । कोसी प्रदेशका १४ जिल्लामध्ये मोरङमा मात्र अधिवेशन हुन बाँकी छ ।

१०औँ जिल्ला अधिवेशन केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन् । शनिबारबाट विराटनगरमा सुरु हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष पदमा मुख्यतः अजम्बर राई, सागर थाप, महेश भट्टराई, राजकुमार ओझा, बाबुराम कार्की र इरन राई चुनावी दौडमा छन् । थापा एमाले विराटनगर महानगर कमिटीको पूर्वअध्यक्ष हुन् । कार्की वर्तमान अध्यक्ष हुन् भने ओझा पार्टीको विभिन्न तप्कामा बसेर काम गरिसकेका कोसी प्रदेशसभाका पूर्व सांसद हुन् । उनी प्रदेश समितिको सचिवालय सदस्य पनि हुन् । राई उत्तरी मोरङमा सक्रिय नेता हुन् । उनले यसअघि बेलबारीस्थित बेतना सिमसार क्षेत्रको अध्यक्षको रूपमा कुशल नेतृत्व गरेका थिए ।

एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीका अनुसार, अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनमा ९१४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १५९ वडाबाट ६९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनीत ४६ छन् ।

अधिवेशन नजिकिँदै जाँदा नेतृत्वमा पुग्ने आकांक्षीहरूले पहलकदमी बढाएका छन् । कार्कीले भने, "पूर्ण कार्यकाल नेतृत्वमा पुगी पार्टी संगठन विस्तार गर्ने उद्देश्यले म आकांक्षी छु ।" जिल्ला अध्यक्ष कार्कीले जिल्ला नेतृत्व सर्वसम्मत रूपमा छनोट गर्ने अधिकतम प्रयास हुने बताएका छन् ।

मोरङमा यसपटक संस्थापन र इतर समूह नेतृत्व हत्याउने दाउमा छन् । संस्थापन तर्फको नेतृत्व एमाले उपाध्यक्ष गुरुप्रसाद बराल, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका अध्यक्ष ऋषिकेश पोखरेल र पर्शुराम बस्नेतले गर्दै आएका छन् ।

इतर समूह (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी) समूहको नेतृत्व भने एमाले मोरङका पूर्व‌अध्यक्ष विनोद ढकालले गर्दै आएका छन् ।‌ ढकाल पहिले अध्यक्ष केपी ओलीनिकट मानिन्थे । तर, एमाले कोसीको अधिवेशनपछि फेरिएका छन् । उनी अध्यक्षमा ओली निकट खेमाका घनश्याम खतिवडासँग पराजित बनेका थिए । अहिले भण्डारी खेमामा छन् । दुवै खेमाले चुनाव नै हुँदा समेत‌ आफ्नो बहुमत आउने दाबी गर्दै आएका छन् । तर, अन्य धेरै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोले मोरङमा पनि त्यही प्रयास हुने बताइएको छ । विसं २०५० यता मोरङ एमालेमा ओली पक्षको नेतृत्व रहँदै आएको छ ।

ढकाल समूहबाट अध्यक्षमा दाबी गर्नेहरूमा सागर थापा, अजम्बर राई र महेश भट्टराई छन्  । हालसम्म सहसचिव पदमा आकांक्षा राखेका इरान राई भने दुवै समूहको साझा उमेदवार बन्नसके अध्यक्ष बन्न सकिने भन्दै त्यही यत्नमा लागिरहेका छन् ।

अध्यक्षका आकांक्षी सागर थापा आफू विद्यार्थी नेतृत्व सम्हाल्दै महानगरको अध्यक्ष समेत बनिसकेकोले अब जिल्लाको नेतृत्वमा जाने तयारीमा रहेको सुनाए । "समय सुहाउँदो युवा नेतृत्व गर्ने प्रतिनिधिको रूपमा म अघि बढेको हुँ," थापाले भने ।

विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनमा पार्टीको आधिकारिक उमेदवारविरुद्ध विद्रोही खेमा खडा गरेको आरोपमा उनीसहित वडास्तरीय नेताहरूलाई पार्टीले कारबाही गरेको थियो । पछि त्यसलाई फुकुवा गरिएको थियो । उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदका उमेदवार पनि थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro